काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीमा अधि तरलता भएपछि बैंकहरु बीच सस्तो ब्याजदरमा सेयर कर्जा प्रवाह गर्ने प्रतिस्पर्धा चलेको छ ।
यसैबीच निजी क्षेत्रको अग्रणी नबिल बैंकले वार्षिक ७.७५ प्रतिशत ब्याजदरमा नबिल सेयर कर्जा योजना ल्याएको छ ।
बैंकले यस योजना अनुसार ७.७५ प्रतिशत ब्याजदरमै ५० लाख अथवा सोभन्दा बढी कर्जा दिने जनाएको छ । दशैंकको अवसरमा यस्तो योजना ल्याइएको बैंकले जनाएको छ ।
राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट सेयर धितो कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
नेपाल धितोपत्र बजारमा कारोबार हुने सेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउन पाँउदा गौरवान्वित भएको बैंकको भनाइ छ ।
बैंकले हाल देशभरका ११९ शाखाहरु र १८५ एटीएम काउण्टरहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।