दशैंको मुखमा सरकारलाई किन आयो विदेशी मदिराको याद

काठमाडौं । गत चैत महिनाको १६ गते सरकारले विदेशी मदिराको आयातमा रोक लगाउँदा युवराज खतिवडा अर्थमन्त्री थिए।प्रधानमन्त्रीका प्रियपात्र मानिएका उनको बहिर्गमनपछि गत असोज २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले त्यो रोक हटाउने निर्णय गर्‍यो।

 

नेपालमा दशैँ र तिहारजस्ता ठूला चाडपर्वमा मदिरा र मासुको खपत निकै बढ्ने गर्छ। ती चाड सँघारमै आइपुगेका बेला सरकारले विदेशी मदिरामा यसअघि लगाएको अस्थायी बन्देज हटाएको छ।

 

व्यवसायीहरूका अनुसार विदेशबाट ल्याइने मदिराको करिब एकतिहाइ खपत यही बेला हुने गर्छ।

 

अर्थले कोल्टे फेर्दा

 

अधिकारीहरूका अनुसार कोरोना भाइरसको महामारी सुरु भएपछि विदेशी मुद्राको सञ्चितिमा कुनै अप्ठेरो नहोस् भनेर विदेशी मदिरा किन्दा बाहिरिने रकम रोक्न त्यो उपाय अपनाएको थियो।

 

त्यसैले नेपालस्थित विदेशी कूटनीतिक नियोगका निम्ति मात्रै खुला गर्ने सरकारको मनस्थिति थियो।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार अर्थले राजस्व सङ्कलनमा टेवा पुग्ने अपेक्षा देखाएपछि पूरा आयात खुला गरिएको हो।

 

उनले भने, ‘अर्थ मन्त्रालयले राजस्वमा सङ्कुचन भयो, विदेशी मुद्राको पनि त्यति समस्या छैन भनेपछि खुला गरिएको हो।’अर्थात् देशको ढुकुटीमा परेको असरसँगै अर्थ मन्त्रालयले कोल्टे फेरेको उनको भनाइबाट बुझिन्छ।

 

आयातमा रोक जारी रहे चोरबाटोबाट भित्रिने क्रम बढ्ने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्।

 

कति आउँछ विदेशी रक्सी

 

उद्योग मन्त्रालयले विदेशी मदिराको आयात त्यति ठूलो मान्दैन। उसको बुझाइमा विदेशी मुद्रा बाहिरिने मात्राभन्दा त्यसले राष्ट्रको ढुकुटीमा दिने योगदान बढी छ।

 

भन्सार विभागमा महानिर्देशक सुमन दाहालका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ५ लाख ४१ हजार ९९६ लिटर विदेशी मदिरा आयात भएको थियो। त्यसको आयात मूल्य ९० करोड रुपैयाँभन्दा केही बढी छ।

 

तर आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब १४ करोड मूल्यको ६ लाख ४० हजार लिटर आयात भयो। जुन आयातित परिमाणमा झन्डै १८ र मूल्यमा २७ प्रतिशत वृद्धि हो।

 

चैतमा रोक लगाउँदा त्यसले सिङ्गो वर्षको तथ्याङ्कमा ठूलो गिरावट देखायो। आर्थिक वर्ष २०७६र/७७ मा करिब ८८ करोड रुपैयाँ मूल्यको ४ लाख ९३ हजार लिटर विदेशी मदिरा नेपाल भित्रियो।

 

‘ढुकुटीमा सङ्कट पर्दा मदिराको सम्झना’

 

उक्त आर्थिक वर्षको करिब तीन महिना बन्देज लाग्दा परिमाण र मूल्य दुवै हिसाबले अघिल्लो वर्षभन्दा करिब २३ प्रतिशत कम आयात भयो। अनि त्यसले कोरोनाभाइरसको महामारीले प्रभावित तुल्याएको ढुकुटीमा थोरै भए पनि सहारा दिन सक्ने आशा विदेशी मदिरा पनि बन्यो।

 

सरकारका एकजना उच्च अधिकारीले ठट्यौलो पारामा भने, ‘देशको ढुकुटीमा गडबडीको छाँट देखिएपछि विदेशी मदिराको याद आयो भन्दा पनि हुन्छ।’

 

ती अधिकारीका अनुसार बजेटको लक्ष्य भेट्टाउन यो आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब सवा २ खर्ब रुपैयाँ राजस्व सङ्कलन हुनुपर्ने थियो। तर त्यो अङ्क डेढ खर्बभन्दा कम छ।

 

कोरोना भाइरसको सङ्क्रमण पछिल्ला साताहरूमा देशभरि व्यापक रूपमा बढ्न थालेकाले राजस्वमा आगामी दिनमा थप मार पर्ने सम्भावना देखिएका सन्दर्भमा ती अधिकारी भन्छन्, ‘त्यसैले राजस्व सङ्कलनका ससाना स्रोत जेजति भेटिन्छन् त्यसको उपयोग नगर्ने हो भने आउँदा दिन निकै चुनौतीले भरिएर आउने सम्भावना छ।’

 

तर यसअघि मदिरा उत्पादक सङ्घले स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न विदेशी आयातमा लगाइएको रोक थप लम्ब्याइनुपर्ने माग गरेको थियो।त्यसबारे प्रतिक्रिया लिन प्रयास गर्दा सङ्घका अध्यक्ष रवि केसी राजधानीबाहिर भएकाले उपलब्ध भएनन्।बीबीसी

युनाइटेड इन्स्योरेन्सले लाभांश नदिने Read Previous

युनाइटेड इन्स्योरेन्सले लाभांश नदिने

७ हजार मेगावाट बिजुलीका लागि लगानी जुटाउँदै एचआइडीसीएल Read Next

७ हजार मेगावाट बिजुलीका लागि लगानी जुटाउँदै एचआइडीसीएल