काठमाडौं । प्याजले बजार तताएको छ अहिले । बजारमा भन्दा सस्तो प्याज (कालाबजारी बाट जफत गरेर ल्याएको) सरकारले आधा सस्तो मूल्यमा बेच्न थालेपछि अहिले मानिसहरू खाद्य संस्थान अगाडि छाता ओढेर लाममा उभिएका छन् ।
अहिलेसम्म जफत गरिएका प्याज ६० प्रतिशत विक्री भइसकेको खाद्य व्यापार कम्पनीले जनाएको छ । अब बाँकी रहेको ४० प्रतिशत प्याज चल्तीको मूल्य भन्दा आधा मूल्यमा किन्नका लागि प्याज पारखीहरू चर्को घाम र कोरोनाको समेत प्रवाह नगरी लाम लागेका छन् ।
नेपालमा सिजन अनुसार विभिन्न तरकारी तथा फलफूलहरूको बजारमा अभाव हुने र त्यही मौकामा कालोबजारीहरू हावी हुने हुँदा मूल्यमा अत्याधिक वृद्धि हुने विषय पनि नेपालका सहर बजारमा त्यति नौलो होइन ।
यसकारणले गर्दा वर्षमा एकाध पटक सहरीया मध्यमवर्ग कोलाहल मच्चाउने गर्छन् । तरकारी र फलफूलमा हुने यस्ता मूल्य वृद्धिले सञ्चार माध्यमहरूमा पनि उत्तिकै स्थान पाउने गर्दछन्, ‘नेपालीको भान्छा महङ्गियो’ इत्यादि शिर्षकमा । कालोबजारी नियन्त्रण गरेर त्यस्ता व्यापारीहरूलाई सरकारले कारबाही गर्नुपर्नेमा कुनै शंका छैन । तर, के एकाध तरकारी र फलफूलमा विविध कारणले समय–समयमा हुने मूल्य वृद्धि त्यही घनत्वको समस्या हो जुन रूपमा यसको चर्चा हुन्छ ? के यो त्यहि सघनताको सार्वजनिक चासोको विषय हो जुन रूपमा यो प्रस्तुत हुन्छ ?

प्याजको उदाहरणलाई लिएर यो विषयमा केही चर्चा गरौं ।
अहिले केही समययता प्याजले बजार तताएको छ । किन यसरी यो एउटा सहायक वस्तु (मूल तरकारी पनि होइन यो) मा भएको मूल्य वृद्धिले यो स्तरको चर्चा पाएको होला ?
प्याज अत्यावश्यक वस्तु होइन नेपालीहरूको भान्छामा । नुन, चिनी, ग्यास जस्तो अत्यावश्यक वस्तु त होइन नी यो । भारतीय खानाहरूमा जस्तो प्याज धेरै समय पकाएर त्यसैको बाक्लो लेदो बनाएर अर्को तरकारीमा मिसाएर खाने चलन नेपालमा छैन । नेपालमा पातलाे झोल बनाएर (तिहुन) खाने चलन छ । एकदुई हप्ता महङ्गो भएको समयमा यो नखाँदा पनि खासै समस्या हुँदैन । यसले भान्छा महङ्गो पनि बनाउँदैन । तर, किन यस्तो चर्चा ?
सहर आकर्षक लाग्छ, यसले आफूतर्फ आकर्षित पनि गर्छ । तर, अलि नजिक पुगेपछि फेरि सहर टाढा भागिहाल्छ । सहरले सजिलै अंगालोमा बाँध्दैन । यस्तो अवस्थामा ‘साँच्चिकै’ सहरिया हुन के गर्ने त ? भन्दा रोइलो गर्ने । प्याजमा रोइलो गर्ने । गोलभेँडामा कराउने । सागमा चिच्याउने । ‘सक्कली’ सहरबासी भएको पुष्टि गर्न खोज्ने र निरश जीवनमा ‘किक’ खोज्ने ।
गोलभेँडाको कुरा गरौं । यो तरकारीको पनि बेलामौका अभाव हुन्छ र मूल्य उत्तिकै बढ्छ । घरपरिवारको बजेटले धान्दैन भने यो तरकारी पनि केही हप्ता नखाँदा हुने हो । गोलभेँडाको साटो गुन्द्रक र लप्सीको अचार कम्ता मिठो हुँदैन ! धनियाँ र तिलको अचार पनि खाँदा भयो । तरकारीमा गोलभेँडा हालेर खाने चलन पनि हाम्रो होइन । अझ भन्नु पर्दा गोलभेँडा ‘हालसालै’ मात्र दक्षिण एशियाली क्षेत्रमा आएको हो । केही दशक अघिसम्म नेपालका बाहुनहरू गोलभेँडा खानै घिन मान्थे । अब अहिले केही हप्ता यसको भाउ बढ्दा रोइलो हुन्छ । सञ्चार माध्यमहरूमा सार्वजनिक चासोको रूपमै अभिव्यक्त हुन्छ । किन ?
