काठमाडौं । राष्ट्रिय गौरवका सडक आयोजनाका कामले दशैंमा पनि निरन्तरता पाउने भएका छन् । विगतका वर्षहरूमा दशैंको बेला दुई साताभन्दा बढी रोकिने गरेको भए पनि यस वर्ष भने १ हप्तामात्र रोकिने सडक विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी अर्जुन सुवालका अनुसार यो दशैँमा कामदारहरूले ५ देखि ७ दिन मात्र छुट्टी पाउने छन् । उनले दशैँ ताका समेत राष्ट्रिय गौरवको काम हुने बताए ।
केही सडक आयोजना निर्माण शुरू भएको १ दशकभन्दा बढी बितिसके पनि आयोजनाले गति लिन सकेका छैनन् । ठेकेदार कम्पनीको बेइमानी, सरकारले फितलो अनुगमन, पहुँचका भरमा ठेकेदारलाई उन्मुक्ति दिई संरक्षण गर्ने प्रवृत्ति, कामदार अभाव, बजेट अभाव लगायत कारणले कुनै पनि आयोजनाले गति लिन नसकेका हुन् ।
ठेकेदार अनुसार काम हुने नहुने भएकाले उनले दशैँमा छोटो बिदा दिएर भए पनि कामलाई गति दिइने बताए । ‘दशैँमा काम निरन्तर हुने छ, विगतमा जस्तो लामो छुट्टि नभए पनि ठेकेदारहरूले तोके अनुसार काम हुने छन्,’ सुवालले चाणक्य पोष्टसँग भने ।
केही सडक आयोजना निर्माण शुरू भएको १ दशकभन्दा बढी बितिसके पनि आयोजनाले गति लिन सकेका छैनन् । ठेकेदार कम्पनीको बेइमानी, सरकारले फितलो अनुगमन, पहुँचका भरमा ठेकेदारलाई उन्मुक्ति दिई संरक्षण गर्ने प्रवृत्ति, कामदार अभाव, बजेट अभाव लगायत कारणले कुनै पनि आयोजनाले गति लिन नसकेका हुन् ।
कुन सडक आयोजनाको कस्तो छ अवस्था ?
मध्यपहाडी लोकमार्ग
पुष्पलाल (मध्यपहाडी) लोकमार्ग पछिल्लो समय निरन्तर अपग्रेडको काम भइरहेको छ । पूर्वमा पाँचथरको चियो भञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म डबल लेन स्तरमा कालोपत्र सहितको सडक निर्माण भइरहेको छ ।
पहाडका बस्तीमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्यसहित कुल संशोधित लम्बाइ १ हजार ८७९ किलोमिटर रहेको छ । यस लोकमार्गमा १३० वटा पुल निर्माण गर्ने लक्ष्य छ । यो आयोजना आर्थिक वर्ष २०६४/६५ देखि शुरू भएको र आर्थिक वर्ष २०७४/७५ मा सम्पन्न हुने अनुमान गरिएकोमा संशोधित कार्यतालिका अनुसार आव २०७९/८० सम्ममा सम्पन्न गरिने लक्ष्य रहेको छ ।
आयोजनाको कुल संशोधित लागत १ खर्ब १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षमा यस आयोजनाका लागि १ हजार २११ करोड रुपियाँ विनियोजन गरिएको छ ।
गत आर्थिक वर्षमा कुल ३ अर्ब ३७ करोड रुपैयाँ विनियोजन गरिएकोमा २ अर्ब ६३ करोड रुपैयाँ खर्च भएको थियो । गत वर्षसम्म पुष्पलाल लोकमार्गको काम ४८.९४ प्रतिशत मात्र पूरा भएको थियो । वित्तीय खर्च गत आवसम्ममा ४५.४५ प्रतिशत रहेको सडक विभागले जनाएको छ । हालसम्म सो सडक विस्तार तथा निर्माणका क्रममा ४३ अर्ब १४ करोड रुपैयाँ खर्च भइसकेको छ ।
