असोज १५ देखि सुपथ मूल्य पसल सञ्चालन हुने, बजार मूल्य भन्दा सस्तोमा सामान पाइने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यही साताबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले असोज १५ गतेदेखि साल्ट ट्रेडिङ र दुग्ध संस्थानसँग समन्वय गरेर सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो ।

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रपशाद सुवेदीले यो पटक साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसँग सहकार्य गरी उपत्यका भित्र १३ स्थानबाट सुपथ पसल सञ्चालन गरिने बताए ।

 

उनले खाद्य कम्पनीले ५, साल्ट ट्रेडिङले ५ र दुग्ध विकास संस्थानले ३ गरी १३ स्थानबाट सुपथ पसल सञ्चालन गरिने बताए ।‘हामीले साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसँग सहकार्यगरी १३ ठाउँमा सुपथ पसल सञ्चालन गर्न लागेका छौँ, अन्य डिलर, बुथ तथा डिपार्टमेन्टहरुले पनि चाहे भने उनीहरुसँग पनि सहकार्य गरी सक्दो धेरै ठाउँबाट सुविधा प्रदान गर्ने कोशिसमा लागेका छौँ,’ उनले चाणक्य पोष्टसँग भने ।

 

खाद्य कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानबाट सञ्चालन हुने सुपथ मूल्यका पसलहरुमा बजार मूल्यभन्दा ५ देखि १० प्रतिशत सहुलियतमा खाद्य वस्तु विक्री वितरण गरिने उनले बताए ।

 

उनका अनुसार कुन वस्तुमा कति सहुलियत दिने भन्ने कुरा अझै निश्चित भइसकेको छैन । उनले मन्त्रालयबाट निर्णय भएपछि औपचारिक रुपमै सुपथ मूल्य पसल घोषणा गरिने बताए ।

 

सरकारले प्रत्येक वर्ष निजी क्षेत्रलाई समेत समेटेर दशैंलक्षित सुपथ मूल्यको पसल सञ्चालनमा ल्याउने गरेको छ ।सहुलियत पसलका अलवा खाद्य र साल्ट ट्रेडिङबाट यस वर्षको दशैंमा सहुलियत घुम्ती पसल सेवा पनि सञ्चालन गर्ने कम्पनीको भनाइ छ । त्यस्ता पसलमा नुन, चामल, चिनी, गेडागुडीदेखि खसी बोकासमेत छुट मूल्यमा पाइने छ ।

 

गत वर्ष उपत्याकामा तीन वटा घुम्ती पसलसहित साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थाले सञ्चालन गर्ने गरी देशभर ७३ वटा पसल सञ्चालनमा आएको थियो । दशैंअघि सञ्चालनमा आउने सहुलियत पसल छठपछि मात्रै बन्द हुन्छ ।

 

३ हजार खसी र च्याङ्ग्रा ल्याउँदै

 

यो दशैँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ हजार खसी च्याङग्रा खरिद गर्ने भएको छ । खाद्य कम्पनीले १४ सय च्याङ्ग्रा र १६ सय खसी खरिद गर्ने तयारी गरेको हो ।

 

कम्पनीले प्रत्येक वर्ष बजारमा खसीच्याङग्रा अभाव नहोस् भनेर केही मात्रामा खसी च्याङग्रा आफैले किसानबाट किनेर बजार मूल्यभन्दा केही सहुलियतमा बेच्ने गरेको छ ।

 

खसी च्याङग्रा खरिदको संख्या तोकिए पनि यसको लागत मूल्य अझै नतोकिएको खाद्य कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपानेले जानकारी दिइन् । सधैं च्याङग्रा मुस्ताङबाट ल्याइने गरेको छ । खसी च्याङग्रा कहाँबाट ल्याउने भन्ने कुरा अझै निश्चित भएको छैन । कोभिडका कारण यो पटक खसीको मूल्यमा केही फरक आउने सक्ने उनी बताउँछिन् ।

 

उनका अनुसार यो पटक कोभिडका कारण किसानहरूले खसीको मूल्यमा केही वृद्धि गर्न सक्ने अनुमान गरिएको छ । ‘यो वर्ष कोभिड १९ का कारण धेरै समस्या रहेको छ, गाउँ गाउँबाट खसी च्याङग्रा ल्याउनु चुनौती पनि रहेको छ, तर हामी सधैं जस्तो खसीच्याङग्रा किनेर विक्री गर्ने छौँ,’ सूचना अधिकारी न्यौपानेले चाणक्य पोष्टसँग भनिन् ‘खसी च्याङग्राको मूल्यमा पहिले भन्दा ठूलो अन्तर त आउँदैन तर, ढुवानी र किसानले तोक्ने मूल्यका कारण केही फरक हुन सक्छ ।’

 

उनले यो पटक खसीच्याङग्रा घटस्थापनासम्म आइपुग्ने बताइन् । खाद्य कम्पनीले सधैं नेपालगञ्ज, हेटौंडा, दाङ लगायतका ठाउँहरूबाट खसी खरिद गर्ने गरेको छ ।

प्रफिट बुक गर्ने हाबी हुँदा सेयर बजारमा गिरावट, कारोबार रकम डेढ अर्ब घट्यो Read Previous

प्रफिट बुक गर्ने हाबी हुँदा सेयर बजारमा गिरावट, कारोबार रकम डेढ अर्ब घट्यो

ओम्नीको पक्षमा सर्वाेच्च अदालत, कालोसूचीमा नराख्न अन्तरिम आदेश Read Next

ओम्नीको पक्षमा सर्वाेच्च अदालत, कालोसूचीमा नराख्न अन्तरिम आदेश