काठमाडौं । चाडपर्व नजिकिएसँगै ग्राक तान्न व्यापारीहरूले आकर्षक छुटको अफर ल्याउन थालेका छन् ।
उपत्यकाका मुख्य व्यापारिक स्थान असन, न्यूरोड, ईन्द्रचोक, दरवारमार्ग लगायतमा स्थानका व्यापारीले ग्राहक तान्न भारी छुटको अफर ल्याएका हुन् ।
कोरोनाका कारण विगतका वर्षहरूमा जस्तो रौनक र भीडभाड नभए पनि व्यारीहरूले ग्राहकलाई आकर्षित गर्न १० प्रतिशतदेखि ७० प्रतिशतसम्म छुटको अफर ल्याएका छन् । उनीहरूले सामान्यदेखि ब्रान्डेड सामानमा समेत छुट दिएका छन् ।
पसलेहरूले विशेषगरी जुत्ता, रेडिमेड कपडा लगायत फेन्सी सामानमा छुटको अफर ल्याएका छन् । अहिले दरबारमार्ग, न्यूरोड लगायत मुख्य व्यापारिक स्थानमा पसलहरूमा विभिन्न सामानमा ७० प्रतिशतसम्म छुट भन्ने बोर्ड र स्टीकरले पसल सजाएका छन् । साथै व्यापारीहरूले ग्राहक तान्नक ‘बाइ वान गेट वान फ्री’को अफर पनि ल्याएका छन् ।

विगतका वर्षहरूमा जस्तो व्यापार नभए पनि थोरै मात्रमा आउने ग्राहकहरूलाई तान्न सकेसम्म बढी छुटको अफर ल्याइएको दरवारमार्गमा फेन्सी पसल सञ्चालन गर्ने सञ्जीव बस्नेत बताउँछन् । ‘यो वर्ष भन्सार बन्द भएकाले नयाँ कपडा ल्याउन सकिएन,’ उनले भने, ‘पुराना स्टकमै रहेका सामानमा डिस्काउन्ट दिएर व्यापार गर्नुपर्ने बाध्ता छ ।’
कोभिडका कारण सीमानाका खुला नहुँदा दशैंलाई ल्याइएको लुगा भन्सारमै अड्किएको उनको भनाइ छ । उनले चैत अघि नै ल्याएका कपडाहरू भएकाले त्यसैमा स्टक क्लियरेन्सका लागि अफर राखेको बताए । ‘नयाँ लटका कपडा छैनन्, चैत्र अघि नै आएका कपडाहरू बन्द पछि विक्री हुन सकेका थिएनन्, त्यही स्टक विक्रीका लागि ५० प्रतिशतसम्मको छुटको अफर राखेको हुँ,’ बस्नेतले भने ।

त्यस्तै, दरवारमार्गमा रहेको सोच कुर्था सुरुवाल तथा लेहेङगा पसलमा ५० प्रतिशतसम्म छुट दिइएको छ भने एन्टा कपडा पसलले ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।
सिटी वाकमा ५० प्रतिशतसम्म छुटमा जुत्ता चप्पल विक्री गरिरहेको पाइन्छ । अनिरुद्ध इन्टरनेसनल कपडा, झोला तथा जुत्ता पसलमा ‘बाइ वान गेट वान फ्रि’ को व्यवस्था गरिएको छ । जमलमा रहेको वुड ल्याण्डले जुत्ताहरूमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।