हालसम्म कुल १ हजार ८७९ किलोमिटर सडक मध्ये कुल ८०० किलोमिटर सडक कालोपत्र भएको छ । सो खण्डमा पर्ने ३६४ किलोमिटर सडक आयोजना आफैले कालोपत्र गरेको हो भने ४६२ किलोमिटर सडक अन्य निकायले कालोपत्र गरेको सडक विभागले जनाएको छ । सो आयोजना अन्तर्गत १२९ पुल मध्ये ७० वटा पुल निर्माण सम्पन्न भएको छ ।
हुलाकी लोकमार्ग
हुलाकी राजमार्गमा असार साउनमा वर्षले गर्दा कालोपत्र हुन पाएको छैन । कालोपत्र बाहेकका अन्य कामहरू भइरहेको सडक विभागका सूचना अधिकारी सुवालले बताए ।

हुलाकी राजमार्गमा कुल १७९२.४२ किलोमिट लामो सडक खण्ड निर्माण तथा स्तरोनन्ति भइरहेको छ । सो मध्ये हालसम्म ५१२ किलोमिटर सडक कालोपत्र भएको छ भने २८८ किलोमिटर सडक ग्राभेलको काम सम्पन्न भएको छ । सडकको बाँकी ५४४ किलोमिटर मध्ये ३८६ किलोमिटर सडकको ठेक्का सम्झौता भइसकेको सडक विभागले जनाएको छ ।
यस आयोजनाले झापाको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनी सम्मको भूभागलाई जोड्ने छ । यस आयोजनाको कुल प्रारम्भिक लागत अनुमान करिब ४ हजार ७२७ करोड रुपैयाँ रहेकोेमा संशोधित लागत ६ हजार ५२० करोड रुपैयाँ छ ।
आर्थिक वर्ष २०६५/६६ मा शुरू भई आर्थिक वर्ष २०७४/७५ मा सम्पन्न हुने प्रारम्भिक अनुमान गरिएकोमा संशोधित कार्यतालिका अनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा सम्पन्न गर्ने लक्ष्य छ । चालू आर्थिक वर्षमा यस आयोजनाका लागि १ हजार ३५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
उत्तर–दक्षिण (कोशी) लोकमार्ग
हालसम्म यस आयोजनाको भौतिक प्रगति २२ प्रतिशत रहेको छ । कुल १६२ किलोमिटर मध्ये १४८ किलोमिटर ट्रयाक खुलेको छ । ६८ किलोमिटर ग्राभेल भएको छ । बाँकी १४ किलोमिटरको ट्रयाक खोल्ने कार्य नेपाल सेनाले गरिरहेको सुवालले बताए ।
यस आयोजनामा हालसम्म १८.७६ प्रतिशत वित्तीय प्रगति भएको छ । यो ३ अर्ब रुपैयाँ हाराहारी रहेको छ । तेह्रथुमको वसन्तपुरदेखि उत्तरी सीमाना किमाथाङ्का सम्मको १६२ किलोमिटर सडक निर्माण एवं स्तरोन्नति गर्ने लक्ष्य रहेको छ ।
आर्थिक वर्ष २०६५/६६ मा शुरू भई २०७०/७१ मा सम्पन्न हुने प्रारम्भिक अनुमान भए पनि पुनः म्याद थप गरी आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न हुने अपेक्षा गरिएको छ । यो आयोजनाको संशोधित लागत अनुमान १६२ करोड छ । चालू आर्थिक वर्षमा यस आयोजनाका लागि १०४ करोड रुपियाँ विनियोजन गरिएको छ ।
तराई, मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)
