गौतमबुद्ध विमानस्थल ५० वर्षका लागि सञ्चालनको जिम्मा दिन जर्मनीको प्रस्ताव

काठमाडौं । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख इन्टरनेश्नल एयरपोर्टले चासो देखाएको छ ।

 

विमानस्थल सञ्चालनको इच्छा जनाउँदै जर्मनीको म्युनिख एयरपोर्टले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पत्र पठाएको हो ।

 

जर्मन सरकारको स्वामित्वको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि मन्त्रालय र प्राधिकरणलाई औपचारिक पत्र पठाएको प्राधिकरणले जनाएको छ । नेपालस्थित जर्मनी राजदूतावासमार्फत पर्यटन मन्त्रालय र प्राधिकरणलाई भैरहवा विमानस्थल सञ्चालनका लागि प्रस्ताव आएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

 

“गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि जर्मनले चासो दिएको छ, जर्मनी राजदूतले पर्यटन सचिवसँग छलफल गरिसकिएको छ । अन्य मुलुकबाट पनि प्रस्ताव आएका छन् । अब, छिट्टै जर्मनीकोतर्फबाट प्रस्ताव पेश हुन्छ”, उनले भने ।

 

म्युनिख विमानस्थलमा जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको छ । यो प्रस्तावप्रति मन्त्रालय र प्राधिकरण दुवै सकारात्मक देखिएको बताइन्छ ।

 

गौतमबुद्ध विमानस्थल सम्बन्धमा जर्मनीबाहेक अन्य मुलुकबाट औपचारिक प्रस्ताव नआएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । उनले भने, “कसलाई जिम्मा दिने भन्नेबार सबै प्रक्रिया पूरा गरेर छिट्टै निर्णय हुन्छ ।”

 

गत जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘जिटुजी’ मोडेलमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

 

महानिर्देशक पोखरेलका अनुसार गौतमबुद्ध विमानस्थ सञ्चालनका लागि कुन देशको कस्तो कम्पनीलाई जिम्मेवारी दिने भन्ने सम्बन्धमा सरोकारवाला मन्त्रालयका प्रतिनिधि रहने गरी पर्यटन मन्त्रालयमा एक एकाइ गठन गरेर काम अघि बढाइनेछ ।

 

मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राधिकरण, कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्रलगायत मन्त्रालयको प्रतिनिधि रहनेछन् । त्यसले प्रस्ताव छलफल गर्ने मूल्याङ्कन गर्ने र सरकारलाई सिफारिश गर्ने गरी मन्त्रालयले छिट्टै एकाइ गठन गर्ने जनाइएको छ ।

 

जर्मनीसहित अन्य मुलुकबाट पनि विमानस्थल सञ्चालनका लागि प्रस्ताव आएको स्रोतले जनाएको छ । सोही प्रस्तावका आधारमा मन्त्रालयले छलफल अघि बढाएको छ । म्युनिखले गौतमबुद्ध विमानस्थल ५० वर्षका लागि सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको बताइएको छ ।

 

सञ्चालनमा ढिलाइ

 

आगामी डिसेम्बर महिनासम्म निर्माण सम्पन्न गरी सन् २०२० को जनवरीदेखि व्यावसायिक उडान गर्ने योजनाका साथ धमाधम निर्माण भइरहेको गौतमबुद्ध विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन केही ढिलाइ हुने भएको छ ।

 

विमानस्थल निर्माण सम्पन्न भएको करीब तीन महीनापछि मात्रै व्यावसायिकरुपमा सञ्चालनमा आउने प्राधिकरणका महानिर्देशक पोखरेलले बताए ।

 

“उडान कार्यविधि, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को सहमति प्रदानका लागि पहल गरिएको छ । भैरहवाबाट विमान प्रवेश बिन्दुका लागि आइकाओमा संयुक्तरुपमा निवेदन दिइएको छ ।

 

विमानस्थल सञ्चालनका लागि योग्य छ भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । त्यो सबै पूरा गरेपछिमात्र सरकारले विमान सञ्चालनका लागि मिति निर्धारणको निर्णय गरेर परीक्षण उडान शुरु गर्छौं”, उनले भने ।

 

हाल सो विमानस्थलको भौतिक प्रगति ७५ प्रतिशत छ । विमानस्थललाई जसरी पनि सहयोग गरेर चाँडो निर्माण सम्पन्न गर्नेगरी लागेको प्राधिकरणको भनाइ छ ।

 

विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि दुई साताअघि तेस्रोपटक समयावधि थपिएको थियो । आगामी पुस १६ गतेसम्म निर्माण सकिनेछ । प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले निर्माणको समयावधि थपिए पनि लागतमा कुनै फरक नपर्ने बताए।

 

उनका अनुसार अहिले धावनमार्ग, ‘एप्रोन’, ‘ट्याक्सी वे’ को निर्माण भइसकेको छ । अब, भवनको ‘फिनिसिङ’ र ‘लाइटिङ’ को काम तीव्र गतिमा भइरहेको छ । विमानस्थलको तीन हजार ६० मिटरको धावनमार्गको मुख्य काम पनि सकिएको छ ।

 

सन् २०१७ को डिसेम्बर महीनामा निर्माण सक्ने लक्ष्यसहित सन् २०१४ को डिसेम्बर ३१ बाट गौतमबुद्ध विमानस्थल निर्माण शुरु गरिएको थियो । बीचमा दुईपटक समयावधि थपिसकिएको छ । विमानस्थलकोे लागत  छ अर्ब २२ करोड ५१ लाख रूपैयाँ रहेको छ ।रासस

कर्मचारीलाई व्यवसायी साझेदार बनाउँदै सस्तोडिल Read Previous

कर्मचारीलाई व्यवसायी साझेदार बनाउँदै सस्तोडिल

सहकारीको ब्याजदर राष्ट्र बैंकले तोक्न नसक्ने,  २३ प्रतिशतसम्म  ब्याज असुल्दै Read Next

सहकारीको ब्याजदर राष्ट्र बैंकले तोक्न नसक्ने, २३ प्रतिशतसम्म ब्याज असुल्दै