काठमाडौं । सेयर बजार लयमा फर्केको छ । अघिल्ला दुई दिनमा करिब २६ अंकले घटेको बजार आज लयमा फर्केको हो ।
सूचकमा सुधार आए पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम १ अर्ब १० करोडले गिरावट आएको छ ।
सेयर बजार मापक सूचक नेप्से ९.३७ अंकले बढेर १५५५.५३ बिन्दुमा पुगेको छ । यसदिन १९४ कम्पनीको १ अर्ब ७२ करोड ७८ लाख २१ हजार ७०६ रुपैयाँ बराबरको कारोबार भएको छ । ५८ लाख ६२ हजार ६१७ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये होटल समूह बाहेक अन्यसबै समूहको परिसूचक उकालो लागेका छन् । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ९४.६८ अंकले बढेको छ भने होटल समूहको परिसूचक २३.६४ अंकले घटेको छ ।
आज कारोबारमा आएका १८४ कम्पनीमध्ये ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्यमा गिरावट आएको छ । अन्य कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज पनि लगानीकर्ताको रोजाइमा शिखर इन्स्योरेन्स परेको छ । यसको सबैभन्दा धेरै १० करोड ८५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल बैंक र पुनर्बीमा कम्पनीको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । अरुण भ्याली, माउन्टेन, युनाइटेड मोदी, युनियन र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।
गोर्खाज फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ३.५७ प्रतिशत गुमाएका छन् ।