काठमाडौं । निलो आकाशमा रङ्गीचङ्गी चङ्गा उडेको देख्ना साथ अब दशैँ आयो भन्ने आभाष हुन थालेको छ । पछिल्ला वर्षहरूमा आकाशमा विरलै देखिने चङ्गाहरू यसपाली भने बाक्लै देखिन थालेको छन् ।
विस्तारै लोप हुँदै गएको चङ्गा उडाउने युवाहरूको चाहाना यो वर्ष कोभिड १९ को लकडाउनले फेरी जगाएको छ । मोबाइल, ल्यापटप, ट्याब, भिडियो गेममा व्यवस्त रहने युवा पुस्ताहरू अब फेरि घरका कौशीमा चङ्गा उडाउँदै गरेको देखिन थालेका छन् ।
पछिल्लो समय मोबाइल, ल्यापटपमा भिडियो गेम खेलेर, सामाजिक चलाएर समय बिताउन अभ्यस्त युवा पुस्ता कोरोनाका कारण लामो समय घरमै थुनिनु परेपछि आफूलाई ‘रिफ्रेस’ गर्न चङ्गा उडाउन आकर्षित हुन थालेका हुन् ।
यो पटक भने लक डाउनका समयमा मोबाइलमा मात्र व्यस्त रहन बाध्य युवा तथा बालबालीकाहरू चङ्गा उडाउन भनेर छत तथा चौरमा निस्किन थालेका छन् ।
चार पुस्तादेखि इन्द्रचोकमा चङ्गा विक्री गर्दै आएका विनोद चित्रकार यो वर्ष १० वर्ष यताकै बढी चङ्गा माग भएको बताउँछन् । उनले मानिसहरू लामो समयसम्म घर भित्रै थुनिनु परेकाले अहिले बाहिर निस्किएर चङ्गा उडाउन निकै उत्साहित देखिएको बताए ।
‘यो वर्ष १० वर्ष यताकै धेरै मानिसहरूले चङ्गा खोज्दै आएका छन् । गत वर्षसम्म चङ्गा विक्री नभएर स्टक बस्थ्यो,’ चित्रकारले चाणक्य पोष्टसँग भने ‘यो वर्ष कोरोनाका कारण सामान आएको छैन तर, चङ्गा खोज्दै आउने धेरै आए ।’
विगतमा मानिसहरू धेरै मोबाइल, ट्याब लगायतका सामाजिक सञ्चालमा व्यस्त हुने भएकाले चङ्गाको मोह घट्दै गएको थियो । पछिल्लो समय चङ्गा किन्नेको संख्या बढे पनि आयात असहज हुँदा पर्याप्त चङ्गा बजारमा नभएको उनले बताए ।

उनले विगतका वर्षहरूमा १४० बक्सा बढी चङ्गा विक्री गर्ने गरेका थिए । यो वर्ष ५०/६० बक्सा चङ्गा मात्र बाँकी रहेकोले त्यही विक्री गरिरहेको बताए । सामान नआएकाले माग धेरै भए पनि माग पूरा गर्न सकिएको छैन । ‘पहिला सामान धेरै थियो किन्ने हुँदैन थिए अहिले सामान धेरै छैन तर किन्न आउने धेरै छन्,’ चित्रकारले भने ।
उनले कोभिडको बीचमा लकडाउन खुल्दा ल्याएको सामान विक्री गरिरहेको बताए । बजारको मात्रको ७० प्रतिशत ग्राहकलाई मात्र चङ्गा विक्री गर्न सक्षम रहेको उनले बताए । उनले विगतमा १०० कार्टुन बढी चङ्गा बेच्थे अहिले ४०/५० कार्टुन मात्र विक्री गर्न सकेको बताए ।
‘किन्ने छन् तर विक्री गर्ने सामान पर्याप्त छैन, व्यापार पहिलेभन्दा धरासाही नै छ, उनले भने ‘सामान नभएपछि लिन आउने मान्छेलाई दिन नसक्दा व्यापार राम्रो हुन सकेको छैन ।’ भारतका चङ्गा उद्योगहरू बन्द भएकाले चङ्गा आयातमा समेत कमी भएको उनको भनाइ छ ।
कोरोनाका कारण भन्सारबाट ल्याउँदा गाडीभाडा बढी तिर्नु पर्ने भएकाले मूल्य समेत बढेको उनले बताए । उनले अहिले २० रुपैयाँदेखि १०० रुपैयाँसम्मको होलसेल मूल्यमा चङ्गा विक्री गरिरहेका छन् । सो चङ्गा रिटेलमा ३० देखि १२० सम्म विक्री हुने गर्छन् । यो पटक कागजको चङ्गा भने बजारमा छैन । आयात असज भएकाले कागजका चङ्गा नआएको उनले बताए ।
