प्याजमा वर्षेनी हुने ‘वर्गाीय’ रोइलो कृत्रिम कि प्राकृतिक

काठमाडौं । प्याजले बजार तताएको छ अहिले । बजारमा भन्दा सस्तो प्याज (कालाबजारी बाट जफत गरेर ल्याएको) सरकारले आधा सस्तो मूल्यमा बेच्न थालेपछि अहिले मानिसहरू खाद्य संस्थान अगाडि छाता ओढेर लाममा उभिएका छन् ।

 

अहिलेसम्म जफत गरिएका प्याज ६० प्रतिशत विक्री भइसकेको खाद्य व्यापार कम्पनीले जनाएको छ । अब बाँकी रहेको ४० प्रतिशत प्याज चल्तीको मूल्य भन्दा आधा मूल्यमा किन्नका लागि प्याज पारखीहरू चर्को घाम र कोरोनाको समेत प्रवाह नगरी लाम लागेका छन् ।

 

नेपालमा सिजन अनुसार विभिन्न तरकारी तथा फलफूलहरूको बजारमा अभाव हुने र त्यही मौकामा कालोबजारीहरू हावी हुने हुँदा मूल्यमा अत्याधिक वृद्धि हुने विषय पनि नेपालका सहर बजारमा त्यति नौलो होइन ।

 

यसकारणले गर्दा वर्षमा एकाध पटक सहरीया मध्यमवर्ग कोलाहल मच्चाउने गर्छन् । तरकारी र फलफूलमा हुने यस्ता मूल्य वृद्धिले सञ्चार माध्यमहरूमा पनि उत्तिकै स्थान पाउने गर्दछन्, ‘नेपालीको भान्छा महङ्गियो’ इत्यादि शिर्षकमा । कालोबजारी नियन्त्रण गरेर त्यस्ता व्यापारीहरूलाई सरकारले कारबाही गर्नुपर्नेमा कुनै शंका छैन । तर, के एकाध तरकारी र फलफूलमा विविध कारणले समय–समयमा हुने मूल्य वृद्धि त्यही घनत्वको समस्या हो जुन रूपमा यसको चर्चा हुन्छ ? के यो त्यहि सघनताको सार्वजनिक चासोको विषय हो जुन रूपमा यो प्रस्तुत हुन्छ ?

 

 

प्याजको उदाहरणलाई लिएर यो विषयमा केही चर्चा गरौं ।

 

अहिले केही समययता प्याजले बजार तताएको छ । किन यसरी यो एउटा सहायक वस्तु (मूल तरकारी पनि होइन यो) मा भएको मूल्य वृद्धिले यो स्तरको चर्चा पाएको होला ?

 

प्याज अत्यावश्यक वस्तु होइन नेपालीहरूको भान्छामा । नुन, चिनी, ग्यास जस्तो अत्यावश्यक वस्तु त होइन नी यो । भारतीय खानाहरूमा जस्तो प्याज धेरै समय पकाएर त्यसैको बाक्लो लेदो बनाएर अर्को तरकारीमा मिसाएर खाने चलन नेपालमा छैन । नेपालमा पातलाे झोल बनाएर (तिहुन) खाने चलन छ । एकदुई हप्ता महङ्गो भएको समयमा यो नखाँदा पनि खासै समस्या हुँदैन । यसले भान्छा महङ्गो पनि बनाउँदैन । तर, किन यस्तो चर्चा ?

 

सहर आकर्षक लाग्छ, यसले आफूतर्फ आकर्षित पनि गर्छ । तर, अलि नजिक पुगेपछि फेरि सहर टाढा भागिहाल्छ । सहरले सजिलै अंगालोमा बाँध्दैन । यस्तो अवस्थामा ‘साँच्चिकै’ सहरिया हुन के गर्ने त ? भन्दा रोइलो गर्ने । प्याजमा रोइलो गर्ने । गोलभेँडामा कराउने । सागमा चिच्याउने । ‘सक्कली’ सहरबासी भएको पुष्टि गर्न खोज्ने र निरश जीवनमा ‘किक’ खोज्ने ।

 

गोलभेँडाको कुरा गरौं । यो तरकारीको पनि बेलामौका अभाव हुन्छ र मूल्य उत्तिकै बढ्छ । घरपरिवारको बजेटले धान्दैन भने यो तरकारी पनि केही हप्ता नखाँदा हुने हो । गोलभेँडाको साटो गुन्द्रक र लप्सीको अचार कम्ता मिठो हुँदैन ! धनियाँ र तिलको अचार पनि खाँदा भयो । तरकारीमा गोलभेँडा हालेर खाने चलन पनि हाम्रो होइन । अझ भन्नु पर्दा गोलभेँडा ‘हालसालै’ मात्र दक्षिण एशियाली क्षेत्रमा आएको हो । केही दशक अघिसम्म नेपालका बाहुनहरू गोलभेँडा खानै घिन मान्थे । अब अहिले केही हप्ता यसको भाउ बढ्दा रोइलो हुन्छ । सञ्चार माध्यमहरूमा सार्वजनिक चासोको रूपमै अभिव्यक्त हुन्छ । किन ?

