कोरोना महामारीले विश्वभरका निम्न आय भएका मानिसहरुको जीवनमा अत्याधिक आर्थिक कठिनाइ ल्याउँदै गर्दा त्यो भन्दा माथिल्लो वर्गको भने बचत बढेको छ । विश्व आर्थिक शक्ति अमेरिकाको उदाहरण लिएर कुरा गर्दा यो समयमा अमेरिकीहरुको बचत बढेको देखिएको छ । यो समयमा सामान्य अमेरिकीहरुले आफ्नो ऋण घटाएका छन् ।
कोरोना भाइरसको समयमा सरकारले दिएको नगद अनुदानको प्रयोग गरेर मानिसहरुले आफ्नो ऋण घटाएका र बचत बढाएका छन् । यो समयमा मानिसहरु बाहिर कम निस्कने हुनाले उनीहरुको बचत बढेको हो । महामारीको यो समयमा अमेरिकी सरकारले आफ्ना नागरिकहरुलाई प्रत्यक्ष नगद सहयोग गरिरहेको छ ।
यो समयमा बच्चाहरुलाई ‘चाइल्ड केयर’, ‘समर क्याम्प’ लगायतमा पठाउन नपर्ने भएकाले पनि मध्यम वर्गको बचत बढेको हो ।‘क्वारेन्टिनले हाम्रा लागि धेरै फाइदाजनक भएको हो । यो समयमा हामाीले धेरै बचत गरेका छौं,’ एक अमेरिकीले भनिन् ।
गत फेब्रुअरीदेखि अप्रिलसम्म अमेरिकीहरुको व्यक्तिगत बचत झण्डै ४ गुणाले बढेर ३३.६ प्रतिशत पुगेको थियो । त्यसपछि लकडाउन खुकुलो भए पनि बचत भने उच्च नै रहेको छ । सरकारले दिएका अनुदानका कारण यसो भएको जानकारहरु बताउँछन् । गत अगस्ट महिनामा अमेरिकाको बचत दर १४.१ प्रतिशत रहेको थियो ।

यसले अमेरिकीहरुको सम्पत्ति बढाएपछि उनीहरुको ऋणमा पनि गिरावट आएको छ । अमेरिकीहरुको ऋण सन् २०१४ पनि पहिलो पटक घटेको छ ।
अमेरिकी सरकारले महामारीको यो समयमा अनुदान दिइरहेको भएपनि व्यवसायहरु पूर्णरुपमा नखुलेका कारण मानिसहरुले खर्च गर्न सकेका छैनन् ।
तर, सरकारी सहयोग बन्द हुन थालेपछि अवस्थामा परिर्वतन आउने अर्थशास्त्रीहरु बताउँछन् ।‘बचत उच्च छ,’ फेडरल रिर्जभका अध्यक्ष जेरोम पावेल भन्छन्, ‘तर, १ करोड १० लाख मानिसहरु कामबाट बाहिर छन् । अहिलेको बचत उनीहरुले बिस्तारै खर्च गर्छन् । त्यसपछि अर्थतन्त्रमा नकारात्मक असर देखिन थाल्छ ।’
बचत सकिँदै जान थालेपनि धनी र गरिब बीचको खालड अझै बढ्दै जानसक्ने अर्थशास्त्रीहरुको अनुमान छ । यो समयमा मध्यम वर्ग मात्र नभएर बेरोजगार हुने जोखिम कम रहेका उच्च वर्गहरुको पनि बचत बढेको छ । तथ्याङ्कका अनुसार धनी मानिसहरुले धेरै बचत गरेका छन् भने गरिबहरुले कम बचत गरेका छन् ।एजेन्सीको सहयोगमा