काठमाडौं । दोस्रो बजारमा सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी युनिलिभर नेपालले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको शुक्रबार अनलाइन माध्यमबाट सम्पन्न भएको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई प्रतिसेयर १०० रुपैयाँको दरले नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको लाभांश पछिल्लो १ दशक यताकै कम हो भने अघिल्लो आर्थिक वर्षकोभन्दा ५५० प्रतिशत कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ७७० प्रतिशत नगद लाभांश दिएको थियो ।
कोरोनाका कारण गत वर्ष युनिलिभरको व्यापार खुम्चिएसँगै मुनाफा पनि ह्वात्तै घटेको थियो । नाफा घटेसँगै कम्पनीले सेयरधनीले पाउने लाभांश पनि ह्वात्तै घटाएको हो ।

युनिलिभर नेप्सेमासूचीकृत कम्पनी मध्ये सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो । आज यसको सेयर दोस्रो बजारमा प्रतिकित्ता १९ हजार ७९२ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । कम्पनीले आगामी ४५ दिनभित्र साधारण्सभा गरिसक्ने जनाएको छ ।
युनिलिभरले साधारणसभा प्रयोजनका लागि आगामी कात्तिक २७ गते बुक कलोज मिति तोकेको छ । तसर्थ, कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।