काठमाडौं । डीडीसी (दुग्ध विकास संस्थान) ले दशैं र तिहारमा घिउमा ३० रुपैयाँ छुट दिने भएको छ । डीडीसीले उपत्यकाका आफ्ना ३ विक्री केन्द्रबाट विक्री हुने घिउको मूल्यमा ३० रुपैयाँ छुटको व्यवस्था गरेको हो ।
डीडीसीका बजार व्यवस्थापक प्रमुख संजीव झाका अनुसार डीडीसीको लैनचौर, न्यूरोड र खुमलटारबाट विक्री हुने घिउको मूल्यमा ३० रुपैयाँ छुट दिन लागेको हो ।
हाल घिउको बजार मूल्य प्रतिलिटर ९०० रूपैयाँ रहेको छ । ३० रुपैयाँ छुट पछि उपभोक्ताले ८७० रूपैयाँ प्रतिलिटर घिउ किन्न पाउने छन् ।
डीडीसीका ३ स्टोरहरूबाट मात्र सहुलीयत रूपमा ३० रुपैयाँ छुट दिइएको हुनाले अन्य स्टोरहरूमा भने छुटको व्यवस्था नरहेको बताए ।
‘हामीले काठमाडौंमा हाम्रो ३ वटा केन्द्रबाट विक्री हुने घिउमा यो व्यवस्था गरेका हौँ, अन्य स्टोरबाट किन्नेलाई यो सुविधा छैन,’ झाले चाणक्य पोष्टसँग भने ‘छुटको व्यवस्था काठमाडौं बाहेक ६ जिल्लामा पनि व्यवस्था गरेका छौं ।’
डीडीसीले उपत्यका बाहिर रहेका आफ्ना शाखाहरूबाट पनि सहुलियतमा घिउ विक्री गर्ने भएको छ । उपत्यका बाहिर विराटनगर, जनकपुर, हेटौँडा, बुटवल, कोहलपुर र धनगडीका डीडीसीका केन्द्रहरूबाट ३० रूपैयाँ छुटमा घिउ विक्री गर्ने उनले बताए ।
हाल डीडीसीसँग ६६० मेट्रिकटन बटर रहेको छ । सोही बटरबाट घिउ प्रशोधन गरिने छ ।
घिउको खपत कम हुने
यो वर्ष दशैँ तिहारमा घिउको उपभोग कम हुने बजार व्यवस्थापक प्रमुख झा बताउछन् । उनले यो वर्ष उपभोक्ताको क्रयशक्ति समेत कम भएको भन्दै विगतका तुलनामा ५ देखि १० प्रतिशत खपत कम हुने बताए ।
‘यो वर्ष कोभिडका कारण पहिलेको जस्तो अवस्था छैन, मानिसहरू धेरै पैसा खर्च गर्न चाहदैनन्, उनीहरूको क्रयशक्ति पनि घटेकोले हुन सक्छ, त्यास्तै यो वर्ष विगतको तुलनामा केही कम खपत हुने हामीले अनुमान गरेका छौँ,’ उनले भने ।
उनले यो वर्ष माग जति भए पनि त्यसलाई पूर्ति गर्न सक्ने अवस्थामा डीडीसी रहेको बताए ।गत वर्ष दशैँ तिहारमा काठमाडौं उपत्यका भित्र मात्र ५५ हजार लिटर घिउ खपत हुने गरेको थियो । यो वर्ष ५० हजार लिटरका हाराहारीमा मात्र खपत हुने अनुमान गरिएको हो ।
सामान्य तयार बजारमा ३५ हजार लिटर घिउ मासिक खपत हुने गरेको छ । दशैँ तिहारसँगै चाडपर्वमा घिउको खपत बढ्ने गरेको छ ।
झाका अनुसार यो पटक कोरोनाका कारण खपत नभएका दूध पाउडरमा परिणत गरिएको छ । केही चिज र बटरका रूपमा परिणत गरेर स्टोर गरिएको छ । दशैँमा सोही स्टकलाई प्रयोगमा ल्याइने तयारी रहेको छ ।
देशभर कोभिड १९ महामारी बढ्दा डेरी उद्योगहरूले २० अर्ब रूपैयाँका हाराहारीमा नोक्सानी बेहोर्नु परेको थियो । कोभिडका यस बीच दुग्ध उत्पादन खपत ६० प्रतिशतले घटेको छ ।
देशभर दैनिक ६० लाख लिटर दूध उत्पादन हुन्छ तर, ३० लाख लिटर दूध मात्र खपत भइरहेको छ । उनले यस कारणले किसान धेरै प्रभावित भएका थिए ।