काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबार ४ अंकले बढेको बजार आज करिब ५ अंकले घटेको छ । प्रफिट बुक गर्ने हाबी हुँदा बजारमा करेक्शन आएको अनुमान गरिएको छ ।
सूचकसँगै कारोबार रकम पनि ह्वात्तै घटेको छ । हिजोको तुलानमा आज कारोबार रकम १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीले घटेको छ ।
सेयर बजार मापक सूचक नेप्से ४.७३अंकले घटेर १५६०.८३ बिन्दुमा आइपुगेको छ । यसदिन १९१ कम्पनीको १ अर्ब ६९ करोड १ लाख ५४ हजार ५३४ रुपैयाँ बराबरको कारोबार भएको छ । ६९ लाख ९७ हजार ४२० कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये फाइनान्स र विकास बैंक समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी १० समूहको परिसूचक ओरालो लागेका छन् । आज फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ११.४१ अंकले बढेको छ भने जीवन समूहको परिसूचक ५२.५१ अंकले घटेको छ ।
आज लगानीकर्ताको हिमाल दोलखा हाइड्रोपावरको सेयर परेको छ । यसको सबैभन्दा धेरै ९ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल पुर्नबीमा र अरुण भ्याली हाइड्रोपावरको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज नेपाल फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
आज पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ५.१७ प्रतिशत गुमाएका छन् ।