काठमाडौं । नेपाललाई कृषि प्रधान देश भनिए पनि अहिलेसम्म आत्मनिर्भर हुन सकेको छैन । सरकारले वषौंदेखि कृषिमा आत्मनिर्भरको नारा घन्काउँदै आए पनि कृषि क्षेत्रलाई व्यवसायीकरण र आनुनिकीकरण गर्न नसक्दा त्यो नारामै सीमित हुँदै आएको हो ।
सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषि मैत्री वातावरण निर्माण गर्न नसक्दा यो पेशा व्यावसायिक हुन नसकी निर्वाहमुखी मात्रै हुँदै आएको कृषि विज्ञहरू बताउँछन् । कृषि प्रधान मुलुक भनिए पनि दशकौंदेखि कृषकले खेती गर्ने समयमा आवश्यक मल, बीउ, कृषि औजार लगायत सामग्री पाउन सकेका छैनन् । यसले सरकारकै नारालाई गिज्याइरहेको छ ।
पछिल्लो केही वर्षदेखि कृषिमा उत्पादन बढाउने सरकारको चाहाना किसानले पूरा गरे पनि सरकारले भने किसानालाई प्रोत्साहित गर्नुको सट्टा पेशाप्रति नै वितृणा जाग्ने वातावरण बनाइदिएको छ । कृषकले ठूलो परिश्रम र लगानी गरेर वस्तु उत्पादन गरे पनि त्यो उत्पादन बजारसम्म पुग्न वातावरण नहुँदा कृषकले करोडौं नोक्सानी व्यहोर्दै आएका छन् ।
स्वदेशमै उत्पादिन कृषि उपजको बजारीकरण गर्न नसकेको सरकारले विदेशबाट तरकारी आयात गर्न भने कुनै बन्देज लगाएको छैन । आयातमा कडाई नगर्दा स्देशमा उत्पादित तरकारी खेर जाने तर, भारत लगायत मुलुकबाट ल्याएको विषदियुक्त तरकारी भने निर्बाध महँगोमा विक्री हुँदै आएको छ ।
अझ पछिल्लो समय देशभर लगाइएको लकडाउनले गर्दा कृषकले उत्पादन गरेका उपज खेतीमै कुहिएर सडे । त्यसलाई बजारसम्म पुर्याउन पहल नगर्दा किसानले ठूलो क्षति व्यहोर्न बाध्य भए ।
स्वदेशमै उत्पादिन कृषि उपजको बजारीकरण गर्न नसकेको सरकारले विदेशबाट तरकारी आयात गर्न भने कुनै बन्देज लगाएको छैन । आयातमा कडाई नगर्दा स्देशमा उत्पादित तरकारी खेर जाने तर, भारत लगायत मुलुकबाट ल्याएको विषदियुक्त तरकारी भने निर्बाध महँगोमा विक्री हुँदै आएको छ ।
यो वर्ष कोभिडका कारण लकडाउन अथवा निषेधाज्ञा भए पनि तरकारी आयात विगतको तुलनामा वृद्धि भएको भनसार वभागको तथ्यांकले देखाएको छ ।
चालू आर्थिक वर्षको यो दुई महिनामा मात्रै ६ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बराबरको तरकारी आयात भएको छ । सो अवधिमा १४ करोड ४९ लाख केजी तरकारी आयात भएको हो ।
गत आवको सोही महिनामा ५ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको तरकारी आयात भएको थियो । सो अवधिमा १५ करोड ७० लाख केजी तरकारी आयात भएको थियो । गत आर्थिक वर्षमा कुल ३३ अर्ब ५ करोड ७० लाख रुपैयाँ बराबरको तरकारी आयात भएको थियो । सो वर्ष ८७ करोड ३४ लाख केजी तरकारी आयात भएको थियो ।
तरकारी उत्पादन यो पटक वृद्धि भए पनि बजारीकरण हुन नसक्नु सरकारको कमजोरी रहेको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेत बताउँछन् । ‘यो पटक कृषि फार्महरू धेरै विकास भएका छन्, त्यससँगै उत्पादन पनि निकै वृद्धि भएको हो तर, कोभिडका कारण भर्खर कृषि शुरू गरेकाहरूका लागि यो चुनौती बनेको छ,’ अध्यक्ष बस्नेतले चाणक्य पोष्टसँग भने ।
तरकारी व्यवसायी अनुग्राहा मल्टीप्रपोज फामका सञ्चालक अमृत सुब्बा तरकारी उतपादन जति वृद्धि भए पनि बिचौलियाका कारण किसानले नाफा कमाउन नसक्ने बताउँछन् । उनले किसानले ३० रुपैयाँमा बेच्ने गोलभेँडा बजारमा उपभोक्तासम्म पुग्दा ७० रुपैयाँ पर्न जादा किसानले त्यस बीचको कुनै नाफा नलिई बिचौलिया र व्यवसायीले नाफा लिने गरेको बताए ।
‘नेपालमा तरकारी मात्र खेती गरेर खान्छु भन्न गाह्रो छ, हामीले बेचेको मूल्यमा व्यवसायीले ३५ रुपैयाँ नाफा खाएर उपभोक्तालाई बेच्छ, यस्तै हो भने खेती गरेर जीवन आर्जन गर्न सकिदैन,’ सुब्बाले चाणक्य पोष्टसँग भने ।