 

बेलामौका काउलीको भाउ पनि उल्कै बढ्छ । तर फेरि कुनै समय धेरै सस्तो पनि हुन्छ । सागको पनि कुरा त्यही हो । सस्तो भएको बेला धेरै किनेर सुकाएर राखे देखि महङ्गो भएको बेला त्यही सुकाएको तरकारी खाँदा हुने हो । कमिलाले समेत वर्षायामका लागि भनेर केही खानेकुराको जोहो गर्छ । चेतनशील भनिएको मानिसले गर्न नसक्ने कुरै छैन । सुकाएको तरकारी खाने हाम्रो खाद्य संस्कृतिको अभिन्न अंग पनि हुँदै हो । ताेरीकाे सागकाे गुन्द्रुक र मूलाकाे सिन्की त धेरै पहिला देखि खाँदै आइएकै हाे ।

 

तर, यस्ता सामान्य व्यवस्थापन नगरी झन् कालाबजारीलाई नै थप हौसला प्रदान गर्ने गरी किन यस्तो रोइलो भएको होला ?

 

यस्तो हुन सक्छ कारण

 

सहरमा विभिन्न वर्गका मानिसहरूको बसोबास छ । उच्च मध्यम र उच्च वर्ग प्रति सहर नरम छ । सहरले यस्ता वर्गलाई धेरै कुरा दिन्छ । पैसा कमाउने र शक्ति आर्जन गर्ने अवसर दिन्छ । खानपिनका लागि राम्रा रेष्टुरेन्टहरू, किनमेलका लागि मलहरू, मनोरञ्जनका लागि मल्टिप्लेक्सहरू, अझ रसिकहरूका लागि तारे होटलहरूका चोटा–कोठा सहरले दिएकै छ । अग्ला पर्खालहरूले घेरिएका घरहरूमा आफ्ना जीवनलाई रोचक बनाउन जे गर्दा पनि भइहाल्यो । आर्थात, सहरले यी दुई वर्गका मानिसहरूको जीवनमा प्रशस्त ‘किक’ प्रदान गर्ने गरेको छ । यी वर्गलाई सानातिना मूल्य वृद्धिले छुँदैन ।

 

सहरमा अर्को वर्ग छ, निम्न वर्ग । यो वर्गका लागि सहरले बिहान काम गरेर बेलुका खाने व्यवस्था गरेको छ । काम नगरे खानै नपाउने जोखिम पनि सहरले नै यो वर्गलाई दिएको छ । यो वर्ग जहिले पनि तरवारको धारमा नै हिँड्छ । जे सस्तो मस्तो पाइन्छ, त्यहि खाएर घप्लक्क सुत्छ यो वर्ग । तरवारको धारमा हिँडाएर यो वर्गलाई पनि सहरले ‘किक’ दिएकै छ ।

 

निम्न मध्यम र मध्यम वर्गलाई भने सहरले उति साह्रो ‘किक’ दिदैंन । यी दुई वर्गको लागि सहर एउटा भुलभुलैया जस्तै हो । काठमाडौं जस्तो जब्बर सहरमा यी वर्गको लागि पैसा कमाउने अवसर सीमित छ । उच्च वर्गको जस्तो विभिन्न खाले रमाइलो गतिविधिमा पहुँच छैन । तल्लो वर्गको जस्तो जोखिम पनि छैन ।

 

सहर आकर्षक लाग्छ, यसले आफूतर्फ आकर्षित पनि गर्छ । तर, अलि नजिक पुगेपछि फेरि सहर टाढा भागिहाल्छ । सहरले सजिलै अंगालोमा बाँध्दैन । यस्तो अवस्थामा ‘साँच्चिकै’ सहरिया हुन के गर्ने त ? भन्दा रोइलो गर्ने । प्याजमा रोइलो गर्ने । गोलभेँडामा कराउने । सागमा चिच्याउने । ‘सक्कली’ सहरबासी भएको पुष्टि गर्न खोज्ने र निरश जीवनमा ‘किक’ खोज्ने ।

 

केही तरकारी र फलफूलको मूल्य वृद्धिको हल्लाको कारण यो हुनसक्छ । वा, नहुन पनि सक्छ । यो समाजशास्त्रीय टिप्पणी होइन । यो टिप्पणीको पछाडि गम्भीर समाजशास्त्रीय अध्ययन छैन । झट्ट देखिएको सानो ‘अब्जरभेसन’ हो ।

 

यो कृतिम झै लाग्ने सदाको रोइलोको समाधान के हो त ?

 

थाहा छैन ।

 

चलायमान हुँदै हवाई सेवा, आन्तरिक उडानको अकुपेन्सी ९० प्रतिशत बढी Read Previous

चलायमान हुँदै हवाई सेवा, आन्तरिक उडानको अकुपेन्सी ९० प्रतिशत बढी

सेयर बजारमा लगातार गिरावट, घट्दो बजारमा पनि १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

सेयर बजारमा लगातार गिरावट, घट्दो बजारमा पनि १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट