काठमाडौं । करिब ६ महिना लामो लकडाउनका बेला कच्चा पदार्थ अभाव, मागमा कमी लगायत कारण संकटमा परेका खाने तेल उत्पादन गर्ने उद्योगहरू चाडवाड नजिकिएसँगै तंग्रिन थालेका छन् ।
पछिल्लो समय लकडाउन र निषेधाज्ञा खुकुलो भएसँगै धेरै तेल खपत गर्ने होटल, रेष्टुरेन्ट लगायत ठाउँ खुलेको र चाडवाड समेत नजिकिएकाले बजारमा तेलको माग बढेसँगै उद्योगहरुले उत्पादन बढाउन थालेका हुन् ।
विगतमा उत्पादन भएको तेल समेत खपत हुन नसकेर उत्पादन बन्द गरेका उद्योगहरूले अहिले माग बढेसँगै उत्पादन बढाउन थालेका हुन् । लकडाउनको बेला मुस्कीलले २५ प्रतिशमात्र उद्योग संचालनमा रहेका थिए। अहिले अधिकांश उद्योगले उत्पादन शुरू गर्न थालेका हुन् ।
नेपालभर ४० वटाका हाराहारीमा खाने तेल उद्योग रहेका छन् । उक्त उद्योगहरूले कच्चा तेल आयात गरेर त्यसलाई रिफाइन गरी प्याकेजीङ गर्ने गर्छन् । नेपालमा अर्जेन्टिना, मलेसिया, भारत लगायतका मुलुकबाट बढी कच्चा पदार्थ र तेल आयात हुने गर्छन् ।
नेपाल चामल, तेल तथा दाल उद्योग व्यवसायी महासंघका अध्यक्ष सुवोध कुमार गुप्ताले पछिल्लो समय बजार तेल विक्री ३० देखि ४० प्रतिशतले बढेको बताए । उनले फेरि लकडाउन नभएको खण्डमा दशैंतिहारसम्म ७० प्रतिशत विक्री बढ्ने बताए । उनले बजारमा पर्याप्त तेल भएको र पछिल्लो समय बजार उठ्ने क्रममा रहेको बताए ।
‘खाने तेल बजारमा पर्याप्त छ, अहिले विक्री पनि बढेको छ, लकडाउन भएन भने दशै तिहारमा ७० प्रतिशतसम्म विक्री हुन सक्छ,’ गुप्ताले चाणक्य पोष्टसँग भने । उनले तोरीको तेल खासै विक्री नभए पनि सन्फ्लावर लगायता खाने तेल विक्री सुधारिँदै गएको बताए ।
नेपालमा तेलको माग साढे ३ लाख मेट्रिकटनको हाराहारीमा रहेको छ । तेल उद्योगहरूले ५ देखि ८ लाख मेट्रिकटन खाने तेल उत्पादन गर्ने गर्छन् । यसो हेर्दा नेपाल तेलमा आत्मनिर्भर जस्तो देखिए पनि यी सबै उत्पादित तेलका लागि कच्चा तेल आयात हुने गरेका छन् ।
नेपालभर ४० वटाका हाराहारीमा खाने तेल उद्योग रहेका छन् । उक्त उद्योगहरूले कच्चा तेल आयात गरेर त्यसलाई रिफाइन गरी प्याकेजीङ गर्ने गर्छन् । नेपालमा अजेन्टिना, मलेसिया, भारत लगायतका मुलुकबाट बढी कच्चा तेल आयात हुने गर्छन् ।
सो तेलको मूल्य नेपाली बजारमा १५७ रूपैयाँ प्रतिलिटरदेखि २५० रूपैयाँ प्रतिलिटरसम्ममा विक्री हुने गर्छ । विशेष गरी सनफ्लावर र सोयाबिन तेल धेरै आयात हुने गरेका छन् । तोरीको तेल केही मात्रामा नेपालमै उत्पादन हुने गरेको पाइन्छ ।
नेपालमा उद्योगको रूपमा तेल उत्पादन गर्ने धेरै उद्योगहरू छैनन् । नेपालमा थोरै मात्रामा यस्ता कम्पनीहरूछन् जसले तेल उत्पादन गर्छ । जुन नेपालमा तेल उत्पादनका लागि पर्याप्त छैनन् ।
