काठमाडौं । सेयर बजारले उत्साह देखिएको छ । गत बिहीबार एकैदिन करिब २१ अंकले बढेको बजार आज पनि दोहोरो अंकले बढेको हो ।
सेयर बजार मापक सूचक नेप्से १४.७१ अंकले बढेर १५८५.७५ बिन्दुमा पुगेको छ । यसदिन १९३ कम्पनीको ३ अर्ब ८ करोड ३ लाख ४४ हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ४ लाख ७ हजार १२३ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये हाइड्रोपावर र सामूहिक लगानी कोष समूह बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेका छन् । आज उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै १३५.२६ अंकले बढेको छ भने हाइड्रोपावर समूहको परिसूचक १५.२६ अंकले घटेको छ ।
आज लगानीकर्ताको रोजाइमा शिवम सिमेन्ट परेको छ । यसको सबैभन्दा धेरै २६ करोड १३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल पुनर्बीमा कम्पनी र एनसीसी बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज आधादर्जन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम सिमेन्ट र प्रोग्रसिभ फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
बढ्दो बजारमा पनि आज तीन कम्पनीको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।