काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
कोरोना भाइरसको माहामारीको बीचमा पनि महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु गोप्य ढङ्गले खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।
उपत्यकाका नयाँ बसपार्क, ठमेल, लाछिटोल, बोडे, सुर्यविनायक, बसुन्धारा, वनस्थली, नयाँ बानेश्वर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँबसपार्क, ज्ञानेश्वर, ईमाडोल, जडिबुटी, बनकाली, जोरपाटी र पुतलिसडकलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनिलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जिम्मा लगाएका हुन् ।
‘एकान्त ठाउँको पार्किङ्ग स्थल, घरको गेट बाहिर, अस्पताल लगायतका स्थानमा अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ्ग गरेको भनि लापारवाही वा असुरक्षित पार्किङ्ग गरेर मोटरसाईकलहरू बढी चोरी भएको देखिन्छ,’ महाशाखाका प्रमुख ढकालले भने, ‘चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा ीयकत ख्भजष्अभि ब्उउष्अिबतष्यल मा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको छ ।’
उनले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न र एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिए ।
महाशाखाले यस गत आवमा मात्रै चोरी भएका ३२५ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाएको थियो भने लकडाउनदेखि हालसम्म अवधिमा पनि ६४ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइसकेको छ ।