काठमाडौं । कास्कीमा आयोजना स्थल रहेको कुल २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुटेको छ ।
आयोजनामा दुई बैंकले लगानी गर्ने भएका हुन् । बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
प्रवद्र्धक सेती खोला हाइड्रोपावर कम्पनीका अनुसार उक्त आयोजनामा कुमारी बैंक र इन्फ्रास्ट्रक्चर बैंकले ३ अर्ब २५ करोड रुपैयाँ लगानी गर्न लागेका हुन् ।
बैंक र आयोजनाबीचमा भएको सम्झौताअनुसार ऋण लगानीमा अगुवाई गरेको कुमारी बैंकले २ अर्ब रुपैयाँ र इन्फ्रास्ट्रक्चर बैंकले १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् ।
बहुपक्षीय सम्झौतामा कुमारी बैंकका तर्फबाट प्रतिनिधि रामचन्द्र खनाल, इन्फ्रास्ट्रक्चरको तर्फबाट भूपेन्द्र पाण्डे तथा प्रवद्र्धक कम्पनीको तर्फबाट अनुप आचार्यले हस्ताक्षर गरेका हुन् ।
आयोजनाबाट उत्पादित विद्युत् खरिदसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धकबीच हस्ताक्षरसमेत भइसकेको छ । आगामी मंसिरदेखि निर्माण शुरु गर्ने लक्ष्य राखिएको छ ।