काठमाडौं । सेयर बजारले उत्साहजनक कमब्याक गरेको छ । यो साता पछिल्ला तीन दिन लगातार ओरालो लागेको बजार आज दोहोरो अंकले बढेर कमब्याक गरेको हो ।
सूचकसँगै कारोबार रकममा पनि ठूलो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै १ अर्बले बढेको छ ।
सेयर बजार मापक सूचक नेप्से २०.६१ अंकले बढेर १५७१.०४ बिन्दुमा पुगेको छ । यसदिन १९२ कम्पनीको २ अर्ब ८० करोड ७७ लाख ८ हजार १३७ रुपैयाँ बराबरको कारोबार भएको छ । ९९ लाख ३० हजार ८३० कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये हाइड्रोपावर र सामूहिक लगानी कोष समूह बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेका छन् । आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३३२.४१अंकले बढेको छ भने हाइड्रोपावर समूहको परिसूचक २४.७६ अंकले घटेको छ ।
आज लगानीकर्ताको रोजाइमा बैंक अफ काठमाण्डूको सेयर परेको छ । गत वर्षको नाफाबाट १६ प्रतिशत लाभांश घोषणा गरेपछि लगानीकर्ता यसको सेयरमा झुम्मिएका हुन् । यसको सबैभन्दा धेरै १४ करोड ६५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा शिखर इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कामना सेवा, कर्पोरेट डेभलपमेन्ट, सप्तकोशी विकास बैंक, मल्टी प्रपोज फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
बढ्दो बजारमा पनि आज माउन्टेन हाइड्रोपावरको सेयर मूलयमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।