तामाकोशी-काठमाडौं प्रसारण लाइन निर्माण अघि बढ्दै, जग्गा प्राप्ति प्रक्रिया शुरू
चाणक्य पोष्ट
प्रकाशित : 1:55 pm, बुधबार, असोज २८, २०७७

काठमाडौं । तामाकोशी करिडोर नेपालको जलविद्युतका लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ ।

 

कुल ४५६ मेगावाट क्षमताको यस आयोजनाबाट उत्पादित विद्युत निकट भविस्यमा नै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदैछ । सोही करिडोरमा १०० मेगावाट क्षमताको तामाकोशी पाँचौंको निर्माण शुरु हुनै लागेको छ । यस्तै, झण्डै ८८० मेगावाट क्षमताको तामाकोशी तेस्रो लगायत अन्य आयोजनासमेत निकट भविष्यमा निर्माणमा जाने तयारी छन् ।

 

निजी क्षेत्रले निर्माण सम्पन्न गरेका र निर्माण हुन लागेका आयोजनाको संख्या झण्डै एक दर्जन हाराहारीमा रहेको छ । माथिल्लो तामाकोशीको बाँधस्थल लामाबगर भन्दा माथिल्लो तटीय क्षेत्रमा समेत थप २ आयोजना अध्ययनको क्रममा छन् ।

 

त्यस्तै, दोलखा र रामेछापमा पनि अन्य आयोजना निर्माणाधीन तथा निर्माणमा जाने तयारी छन् । ती सबै आयोजनाबाट उतपादित हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणाली जोडेर बढी माग हुने क्षेत्रमा पुर्याउनका लागि सबैभन्दा महत्वपूर्ण हुन जान्छ, प्रसारण लाइन ।

 

माथिल्लो तामाकोशीबाट उत्पादन हुने विद्युत् रामेछापको न्यू खिम्ती सवस्टेशनबाट सिन्धुली, महोत्तरी हुँदै धनुषाको ढल्केबरमा पुर्याएर मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । प्रसारण लाइन तथा अन्य संरचनाको अभावमा विद्युत घुमाउनु परेको छ ।

 

यही अवस्थालाई मध्यनजर गरेर सरकारले ४०० केभी क्षमताको तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । नेपाल सरकार, नेपाल विद्युत् प्राधिरकण तथा एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न थालिएको हो ।

 

राष्ट्रिय प्राथमिकता प्राप्त तामाकोशी–काठमाडौँ २२०–४०० केभी क्षमताको प्रसारण लाइन आयोजनाले माथिल्लो तामाकोशी जलविद्युत आयोजनालगायत अन्य सार्वजनिक निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत प्रवाह गर्नेछ ।

 

यस्तै, रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्राणलीमा जोडिने भएको छ । न्यू खिम्तीदेखि काठमाडौँसम्म कुल ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।

 

सोही प्रसारण लाइन निर्माणको क्रममा दोलखा जिल्लाको मेलुङ गाँउपालिका, भीमेश्वर नगरपालिका लगायत विभिन्न स्थानमा पर्ने ४०० केभी आयोजनाको टावर निर्माणका लागि जग्गा प्राप्ति गर्ने प्रक्रिया शुरु गरिएको हो ।

 

जिल्ला प्रशासन कार्यालय दोलखाले एक सार्वजनिक सूचना प्रकाशित गरी आयोजनाले प्रभावित पार्ने क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण गर्न लागेको हो । सरकारले गत साउन १९ गते आयोजना प्रभावित क्षेत्रको जग्गा प्राप्ति गर्ने निर्णय गरेको छ ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले जग्गा प्राप्ति गर्ने निर्णय गरेको थियो । ‘जग्गा प्राप्ति ऐन, २०३४’ को दफा ९ बमोजिम जग्गा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाइएको प्रकाशित सूचना उल्लेख छ । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र जग्गाको भोगचलनसम्बन्धी काजगात, निस्सा तथा प्रमाणसहित रीतपूर्वक नेपाल विद्युत् प्राधिकरण, तामाकोशी–काठमाडौँ प्रसारण लाइन आयोजना भक्तपुर र साइट कार्यालय चरिकोटमा आवेदन दिन आग्रह गरिएको छ ।

 

आयोजनाले कुल ३६६ जनाको जग्गा लिन लागेको छ । आयोजनाले रीतपूर्वक निवेदन दिई सरकारको काममा सहयोग गर्नसमेत आग्रह गरेको छ । जग्गा प्राप्ति ऐनअनुसार आयोजना प्रभावितलाई कानुन अनुसार मुआब्जा उपलब्ध गराइनेछ । रासस

Advertisement Section