काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत औषधि व्यवस्था विभागले थप ९ प्रकारका ह्यान्ड सेनिटाइजर विक्री वितरणमा रोक लगाएको छ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको सेनिटाइजरको नमूना परीक्षणमा ९ प्रकारका स्यानिटाइजरमा रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न विभागले सूचना मार्फत आग्रह गरेको हो ।
विषाक्त रसायन मेथानल मिश्रण गरेको भेटिएकोले मानव स्वास्थ्यमा हानी पुर्याउने भन्दै विभागले त्यस्ता सेनिटाइजर प्रयोग नगर्न भनेको हो।
विभागले ओम आरोग्य हेल्थ केयर प्राइभेट लिमिटेड इमाडोल ललितपुर, कुमकुम हर्बल इन्ड्रस्टिज प्राइभेट लिमिटेड बनेपा काभ्रे, साधना सप्लायर्स काठमाण्डौ, कालिका सप एण्ड केमिकल प्राइभेट लिमिटेड काठमाडौं लगायतले उत्पादन गरेका ९ प्रकारका ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न विभागले आग्रह गरेको छ ।
त्यस्ता सेनिटाइजर सर्वसाधारणहरूले प्रयोग नगर्न, नगराउनु हुन र त्यस्ता सेनिटाइजरहरूको उत्पादन तथा विक्री वितरण अविलम्ब रोक्का राख्नसमेत विभागले आग्रह गरेको छ।यसअघि पनि मापदण्ड विपरीतका सेनिटाइजर बजारमा आएपछि विभागले विक्री वितरणमा रोक लगाएको थियो।
यसअगाडि पनि विभागले विभिन्न ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरमा रसायन भेटेपछि उत्पादन र प्रयोगमा रोक लगाइसकेको छ ।
