काठमाडौं । लकडाउनका कारण लामो समयसम्म बन्द रहेको सेयर बजार खुले यता क्रमशः उकालो लागिरहेको छ । केही हप्तायताको यो बढाइलाई लिएर लगानीकर्ता अब नेपाली सेयर बजारमा ‘बुल रन’ आउन लागेको भनेर उत्साहित हुन थालेका छन् ।
तर, यो समयमा सेयर बजारका सबै समूहको उप–सूचकहरू भन्दा पनि जलविद्युत कम्पनीका सेयरहरूमा उछाल आएको छ । निर्जीवन बीमा, वित्त कम्पनी र विकास बैंकहरू पनि नबढेका होइनन् । तर जलविद्युत् कम्पनीहरूमा भने उछाल नै आएको छ ।
लामो समयसम्म हलचल नगरी बसेको र अधिकाशं कम्पनीको सेयर प्रति कित्ता १०० रुपैयाँ भन्दा पनि कम रहेकाले यस क्षेत्रको उप–सूचकमा एकाएक बहार आएपछि विभिन्न ढंगले यसबारे चर्चा शुरू हुन थालको छ ।
कोरोना महामारी यता बैंकहरूमा कर्जाको माग घटेसँगै ब्याजदर घट्न थालेको छ । गत साउन महिनायता १४ प्रतिशतको ब्याजदर ८ प्रतिशतमा झरिसकेको छ । यसले गर्दा जलविद्युत् कम्पनीहरूको लागि बैंक कर्जाको सावाँ र ब्याज तिरेर केही प्रतिशत लाभांश वितरण गर्न सक्ने अवस्था बनेको छ ।
सेयर बजारका कथित ‘खेलाडीहरू’ले यो उप-सूचकहरू विना कारण एकाएक बढाएका र अन्ततः साना र नयाँ लगानीकर्ताहरू फस्ने मेलो रहेको भनेर विचारहरू आइरहेका छन् ।
यसका अलावा अहिलेको अवस्थामा किन्न उपयुक्त रहेको, महामारीले सबैभन्दा कम असर पारेको क्षेत्र मध्ये जलविद्युत् क्षेत्र रहेको र लामो समयसम्म यो उप-सूचक ‘अन्डरभ्यालुड’ रहेको हुनाले अहिले यो क्षेत्रको ‘चार्म’ बढेको तर्क पनि नआएका होइनन् ।
तसर्थ, यो क्षेत्र पहिले किन सुस्तायो र अहिले किन फेरि जागा भयो भन्ने बारे यहाँ तथ्यहरू उल्लेख गरिएको छ ।
जलविद्युत क्षेत्र सुस्ताउनुका कारणहरू
महामारी अघिसम्म तरलताको अभावको कारण नेपालमा ब्याजदर उच्च थियो । ८ प्रतिशतमा लिएको ऋणको ब्याजदर बढेर १४ प्रतिशतसम्म पुगेको थियो । यस्तो अवस्थामा ३० प्रतिशत आफ्नो पूँजी र ७० प्रतिशत ऋण लगानी गरेर स्थापनमा भएका जलविद्युत् कम्पनीको नाफामा धक्का लाग्नु स्वभावीक नै थियो ।
यसले गर्दा ऋणको ब्याज र साँवा तिरेर लाभांश वितरण गर्न सक्ने क्षमता अधिकांश जलविद्युत् कम्पनीहरूको थिएन । चिलिमे, बुटवल पावर जस्ता केही कम्पनी छाडेर प्रायः सबै कम्पनीहरूको अवस्था उस्तै थियो ।
जलविद्युत् कम्पनीहरूमा नियामकको अभावका कारण सुशासनको समस्या पनि नदेखिएको होइन । परियोजना निर्माणको समय लम्बिदा र सरकारले पनि भनेको समयमा प्रशारण लाइन नबनाइदिँदा यो क्षेत्र झनै पिल्सदै गएको हो । प्रमोटरहरूले पनि बदमाशी नगरेका होइनन् ।
अहिले ‘बुम’ हुनुको कारण
माथि उल्लेख गरिएका समस्याहरू अहिले सबै हल भएका छैनन् । केही समस्या यथावत नै छन् । तर पनि केही समस्याहरूमा भने सुधार आएका छन् ।
सबैभन्दा प्रमुख कुरा भनेको बैंकको ब्याजदर अहिले उल्लेख्य मात्रामा घटेको छ । कोरोना महामारी यता बैंकहरूमा कर्जाको माग घटेसँगै ब्याजदर घट्न थालेको छ । गत साउन महिनायता १४ प्रतिशतको ब्याजदर ८ प्रतिशतमा झरिसकेको छ ।
यसले गर्दा जलविद्युत् कम्पनीहरूको लागि बैंक कर्जाको सावाँ र ब्याज तिरेर केही प्रतिशत लाभांश वितरण गर्न सक्ने अवस्था बनेको छ । अबको त्रैमासमा जलविद्युत् कम्पनीहरूले राम्रो वासलात पस्कन सक्ने आंकलन सचेत लगानीकर्ताहरूले गरेका छन् ।
साथै, असोज मसान्तसम्म राम्रो पानी परेका कारण पनि धेरै जलविद्युत् कम्पनीहरू आफ्नो पूर्ण क्षमतामा सञ्चालन भइरहेको जानकारहरू बताउँछन् ।
मूल्य अति नै कम भएका कारण पनि लगानीकर्ताहरूले कम जोखिम र बढी अवसर देखेका छन् ।