नबुझी प्रि-सेसनमा सेयर कारोबार गर्दा लगानीकर्ता फस्दै

काठमाडौं । दैनिक नियमित सेयर कारोबार शुरू हुनुभन्दा पहिलेको ‘प्रि ओपन सेसन’मा सेयर मूल्य ह्वात्तै बढेर कारोबार हुने गरेपछि केही नयाँ एवं विषय थाहा नपाएका लगानीकर्ताहरू फस्ने गरेको देखिएको छ ।

 

लकडाउन यता बजारले केही गति लिन थालेपछि प्रि सेसनमा कारोबार हुने कम्पनीहरूको सेयर मूल्य ५ प्रतिशत हाराहारीले बढ्ने गरेको छ । प्रि सेसन लगत्तै कारोबार खुल्दा त्यही मूल्यमा कारोबार खुल्ने हुँदा केही लगानीकर्ताहरूले उच्च मूल्यमा सेयर किन्ने गरेको देखिएको छ ।

 

प्रि-सेसन पनि सेयर बजारको कारोबारको हिस्सा नै भएको हुँदा यस्तो समयमा सेयर मूल्य बढ्ने वा घट्ने भन्ने कुरा लगानीकर्ताको मनोविज्ञान कै विषय भएको हुँदा यो सेसनमा आउने उतारचढावलाई अन्यथा मान्न नहुने नेप्सेको बुझाइ छ ।

 

पछिल्ला केही साता यता प्रिसेसनमा बजार उच्च अंकले बढ्ने तर, नियमित सेसनमा घट्ने र प्रिसेसनमा ठूलो गिरावट आउने तर नियमित सेसनमा बढ्ने गरेको देखिन्छ । यसो हुँदा सेयर बजारमा भर्खर छिरेका नवप्रवेशी तथा बजारसम्बन्धी ज्ञान नभएका लगानीकर्ता फस्ने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै प्रयोगमा ल्याइएको भए पनि यस सम्बन्धी ज्ञान नहुँदा लगानीकर्ता फस्ने गरेका हुन् ।

 

यसै विषयलाई लिएर प्रि सेसनको कारोबार नै बन्द गर्नुपर्ने आवाज समेत केही लगानीकर्ताले उठाउन थालेका छन् । तर, नेप्सेले भने यस्ता कारोबार विश्वभरी नै चल्ने हुँदा नेपालमा पनि त्यही अनुसार चालू भइरहेको बताउँछ ।

 

‘यो हाम्रोमा मात्र होइन । विश्वभरी नै धेरै अध्ययन अनुसन्धान भएर यस्तो कारोबारको प्रणाली शुरू गरिएको हो । र, यो नयाँ विषय पनि होइन,’ नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले चाणक्य पोष्टसँग भने ।

 

सामान्य दैनिक काराबार बन्द भएपछि बजारलाई सकारात्मक वा नकारात्मक प्रभाव पार्ने समाचार आउन सक्ने भएकाले त्यस्तो समाचार अनुरूप बजारले आफूलाई ‘एडजस्ट’ गरोस् भनेर प्रि सेसनको कारोबार राखिएको नेप्से बताउँछ ।

 

‘यदि प्रि सेसन नहुने हो भने बजारलाई सकारात्मक वा नकारात्मक प्रभाव पार्ने समाचार बजारमा एडजस्ट हुनै पाउँदैन । सामान्य समयमा मात्र कारोबार हुँदा यस्ता प्रभावहरू त्यसै अड्किने हुँदा यो सेसनलाई अपरिहार्य नै मानिएको छ, विश्वभरी नै,’ प्रवक्ता पराजुलीले भने,‘पछिल्लो समय बजारमा केही बुलिस ट्रेण्ड देखिएको हुँदा सामान्य समयमा बजार थप बढ्ने आंकलन लगानीकर्ताले गर्दा सेयर मूल्य बढ्न गएको हो । बजार वियरिस ट्रेण्डमा हुन्थ्यो भने त्यसको ठ्याक्कै उल्टो हुन्थ्यो ।’

 

प्रि सेसन पनि सेयर बजारको कारोबारको हिस्सा नै भएको हुँदा यस्तो समयमा सेयर मूल्य बढ्ने वा घट्ने भन्ने कुरा लगानीकर्ताको मनोविज्ञान कै विषय भएको हुँदा यो सेसनमा आउने उतारचढावलाई अन्यथा मान्न नहुने नेप्सेको बुझाइ छ । ‘यो सेसन प्राइस फर्मेशनको लागि महत्वपूर्ण छ,’ पराजुलीले भने ।

 

नेप्सको प्रि सेसनमा खरिद र विक्री अर्डर साढे १० बजे हाल्न सकिन्छ भने कारोबार पौने ११ बजेदेखि शुरू हुन्छ । दैनिक सेयर कारोबार भने ११ बजे देखि शुरू हुने गरेको छ ।

सेयर बजार कमब्याक, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट, कारोबार भने १ अर्ब बढी घट्यो Read Previous

सेयर बजार कमब्याक, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट, कारोबार भने १ अर्ब बढी घट्यो

अब सरकारले प्याज प्रतिकिलो ६० रुपैयाँमै बेच्ने, एक जनाले कति किलो किन्न पाउँछन् ? Read Next

अब सरकारले प्याज प्रतिकिलो ६० रुपैयाँमै बेच्ने, एक जनाले कति किलो किन्न पाउँछन् ?