दशैँमा खसीको मूल्य १० प्रतिशतसम्म महँगिने, उपत्यकामा २० हजार खसीबोका अपुग हुने

काठमाडौं । यो वर्ष दशैँमा जिउँदो खसी बोकाको मूल्य १० प्रतिशतसम्म महँगिने अनुमान गरिएको छ । दशैंमा खपत हुने खसीबोकाको मागको तुलनामा आपूर्ति कम हुने भएपछि मूल्य वृद्धि हुने देखिएको हो ।

 

चौपाया खरिद विक्री संघका सचिव तथा पूर्वाध्याक्ष दीपक थापा यो वर्ष दशैंमा विगतका वर्षहरुमा भन्दा २५ प्रतिशतले काठमाडौंमा खसी बोका खपत घट्ने बताउँछन् । खपत कम भए पनि आपूर्ति कम हुने भएकाले भाउ भने बढ्ने उनले बताए ।

 

कोरोनाका कारण उपत्यकामा बस्ने अधिकांश मानिस गाउँ पर्किएकाले गाउँघरमा उत्पादित खसी उतै खपत हुने र सरकारले विदेशबाट आयातमा पनि कडाई गरेकाले आपूर्ति कम हुनेछ । जसले गर्दा खसीबोकाको मूल्य बढ्ने सम्भावना रहेको व्यापारीहरु बताउँछन् ।

 

‘यो वर्ष कोरोना भाइरसका कारण उपत्यकाबाट धेरै मानिसहरु बाहिरिएकाले खपत नै कम हुन्छ, उनले भने, ‘ गाउँघरमा उत्पादित खसी उतै खपत हुने र सरकारले विदेशबाट आयातमा पनि कडाई गरेकाले आपूर्ति कम हुने निश्चित छ । जसले गर्दा खसीबोकाको मूल्य १० प्रतिशतले वृद्धि हुन्छ भने उपत्यकामा १५ देखि २० हजार खसी बोका पुग्दैन ।,’ भारतबाट सहज रुपमा खसीबोका ल्यान पहल नगर्ने हो भने बिचौलीयाले खसीबोकाकाको मूल्य झन धेरै बढाउने उनको भनाइ छ ।सरकारले पशुपन्छी आयातमा रोक लगाए पनि भन्सार छलि गरेर लुकिछिपी आयात भइरहेको उनको भनाइ छ ।

 

यो वर्ष दशैँका लागि १५ देखि २० हजार खसीबोका अपुग हुने उनी बताउँछन् । हाल जिउँदो खसी बोकाको मूल्य प्रतिकेजी १५ देखि २० प्रतिशतले बढेको उनले बताए । अहिलेको मूल्यको तुलनामा दशैँसम्म थप १० प्रतिशत मूल्य वृद्धि हुने उनी बताउछन् ।

 

हाल भारतबाट आएका खसीको मूल्य ७ सय रुपैयाँ प्रतिकेजी रहेको छ । नेपालका डडेलधुरा बैतडी, सल्यान लगायतका पहाडी क्षेत्रमा उत्पादित खसीको मूल्य प्रतिकेजी ६३५ देखि ६५० रुपैयाँ पुगेको छ ।इनरुवा लगायत तराई तिरबाट ल्याइने खसीको मूल्य ५८० देखि ६१० रुपैयाँ प्रतिकेजी रहेको छ । बोकाको मूल्य हाल ६०० देखि ६२५ रुपैयाँ प्रतिकेजी रहेको छ ।

 

उनले सरकारले सहजै दशैँका लागि खसी बोका आयात गर्न दिए १० देखि २० प्रतिशतसम्म मूल्य कम हुन जाने बताए । अपुग खसी बोका आयातका लागि केही दिनमै मन्त्रालयमा पत्र पेश गर्ने तयारीमा रहेको उनले बताए ।

 

‘हामीलाई कम खपत भए पनि अझै १५/२० हजार खसीबोका कम हुन्छ, त्यो भारतबाट नल्याएसम्म पूर्ती हुन सक्दैन नत्र महंगीने निश्चित छ,’ पूर्वाध्यक्ष थापाले भने ।

 

उनले हाल पनि चोरिनिकासी गरी जनकपुरबाट खसीबोका आयात गर्ने क्रम चलिरहेको बताए । चोरि निकासीबाट आउदा नाकाहरुमा बढि मूल्य तिर्नु पर्ने र बिचौलिया धेरै हुने भएकाले खसीको मूल्य आकाशीने उनको भनाई छ ।

