घट्दो बजारमा हाइड्रोको सेयरमा झुम्मिए लगानीकर्ता, १ दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । आज लगानीकर्ताहरू हाइड्रोपावरको सेयरमा झुम्मिएका छन् । पछिल्ला दिनमा बीमा कम्पनी, उत्पादनमूलक लगायत कम्पनीको सेयरमा झुम्मिएका लगानीकर्ता हाइड्रोतर्फ डाइभर्ट भएका हुन्। दुईसाता अघि पनि लगानीकर्ताको आकर्षण हाइड्रोपावरको सेयरमा देखिएको थियो ।

 

तुलनात्मक रूपमा अन्य क्षेत्रका कम्पनीभन्दा हाइड्रोको सेयर मूल्य सस्तो, कोरोनाबाट कम प्रभावित क्षेत्र भएकाले लगानीकर्ता हाइड्रोको सेयरप्रति आकर्षित भएका हुन् ।अहिले पनि केही कम्पनीको मूल्य आइपीओकै हाराहारी अर्थात् १०० रुपैयाँ वरिपरीरहेका छन् ।

 

आज कारोबारमा आएका अधिकांश हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ भने एक दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।लगानीकर्ताहरूले एउटा क्षेत्रका कम्पनीबाट पर्फिट बुक गरेपछि अर्को क्षेत्रतर्फ डाइभर्ट गरेको जानकारहरु बताउँछन् ।

 

हिजो करिब ५ अंकले घटेको सेयर बजारमा आज पनि गिरावट आएको छ । सेयर बजार मापक सूचक नेप्से ७.२१ अंकले घटेर १५५३.६२ बिन्दुमा आइपुगेको छ । यसदिन १९२ कम्पनीको १ अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ रुपैयाँ बराबरको कारोबार भएको छ । ७३ लाख ५ हजार १११ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ९ समूहको परिसूचक ओरालो लागेका छन् । आज हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै २८.०५ अंकले बढेको छ भने निर्जीवन समूहको परिसूचक ४४.९९ अंकले घटेको छ ।

 

आज लगानीकर्ताको रोजाइमा अरुण काबेली हाइड्रोपावरको सेयर परेको छ । यसको सबैभन्दा धेरै १७ करोड ४१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा हिमाल दोलखा हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनीको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज एक दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरूमा ११ कम्पनी हाइड्रोपावर रहेका छन् । जोशी, हिमालयन ऊर्जा, आँखुखोला, घलेम्दी लगायत १२ कम्पनीका सेयर सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

आज सपोर्ट माइक्रो फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ३.६२ प्रतिशत गुमाएका छन् ।

काठमाडौं उपत्यकामा ‘एक घर एक गुर्जोका बिरूवा’ अभियान शुरू Read Previous

काठमाडौं उपत्यकामा ‘एक घर एक गुर्जोका बिरूवा’ अभियान शुरू

संकटमा परेका खाने तेल उद्योग चाडवाड नजिकिएसँगै तंग्रिँदै, विक्री ४० प्रतिशतले बढ्यो Read Next

संकटमा परेका खाने तेल उद्योग चाडवाड नजिकिएसँगै तंग्रिँदै, विक्री ४० प्रतिशतले बढ्यो