२५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ को निर्माण ठप्प
चाणक्य पोष्ट
प्रकाशित : 1:44 pm, बुधबार, असोज २८, २०७७

लमजुङ। एकैपटक २७ कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको काम ठप्प भएको छ ।

 

लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवर्द्धित आयोजनामा मंगलबार साँझ कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो।

 

संक्रमणको जोखिम भएकाले काम बन्द गरिएको आयोजना प्रमुख राजेन्द्र वस्तीले बताए। अधिकांश काम पूरा भएको आयोजनाको विद्युतगृहको काममात्रै बाँकी छ। निर्माण प्रगति ९८ प्रतिशत पुगेको आयोजनाले आगामी मंसिरदेखि उत्पादन थाल्ने लक्ष्य राखेको थियो। २०७१ देखि निर्माण सुरू भएको आयोजना २०७४ मा पूरा हुनुपर्ने थियो।

 

भूकम्प, नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । पछिल्लो सम्झौतानुसार आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने समय गत चैतसम्म थियो।

 

निर्माण अवधि लम्बिँदा लागत ६७ करोड ६० लाख बढी लाग्ने अनुमान आयोजनाको छ । शुरुमा ३ अर्ब ९६ करोड लगानीमा सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल ४ अर्ब ६३ करोड ६० लाख लाग्ने अनुमान आयोजनाका अधिकारीहरूले गरेका छन्।

 

आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख लाग्ने अनुमान छ। आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ। आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङ र त्यत्तिकै लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युतगृहमा झारिने छ ।

 

आयोजनामा १२.५ का दुई वटा टर्बाइनबाट २५ मेगावाटको बिजुली उत्पादन हुनेछ। आयोजनाको बिजुली हिउँदमा ८ रूपैयाँ ४० पैसा र वर्षायाममा ४ रूपैयाँ ८ पैसा प्रतियुनिट हुने गरी प्रवर्द्धक कम्पनी लिबर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरीद विक्री सम्झौता (पीपीए) भएको छ ।रासस

Advertisement Section