गत वर्षको सर्वेक्षणका अनुसार गत वर्ष फलफूल १२ लाख ४९ हजार मेट्रिकटन उत्पादन भएको थियो । तरकारी ४० लाख ८९ हजार मेट्रिकटन उत्पादन भएको वार्षिक सर्वेक्षणले देखाएको छ ।
कृषकले उत्पादन गरेको फलफूल बोटमै कुहिँद, तर आयात बढेको बढ्यै
यस्तै, चालू आर्थिक वर्ष २०७७/७८ को दुई महिना (साउन र भदौ) मा कुल २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको छ । सो अवधिमा ३ करोड ५० लाख केजी फलफूल आयात भएको हो । गत आवको सोही अवधिमा ३ अर्ब ६३ करोड ८६ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको छ । सो अवधिमा ५ करोड १७ लाख ६५ हजार केजी फलफूल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा कुल २० अर्ब ७४ करोड ६२ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको थियो । सो वर्ष २८ करोड ४ लाख केजी फलफूल आयात भएको थियो ।
आर्थिक वर्ष २०७५/७६ मा कुल १४ अर्ब ५९ करोड १८ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सरकारले फलफूलमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रम ल्याउने गरे पनि आयत भने कम गर्न सकिएको छैन । नेपालमा वार्षिक अर्बौँका दरले फलफूल आयात बढ्दो क्रममा रहेको छ ।
हाल हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा, मुस्ताङ दगातका जिल्लामा स्याउँ खेती भइरहेको छ । नेपालमा स्याउँ उत्पादन हुने गरेपनि त्यसको बजार विस्तार गर्न नसक्दा अझै पनि स्याउँमा आत्म निर्भर हुन सकेको छैन ।
राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतका अनुसार पछिल्लो समय फलफूलको उत्पादन घटेको छ । उनले स्याउनको उत्पादन केही प्रतिशतले घटेको भए पनि केराको भने उत्पादन वृद्धि भएको बताए । अमिलो खालका फलफूलहरूमा किरा लागेकाले यो वर्ष उत्पादनमा कमि आउने उनले बताए ।
‘फलफूलमा स्याउनको उत्पादन घटेको छ, केरोको केही वृद्धि भएको थियो तर, त्यो बजारसम्म पुर्याउन सकिएन धेरैको फलफूल बारीमै कुहेर सकियो,’ बस्नेतले चाणक्य पोष्टसँग भने ।
चितवनस्थित बनाना क्याफेका सञ्चालक यज्ञप्रसाद सुवेदी यो पटक विगतको तुलनामा केराको उत्पादन धेरै भएको बताउँछन् । चितवनमा मात्र डेढ अर्ब रुपैयाँ बराबरको केराको कारोबार हुने गरेको छ । यो पटक केराको कारोबारमा ३५ प्रतिशतसम्म घाटा भएको उनले बताए । किसनका खेतमा उत्पादन भएका केराहरू बजारसम्म पुग्न नसक्दा खेतबारीमै कुहिनु परेको उनले बताए ।
२० वर्षदेखि केरा उत्पादन गर्दै आएका सुवेदीले यो पटक केरामा किसानले कुनै मुनाफा कमाउन नसकेको बताए ।‘मैले उत्पादन गरेको केरा बजारसम्म लग्न नपाएर खेतबारीमै कुहियो, कति बादरले आयएर खाए, मलाई मात्र ४० प्रतिशतसम्म घाटा भएको छ, अरुको झन कस्तो भयो होला?,’ उनले चाणक्य पोष्टसँग भने ।
७० विगा जमिनमा उनले प्रति बिगाहा २ हजार बोटका दरले १ लाख ४० हजार बोट केरा रोपेका थिए । उनले रोपेको केरा मध्ये ४० प्रतिशत केरा लकडाउनका कारण बजारसम्म पुर्याउन नसक्दा खेतमै विग्रेको छ । चितवनका किसानहरूले केरा खेतीबाट १५ देखि २० प्रतिशत नाफा कमाउने गरेका थिए । तर, यो पटक लकडाउन र निषेधाज्ञाका कारण त्यो मुनाफा किसानले कमाउन नसक्ने उनले बताए ।
चितवनमा मात्र ४ हजार बिगाहा क्षेत्रफलमा केराको व्यवसायीक खेती गरिन्छ । सरकारले वर्षेनी आफै केराको विरुवा बाड्ने भए पनि त्यसको बजारीकरणको कुनै वास्ता नगर्दा किसान मारमा पर्न गएका छन् ।
नेपालमा भारतबाट ५० प्रतिशत केरा आयात हुने गरेको छ । सरकारले फलफूल उतपादनलाई बजारीकरण गर्न आफै किन्नु पर्ने अथवा भारतको आयात रोके मात्र नेपालमा उत्पादिन फलफूलले बजार पाउने उनले बताए ।
‘भारतबाट मात्र ५० प्रतिशत केरा आयात हुन्छ, हामीले उनीहरूसँग कम्पीटिसन गर्न सक्दैनौँ, कि आयात बन्द गर्नु पर्यो कि सरकार आफैले हाम्रो लागत मूल्य तिरेर किन्नु पर्यो नत्र हामी घाटामा छौं,’ सुवेदीले भने ।