काठमाडौं । सिभिल बैंकले किसानहरूको समृद्धिका लागि किसान समृद्धि कार्डको सुविधा संचलनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने निती अनुरूप सम्पूर्ण कृषकहरूको समृद्धिका लागि बैंकले यस कार्ड सेवाको शुरूवात गरेको हो ।
कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रूपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोही खाताबाट कर्जाको रूपमा बढि रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ । यो ऋण सुविधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रूपमा राख्न सकिन्छ र प्रति कृषक परिवार ५ लाखसम्मको ऋण सुविधा उपलब्ध गराइन्छ ।
यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा सम्पर्क गरी बचत खाता खोल्नु पर्नेछ । उक्त खातामा ग्राहकको वचत भएसम्म बैंकले ब्याज प्रदान गर्ने छ भने यदि खातामा भएको वचत भन्दा बढि रकम झिकेमा बैकलाई ब्याज बुझाउनु पर्ने हुन्छ । हरेक त्रैमासको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खुद ब्याज रकमको गणना हुनेछ ।
यो ऋण सुविधा कृषिलाई मुख्य पेशाका रूपमा अँगाल्ने कृषकहरूलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइने छ जुन आफूलाई रकम आवश्यक परेको वखतमा सजिलै उपयोग गर्न सकिनेछ । यो ऋण सुविधाका लागी कुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन ।
नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार यस सुविधाको ब्याजदरमा ५% अनुदान प्राप्त हुने भएकोले न्यून ब्याजदर मै यो सुविधा उपभोग गर्न सकिनेछ । हाल कोरोनाको कारणले सृजित विषम परिस्थितिमा कृषि स्वरोजगार मार्फत कृषि उत्पादन बढाउन सहयोग र प्रोत्साहन गर्न बैंकले यो ऋण सुविधा ल्याएको हो ।
बैंकले हाल देशभरका ११४ वटा शाखाहरू तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखा रहित बैंकिंङ सेवा काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।