यस आयोजनाको काम काम दोस्रो चरणमा प्रवेश गरेको बताएको छ । सेनाले फास्ट ट्रयाकको काम तीव्र गतिमा अगाडि बढाउनका लागि परामर्शदाता छनोट गरी सकेको छ भने सुरुङ तथा पल निर्माणका लागि निर्माण कम्पनीको छनोटको चरणमा रहेको छ ।
कुल साढे ७२ किलोमिटरको लामो यस सडक आयोजना आर्थिक वर्ष २०८०÷८१ मा सक्ने लक्ष्य राखिए पनि हालसम्म करिब १२ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
द्रुतमार्ग परियोजनामा तीनवटा सुरुङ र सानाठूला गरी ८७ वटा पुल निर्माण हुनेछन्। तीमध्ये १७ वटा पुल विशेष प्रकृतिका रहने छन्। कुल साढे ७२ किलोमिटरको हुने द्रुतमार्गमा सडक ५५.५ किमि, सुरुङमार्ग ६.४१ किमि र पुल १०.५९ किमि पर्नेछ ।

नेपाली सेनाका अनुसार अहिले आयोजनाको काम विभिन्न ११ खण्डमा विभाजन गरी तीव्र गतिमा अघि बढाइएको छ । अधिकांश स्थानमा ट्रयाक खन्ने काम सम्पन्न भइसकेको छ भने केही स्थानमा ग्राभेल गर्ने काम भइरहेको छ ।
त्यस्तै, सुरुङ तथा पुल निर्माणका लागि निर्माण कम्पनी छनोटको चरणमा छ । सुरुङ र पुल निर्माणका लागि ४३ अन्तराष्ट्रिय कम्पनीले प्रस्ताव पेश गरिसकेको र छनोटको चरणमा रहेको सेनाले जनाएको छ । मंसिरसम्ममा कम्पनी छनोट गरी ठेक्का लगाइने तयारी भइरहेको जनाइएको छ ।
उत्तर-दक्षिण (कालीगण्डकी) लोकमार्ग
यस आयोजना अन्तर्गत हालसम्म जम्मा १९ प्रतिशत काम सम्पन्न भएको छ । कुल २४५ किलोमिटर मध्ये २४४ किलोमिटर ट्रयाक खुलेको छ । १३२ किलोमिटर सडक सुधार विकास कार्यक्रमबाट निर्माण भएको छ । सो आयोजनाको वित्तीय प्रगति हालसम्म १८ प्रतिशत रहेको छ । यस अनुसार ठेक्का कम्पनीले हालसम्म ३ अर्ब रुपैयाँ बढी खर्च गरिसकेको छ ।
नवलपरासी, पाल्पा, तनहुँ, स्याङ्जा, गुल्मी, बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्ला समेटिएको यो आयोजनाको कुल लम्बाइ २४५ किलोमिटर छ । यो आयोजना आर्थिक वर्ष २०८०/८१ सम्ममा सम्पन्न हुने गरी काम भइरहेको सडक विभागले जनाएको छ । चालू आर्थिक वर्षमा यस आयोजनाका लागि २८५ करोड रुपियाँ विनियोजन गरिएको छ ।
उत्तर-दक्षिण (कर्णाली) लोकमार्ग
यस आयोजना अन्तर्गत हालसम्म २२.५ प्रतिशत भौतिक प्रगति भएको छ । यस आयोजना मार्फत खुलालु–सिमकोट खण्डमा करिब १४५ किलोमिटर र हिल्सा–सिमकोट खण्ड (हुम्ला) मा ८८ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य छ । यो आयोजना २०७९/८० मा सम्पन्न गर्नेगरी म्याद थप गरिएको छ ।
चालू आर्थिक वर्षमा यस आयोजनाका लागि कुल ७० करोड रुपैयाँ विनियोजन गरिएको छ । यस आयोजना अन्तर्गत हालसम्म २२.१० प्रतिशत मात्र आर्थिक प्रगति भएको छ । यो ९० करोड रुपैयाँ बढि हसन आउछ ।