उनको अनुभव अनुसार ४० वर्ष अघि मात्र कागजका चङ्गा नेपालमै हातले बनाइने गरिन्थ्यो । अहिलेसम्म नेपालमा चङ्गा बनाउनकै लागि कुनै उद्योग नबनेको उनी बताउँछन् ।
‘म मेरो पुस्ताको चौथो पुस्ताहुँ, हाम्रो हरेक पुस्ताले याहीबाट चङ्गा विक्री गर्दै आएको हो,’ चित्रकारले भने ‘अहिलेसम्म जति काठमाडौंमा चङ्गा पसल छन् ती सबै ठाउँमा हाम्रै पसलबाट चङ्गा जान्छ ।’
पुर्ख्यौँली व्यापार भएकाले उनले धेरै जिल्लाहरूमा समेत चङ्गा पुर्याउने गरेका छन् । नुवाकोट, भक्तपुर, चरिकोट, सिन्धुली नारायणघाट, बुटवल लगायतका जिल्लाहरूमा चित्रकार आफैले ढुवानी गर्ने गरेका छन् ।
आयातकै भर, नेपालमा चङ्गा बनाउने उद्योग छैनन्
आफ्नै संस्था र संस्कृती बोकेको चङ्गा उडाउने प्रचलन हजारौँ वर्ष अघिदेखि शुरू भएको हो । यस संस्कारलाई जोगाउन चङ्गा वर्षेनी भारतबाट आयात हुने गरेको छ ।

भन्सार विभागका तथ्यांक अधिकारी मोहन पुडाशैनीका अनुसार चालू आर्थिक वर्षमा करोडको हाराहारीमा चङ्गा आयात हुने गरेको छ । उनले नेपालमा दशैँका लागि मात्र विगतका समयमा २ करोड बढिको रकमको चङ्गा आएको बताए ।
चङ्गा खेलौनाहरू अन्तर्गत आयात हुने गरेको छ । खेलौना अन्तर्गत यो चालू आर्थिक वर्षको २ महिनामा ७ करोड ७ लाख रुपैयाँ बराबरको आयात भएको छ । गत वर्ष सोही अवधिमा १५ करोड ४८ लाख रुपैयाँ बराबरका सामग्री आयात भएका थिए ।
गत वर्ष कुल ५६ करोड १५ लाख रुपैयाँ बराबरका सामग्रीहरू आयात भएका थिए । यसै सामग्री अन्तर्गत २० प्रतिशत सामान दशैँका लागि भनेर चङ्गा, लट्टाई, धागो आयात हुने गरेका छन् ।
नेपाली लट्टाईको माग बढ्दो
चङ्गा उडाउने लट्टार्ई नेपालमै बन्ने गर्छन । केही भारतबाट पनि आयात हुने गरेका छन् । भारतको भन्दा नेपालकै लट्टार्ई युवाहरूको रोजाइमा परेको उनले बताए । नेपालको लट्टार्ई घुम्ने भएकाले चङ्गा उडाउन सजिलो हुने गर्छ । नेपाली लट्टार्ई ३०० रुपैयाँदेखि १५ सय रुपैयाँसम्म पर्छ । नेपालमा घरेलु उद्योगहरूबाट लट्टाई बन्ने गरेको छ । चङ्गा धेरै उडाउनेले नेपाली लट्टार्ई नै रोज्ने गरेका छन् ।
भारतीय लट्टार्ई बच्चाहरूले प्रयोग गर्छन् । भारतीय लट्टार्ई धेरै विक्री नहुने उनको भनाई छ । बच्चाहरू र सिक्नेले भारतीय लट्टाई किन्ने गर्छन् । भारतीय लट्टार्ई ८० रुपैयाँ देखि १ सय रुपैयाँसम्म पर्ने गर्छ ।
उनले लट्टार्ई एकै पटक ५/६ लाखको किनेर राख्ने गरेकोले स्टकमा रहेको बताए । अहिले उनी स्टकमै रहेको लट्टाई विक्री गरिरहेका छन् । चित्रकार जेठ/असार महिनादेखि नै चङ्गा बेच्ने गर्छन् । यो वर्ष भने कोरोनाका कारण चङ्गा ढिलो बेच्न शुरू गरेको उनले बताए ।
उनले जाडो महिनामा समेत चङ्गा बेच्ने गरेका छन् । दशैँमा मात्र नभई विदेशमा हुने चाइनिज न्यूएरमा समेत चिनमा चङ्गा विक्री गर्ने गरेको उनले बताए । विभिन्न विदेशमा रहेका नेपालीहरूले समेत उनकैबाट चङ्गा किन्ने गरेको उनले बताए ।
यो वर्ष पहिलो लकडाउन सकिना साथ चङ्गा विक्री गर्न शुरू गरेको उनले बताए । अति आवश्यक वस्तु मात्र आयात गर्न दिएकाले चङ्गाहरू आयात हुन नसकेको उनले बताए ।
