काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको लिलामी आएको करिब ६ लाख कित्तासेयर किन्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले असोज १३ गतदेखि लिलामीमा ल्याएको ५ लाख ९० हजार १४ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्काशन गरेको ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर मध्ये विक्री नभएको उक्त सेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।
लिलामी आएको सेयरमध्ये ३ लाख ३७ हजार ५६५ कित्ता संस्थापक समूहको र २ लाख ५२ हजार ४४९ कित्ता सेयर सर्वसाधारण समूहको रहेको छ।
लगानीकर्ताले प्रतिकित्ता न्यूनतम मूल्य १०० नघटाई आफूले किन्न चाहेको सेयर संख्या र मूल्यसहित गोप्य शिलबन्दी मार्फत आवेदन दिनुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको सेयर विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले एनएमबी क्यापिटल, नागपोखरी काठमाडौँ, एनएमबि बैंकका विराटनगर, झापा, विरगंज, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको दाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर आइतबार प्रतिकित्ता ६४० रुपैयाँमा कारोबार भएको थियो ।