नेपालमा ५०० मेगावाटको जलविद्युत् आयोजना बनाउने अष्ट्रेलियन कम्पनीको प्रस्ताव

काठमाडौं । अष्ट्रेलियन कम्पनीले नेपालमा ५०० मेगावाटको जलविद्युत आयोजना बनाउन इच्छा देखाएको छ ।

 

अष्ट्रेलियाको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा ५०० मेगावाट क्षमताको विद्युत् आयोजना बनाउने ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय समक्ष प्रस्ताव पेस गरेको हो । साथै उक्त कम्पनीले उत्पादन गर्ने विद्युत समेत आफै खपत गर्ने प्रस्ताव गरेको छ ।

 

ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबीच भर्चुअल बैठक समेत भएको मन्त्रालयले जनाएको छ ।नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बडलाई कार्यकाल सकेर स्वदेश फर्किने क्रममा मन्त्रालयमा भएको बिदाई भेट कार्यक्रममा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले उक्त प्रस्तावलाई नेपालका लागि सकरात्मक भएको बताए ।

 

अष्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकामा स्वागत गर्दै मन्त्री पुनले त्यसका लागि नेपाल सरकारका तर्फबाट सहजीकरण गरिने स्पष्ट गरे ।

कम्पनीका अध्यक्ष एन्ड्रीय फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली आगामी अक्टुबर १२ मा नेपाल आउन लागेको जानकारी प्राप्त भएको भन्दै मन्त्री पुनले टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानूनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा कम्पनीलाई जानकारी दिइने उल्लेख गरे ।

 

तीन दिने नेपाल बसाइका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग भेट्ने तालिका छ ।

 

‘नेपालको जलविद्युतमा यति ठूलो लगानी आउने र उत्पादित बिजुलीको खपत पनि आफैं गर्ने कम्पनीको प्रस्ताव हामीलाई राम्रो लागेको छ’, मन्त्री पुनले भने, ‘उहाँहरु आउनुभएपछि हामी विभिन्न आयोजनाबारे अवगत गराउँछौं र उपयुक्त आयोजना निर्माणका लागि आवश्यक कानूनी, नीतिगत र प्रक्रियागत विषयमा सम्झौता गर्छौं ।’

 

मन्त्री पुनले अष्ट्रेलिया नेपालको असल र महत्वपूर्ण मित्र भएको चर्चा गर्दै नेपालको समग्र विकास तथा जलविद्युत क्षेत्रको विकासमा पुर्‍याउँदै आएको सहयोगका लागि आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोग जारी रहने विश्वास व्यक्त गरे ।

 

अष्ट्रेलियाले नेपालमा पछिल्लोपटक एकीकृत नदी बेपसिन व्यवस्थापन र फुकोट कर्णाली जलविद्युत आयोजना विकासका लागि प्राविधिक सहायता उपलब्ध गराएकामा उनले प्रशंसा गरे । मन्त्री पुनले राजदूत बडको कार्यकाल कुशलतापूर्वक सम्पन्न भएकामा बधाई दिँदै आगामी दिनमा सम्हाल्ने जिम्मेवारी सफलताको कामना गरे ।

अब डिशहोममा हिन्दी चलचित्र ‘खाली पिली’ हेर्न पाइने, कति लाग्छ शुल्क Read Previous

अब डिशहोममा हिन्दी चलचित्र ‘खाली पिली’ हेर्न पाइने, कति लाग्छ शुल्क

साउदीले दियो १०५८ नेपालीलाई बहिर्गमन भिसा, ६० दिनभित्र आफ्नै खर्चमा फर्किसक्नुपर्ने Read Next

साउदीले दियो १०५८ नेपालीलाई बहिर्गमन भिसा, ६० दिनभित्र आफ्नै खर्चमा फर्किसक्नुपर्ने