१५ सय सहकारीले दिए ब्याजमा १० प्रतिशत छुट, कृषि नोक्सानी घटाउन यसरी खेले ठूलो भूमिका

काठमाडौं । बैंकहरूले जस्तै सहकारीले पनि आफ्ना ऋणीलाई ब्याजमा १० प्रतिशत छुट दिएका छन् ।

 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीक ऋणीलाई लकडाउन अवधिको ब्याजमा १० प्रतिशत छुट दिएको जानकारी दिए । उनका अनुसार कोभिडको समयमा देशभरका १५ सय बढी सहकारीहरूले ऋणको ब्याजदरमा छुट दिएका हुन् ।

 

यसका साथै धेरै कृषि सहकारीहरूले कृषितर्फ समेत योगदान पुर्याएका छन् । कोभिड १९को लकडाउन अवधिमा तरकारी, दूध, मह, चिया, फलफूल लगायतका वस्तुहरू धेरै नष्ट भएको उनले बताए ।

 

सो अवधिमा १७ लाख किलो कृषि सामग्री नष्ट भएका छन् । किसानहरूले लकडाउनका समयमा दैनिक डेढ करोड रुपैयाँ घाटा बेहोर्नु परेको उनले जानकारी दिए ।

 

दुग्ध क्षेत्रमा मात्र हेर्ने हो भने दैनिक ७ लाख लिटर दूध उत्पादन हुने गरेकोमा लकडाउनले ढुवानी तथा माग दुवैै घट्दा ३ लाख लिटर दूध मात्र विक्री भएको थियो। सहकारीले किसानहरूबाट दूध किनेर बजारसम्म पुराउन सहयोग गरेका थिए । अन्य बाँकी दूध किसानहरूले फ्याक्नु पर्ने बाध्यता भएको उनले बताए ।

 

‘हामीले कृषि तर्फ यो कोरोनाको समयमा धेरै ठाउँबाट सहयोग गर्यौं, धेरै तरकारी दूध जन्य वस्तुहरू बजारीकरणमा हाम्रै कारणले सफल भयो, नत्र नष्ट गर्नु भन्दा किसानसँग अर्को उपाय थिएन,’ उनले चाणक्य पोष्टसँग भने ।

 

उनले मकवानपुरमा ११ लाख काउली खेर गएको बताए । कतिपय काउली खेतमै कुहिने अवस्थामा पुगेपछि किसानले ५ रुपैयाँ किलोमा सहकारीलाई काउली विक्री गरेको उनको भनाइ छ ।

 

लकडाउनमा विराटनगरको कटरीमा १ हजार ट्रक गोलभेँडा खेर गएको थियो । व्यापारीले ६ रुपैयाँ किलो किनेर ५० रुपैयाँ केजी गोलभेँडा विक्री गरेको पाइएको उनले बताए । विराटनगरमा प्रदेश सरकारले गाडी उपलब्ध गराएपछि जिल्ला सहकारीले समन्वयन गरेर त्यही गोलभेँडा १२ रुपैयाँ किलोमा किनेर १५ रुपैयाँमा बेच्ने काम गरेको थियो ।

 

६० ट्रकको दरले २ हप्ता गोलभेँडा सप्लाइ गरेर किसानलाई राहत प्रदान गरिएको उनले बताए । २ नम्बर प्रदेशमा पनि सहकारी र प्रदेश सरकार मिलेर तरकारी सप्लाई गर्ने काम भएको थियो । ५ नम्बर प्रदेशमा प्रदेश मन्त्रीसँग समन्यन गरी १४/१५ गाडी सहयोगमा तरकारी, फलफूल संकलन गरेर विक्री गरिदिने काम भएको थियो ।

 

चियामा ६ लाख क्वीन्टल खेर गएको उनले बताए । चैत महिनामा चिया टिप्ने बेलामा लक डाउन शुरू भएपछि भनेजति चिया टिप्न र प्रशोधन गर्न सकिएको थिएन । यस्तै सहकारी मार्फत २ हजार क्वीनटल मह उत्पादन हुँदै आएको थियो । लकडाउनकै कारण मह काडेर बजारसम्म पुर्याउन नपाउँदा ५ सय क्वीन्टल मह खेर गएको उनले बताए ।

 

‘सहकारीले हरेक स्थानीय तहबाट किसानहरूलाई सहयोग गरेको छ, हामीले त्यति नगरेको भए त्यो पनि नष्ट गर्नु पर्ने अवस्था आएको थियो,’ अध्यक्ष कडेलले भने ।१२ सय बढी सहकारीले स्थानीय सरकारसँग समन्वयन गरेर १० करोड बढी सहयोग उपलब्ध गराएको उनले बताए । संघीय सरकारको खातामा ११ लाख ११ हजार रुपैयाँ रकम समेत सहयोग गरेको उनले बताए ।

 

धेरै सहकारीले ब्याजमा छुट दिने, हर्जना नलिने, किस्ताको समय पछि सम्म दिने लगायत कामहरू गरेका छन् । सहकारी महासंघले सरकासँग सफ्ट लोन मागेको भए पनि त्यो अझै पाउन नसकेको उनले बताए ।‘हामीले सफ्ट लोन मागेका थियौ त्यो भएन, लिक्वीटी फममा पैसा राखिदिनु हामी फिर्ता गछौँ, भनेका थियौँ त्यो पनि भएन,’ उनले भने ।

 

सफ्ट लोन सहकारी मार्फत भए त्यसबाट स्थानीय तहका किसानसम्म पुर्याउन सकिन्ने उनले बताए । राज्यले सहकारी मार्फत सहकार्य गरेर जाने हो भने कृषिलाई अघि बढाउन र रोजगार सृजना गर्न सकिने उनले बताए ।

 

हाल सहकारीले प्रत्यक्ष १ लाखलाई रोजगारी दिएको छ । सहकारीले कृषक तथा उपभोक्तालाई राहत मिल्ने गरी काम गरेको उनको दाबी छ । १ हजार बढी सहकारीले १० हजार कृषि घरपरवारलाई सेवा प्रदान गरेको उनले बताए ।

एनआइसी एशियाले ऋणीलाई दियो भाखा नाघेका कर्जाको ब्याजदर घटाउने अवसर Read Previous

एनआइसी एशियाले ऋणीलाई दियो भाखा नाघेका कर्जाको ब्याजदर घटाउने अवसर

कोरियाले इपीएस कानूनमा परिवर्तन गर्दै, ५ वर्ष काम गरेर स्वदेश फर्केपछि फेरि १ महिनामै जान पाउने Read Next

कोरियाले इपीएस कानूनमा परिवर्तन गर्दै, ५ वर्ष काम गरेर स्वदेश फर्केपछि फेरि १ महिनामै जान पाउने