सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्दो बजारमा पनि ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार करिब १५ अंकले बढेको बजारमा आज करिब १२ अंकले घटेको हो ।

 

यस साताका अघिल्ला दिनमा हाइड्रोपावर र विकास बैंकमा झुम्मिएका लगानीकर्ता आज फाइनान्स कम्पनीतर्फ डाइभर्ट भएका छन् । एउटा क्षेत्रका कम्पनीबाट प्रफिट बुक गरेपछि लगानीकर्ता अर्को क्षेत्रमा शिफ्ट भएको जानकारहरु बताउँछन् ।

 

सेयर बजार मापक सूचक नेप्से आज ११.३४ विन्दुले घटेर १५८९.६४ विन्दुमा आइपुगेको छ । यसदिन १९३ कम्पनीको २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९६६ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ९ वटा समूहको परिसूचक ओरालो लागेका छन् । आज फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ३१.७२ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक ७४.३१ अंकले घटेको छ ।

 

आज लगानीकर्ताको रोजाइमा अरुण काबेली हाइड्रोपावर कम्पनी परेको छ । यसको सबैभन्दा धेरै १२ करोड ४१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेशनल र सानिमा माइ हाइड्रोपावरको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

घट्दो बजारमा पनि आज चार कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज कर्णाली डेभलपमेन्ट बैंक, मल्टि प्रपोज, समृद्धि र गोर्खाज फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

आज सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ७.०८ प्रतिशतले गुमाएका छन् ।

सिम टीभी फाइदाको आइडिया अफर Read Previous

सिम टीभी फाइदाको आइडिया अफर

प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओ आउँदै Read Next

प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओ आउँदै