उद्योग विभागका अनुसार २/३ वटा तेल उद्योग मात्र दर्ता भएर सञ्चालनमा रहेका छन् । प्रायः उद्योग विभागमा दर्ता हुने कम्पनीको लगानी १० करोडको हाराहारीमा हुनुपर्ने भएकाले खासै तेल उद्योग दर्ता हुन नआएको विभागले जनाएको छ । नेपालमा तेल साना मिलहरूबाट उत्पादन हुने भएकाले प्रायः मिलहरूघरेलु उद्योगमा दर्ता हुने गरेको विभागले जानकारी दिएको छ ।
आयात भने बढेको बढ्यै
चालू आर्थिक वर्षको २ महिना (साउन र भदौ) मा कुल ९ अर्ब ५१ करोड ३१ लाख रूपैयाँ बराबरको खाने तेल आयात भएको छ । सो अवधिमा १० करोड २० लाख लिटर तेल आयात भएको हो ।
विगतको तुलनामा यो आवमा १ अर्ब १० करोड रूपैयाँ बढी मूल्यको तेल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । तेल आयातको मूल्य वृद्धि भए पनि तेल आयातको मात्रा भने विगतको तुलनामा कम देखिन्छ । गत आवको २ महिनाको तुलनामा यो आवमा ६७ लाख लिटर तेल कम आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब ४१ करोड ३० लाख रूपैयाँ बराबरको खाने तेल आयात भएको थियो । सो अवधिमा १० करोड ८७ लाख लिटर तेल आयात भएको हो । गत आवमा कुल २९ अर्ब ५१ करोड ८२ लाख रूपैयाँ बराबरको खाने तेल आयात भएको थियो । गत एक वर्षमा ३६ करोड ५६ लाख लिटर खाने तेल आयात भएको हो ।
नेपालमा तेल आयात दिनप्रती दिन बढ्दो क्रममा रहेको छ । अर्थमन्त्रालयको २०७६/७७ को आर्थिक सर्वोक्षणले देखाए अनुसार तेलहन बाली लगाइएको क्षेत्रफल १.५ प्रतिशतले घटेको छ । तेलहन बालीको उत्पादन आर्थिक वर्ष २०७५/७६ को भुलनामा १.४ प्रतिशतले ह्रास भई २ लाख ७८ हजार ३ सय २५ मेट्रिकटन पुग्ने भनिएको थियो ।
आर्थिक वर्ष २०७५/७६ मा तेलहन बालीको उत्पादन १४.८ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७६/७७ मा तेलहन बालीको उत्पादन ६.८ प्रतिशतले बढेर १.०८ मेट्रिकटन प्रति हेक्टर रहने मन्त्रालयको अनुमान रहेको थियो ।
आर्थिक वर्ष २०७४/७५ मा २७ अर्ब २३ करोड ८८ लाख रुपैयाँ बराबरको तेल आयात भएको थियो । सो आवमा तेल आयात मार्फत ४ अर्ब ७३ करोड ५२ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
यस्तै, आर्थिक वर्ष २०७३/७४ मा २६ अर्ब ७८ करोड २९ लाख रुपैयाँ बराबरको तेल आयात भएको थियो । सो आवमा तेल आयातबाट ४ अर्ब ५ करोड २८ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
चालू आर्थिक वर्षको २ महिना वितिसक्दा समेत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्षको वार्षिक तथ्यांक निकालिसकेको छैन ।
कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले सबै ठाउँहरूबाट तथ्यांक कम्पाइल भइरहेको बताएका छन् ।‘हामीले तथ्यांक संकलन गरेर मूल्यांकन गरिरहेका छौँ, अब केही दिनमा कम्पायल भएपछि पुस्तीका नै निकाल्ने छौँ,’ उनले चाणक्य पोष्टसँग भने ।