बेलामौका काउलीको भाउ पनि उल्कै बढ्छ । तर फेरि कुनै समय धेरै सस्तो पनि हुन्छ । सागको पनि कुरा त्यही हो । सस्तो भएको बेला धेरै किनेर सुकाएर राखे देखि महङ्गो भएको बेला त्यही सुकाएको तरकारी खाँदा हुने हो । कमिलाले समेत वर्षायामका लागि भनेर केही खानेकुराको जोहो गर्छ । चेतनशील भनिएको मानिसले गर्न नसक्ने कुरै छैन । सुकाएको तरकारी खाने हाम्रो खाद्य संस्कृतिको अभिन्न अंग पनि हुँदै हो । ताेरीकाे सागकाे गुन्द्रुक र मूलाकाे सिन्की त धेरै पहिला देखि खाँदै आइएकै हाे ।
तर, यस्ता सामान्य व्यवस्थापन नगरी झन् कालाबजारीलाई नै थप हौसला प्रदान गर्ने गरी किन यस्तो रोइलो भएको होला ?
यस्तो हुन सक्छ कारण
सहरमा विभिन्न वर्गका मानिसहरूको बसोबास छ । उच्च मध्यम र उच्च वर्ग प्रति सहर नरम छ । सहरले यस्ता वर्गलाई धेरै कुरा दिन्छ । पैसा कमाउने र शक्ति आर्जन गर्ने अवसर दिन्छ । खानपिनका लागि राम्रा रेष्टुरेन्टहरू, किनमेलका लागि मलहरू, मनोरञ्जनका लागि मल्टिप्लेक्सहरू, अझ रसिकहरूका लागि तारे होटलहरूका चोटा–कोठा सहरले दिएकै छ । अग्ला पर्खालहरूले घेरिएका घरहरूमा आफ्ना जीवनलाई रोचक बनाउन जे गर्दा पनि भइहाल्यो । आर्थात, सहरले यी दुई वर्गका मानिसहरूको जीवनमा प्रशस्त ‘किक’ प्रदान गर्ने गरेको छ । यी वर्गलाई सानातिना मूल्य वृद्धिले छुँदैन ।
सहरमा अर्को वर्ग छ, निम्न वर्ग । यो वर्गका लागि सहरले बिहान काम गरेर बेलुका खाने व्यवस्था गरेको छ । काम नगरे खानै नपाउने जोखिम पनि सहरले नै यो वर्गलाई दिएको छ । यो वर्ग जहिले पनि तरवारको धारमा नै हिँड्छ । जे सस्तो मस्तो पाइन्छ, त्यहि खाएर घप्लक्क सुत्छ यो वर्ग । तरवारको धारमा हिँडाएर यो वर्गलाई पनि सहरले ‘किक’ दिएकै छ ।
निम्न मध्यम र मध्यम वर्गलाई भने सहरले उति साह्रो ‘किक’ दिदैंन । यी दुई वर्गको लागि सहर एउटा भुलभुलैया जस्तै हो । काठमाडौं जस्तो जब्बर सहरमा यी वर्गको लागि पैसा कमाउने अवसर सीमित छ । उच्च वर्गको जस्तो विभिन्न खाले रमाइलो गतिविधिमा पहुँच छैन । तल्लो वर्गको जस्तो जोखिम पनि छैन ।
सहर आकर्षक लाग्छ, यसले आफूतर्फ आकर्षित पनि गर्छ । तर, अलि नजिक पुगेपछि फेरि सहर टाढा भागिहाल्छ । सहरले सजिलै अंगालोमा बाँध्दैन । यस्तो अवस्थामा ‘साँच्चिकै’ सहरिया हुन के गर्ने त ? भन्दा रोइलो गर्ने । प्याजमा रोइलो गर्ने । गोलभेँडामा कराउने । सागमा चिच्याउने । ‘सक्कली’ सहरबासी भएको पुष्टि गर्न खोज्ने र निरश जीवनमा ‘किक’ खोज्ने ।
केही तरकारी र फलफूलको मूल्य वृद्धिको हल्लाको कारण यो हुनसक्छ । वा, नहुन पनि सक्छ । यो समाजशास्त्रीय टिप्पणी होइन । यो टिप्पणीको पछाडि गम्भीर समाजशास्त्रीय अध्ययन छैन । झट्ट देखिएको सानो ‘अब्जरभेसन’ हो ।
यो कृतिम झै लाग्ने सदाको रोइलोको समाधान के हो त ?
थाहा छैन ।