 

भन्सारबाट ल्याउन नदिदा चोरिनिकासी रुपमा आउने भएकाले यसबाट राज्यलाई समेत घाटा भएको उनले बताए ।उपत्यकामा सामान्यतया दैनिक ७०० देखि ८०० केजी जिउँदो खसी विक्री हुने गरेको छ ।

 

खसीमा बाख्राको मासु मिसाउने ठूलो सम्भावना

 

केही समय अघि खसीको मासुमा बाख्राको मासु मिसाएर विभिन्न व्यवसायीहरुले नाफा कमाएका थिए । यो दशैँमा खसीबोका आयात गर्न नदिए फेरी त्यही गल्ती दोहोरिन सक्ने उनले बताए ।

 

ठूला ठूला सुपरमार्केटहरुले खसीको मासुको प्याकिङमा बाख्राको मासु मिसाउने र त्यसलाई खसीकै मूल्यमा बेच्ने उनले बताए ।‘व्यवसायीहरुले बाख्रा ५०० रुपैयाँ केजीमै पाइने हुँदा खसीको मासुमा बाख्राको मासु मिलाउने गरेका छन्,’ थापाले भने ।

 

उनी नोपालमा खसी बोका पर्याप्त उत्पादन हुने नगरेको बताउछन् । नेपालका पहाडी क्षेत्रमा ३० देखि ३५ प्रतिशत मात्र खसी बोका उत्पादन हुने गरेको उनले दाबी गरे ।

 

सरकार भने नेपाल खसीबोकामा आत्म निर्भर भएको बताउदै आएको छ । पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार नेपालमा आन्तरिक उत्पादन बढ्दै गएसँगै खसी बोका आयात घट्न थालेको छ ।

 

उपत्यकामा वार्षिक ६ लाख खसी–बोका चाहिन्छ । मुलुकभर १ करोड १८ लाख खसी बोका उत्पादन हुन्छ । वार्षिक ३० प्रतिशत अर्थात् ३३ लाख कटनीमा जान्छ । सहकारी संस्थाले पनि पर्याप्त उत्पादन गरेकाले व्यवसायीले जिल्लामा संकलन गर्नुपर्ने उनले बताए । मुलुकभित्र हेटौंडा, कोहलपुर, कटारी, सुर्खेत, नुवाकोट, सिन्धुपाल्चोकबाट पनि खरिद हुन्छ ।

 

ढकालले यो पटक कोभिड १९ का कारणले पनि खसी बोका आयातमा धेरै कमि आउने बताए । ‘खसी बोका आयात विगतको तुलनामा धेरै घटेको छ, यो पटक झन कोभिडका कारण भारतीय खसी बोका आयात गर्ने सम्भावना छैन,’ ढकालले चाणक्य पोष्टसँग भने ‘हाम्रो आन्तरिक उत्पादनले यसको माग धान्न सक्छ, आयात गर्नै पर्छ भन्ने छैन, लुकिछिपी केही आए भने त्यो छुट्टै हो ।’

 

भन्सारमा खसी बोका आयातको कर समेत बढाए पछि नेपाली ग्रामिण भेगबाट ल्याउने खसी र भारतबाट ल्याउनेको मूल्य उस्तै पर्न जाने भएकाले भारतीय खसीबोकाले नेपालमा बजार पाउन नसक्ने बताए ।

 

उनले ग्रामीण भेगबाटै खसी बोका खरिद गर्न सहजीकरणका लागि सहकारीको माध्यमबाट विक्री गर्न थालिएको जानकारी दिए । उनले देशभर ४५ लाखका हाराहारीमा खसी बोका उत्पादन हुने गरेको बताए । उत्पादन भएका मध्य ४५ प्रतिशत मात्र खसी बोका बजारसम्म पुग्ने गरेको छ ।

सिटीजन्स् लाइफको ७५ लाख कित्ता आइपीओ आउँदै Read Previous

सिटीजन्स् लाइफको ७५ लाख कित्ता आइपीओ आउँदै

३ हजार क्षमताको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र धमाधम बन्दै, ७० प्रतिशत काम सम्पन्न Read Next

३ हजार क्षमताको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र धमाधम बन्दै, ७० प्रतिशत काम सम्पन्न