दशैंका कपडा चिनियाँ नाकामै रोकिए, खुल्ने संकेत नहुँदा लगानी डुब्ने त्रासमा व्यापारी

काठमाडौं । दशैँका लागि ल्याइएका कपडा लगायत सामग्री चिनियाँ नाकामै रोकिएपछि व्यापारीहरू चिन्तामा परेका छन् । व्यापार हुने मुख्य सिजनलाई लक्षित गर्दै चीनबाट ल्याइएका सामान कोरोनाका कारण केरुङका नाकामा रोकिएपछि व्यवसायी निराश भएका हुन् ।

 

चीनले कोरोनाका कारण देखाउँदै केरुङ नाकामा आएका कन्टेनरहरू छाडेको छैन । करिब ६ महिनादेखि बन्द नाका खुलाउन सरकारले पनि प्रयास नगर्दा व्यापारीहरू आफ्नो लगानी डुब्ने चिन्तामा रहेका छन् ।

 

राष्ट्रिय व्यापार संघका अध्यक्ष कमल अग्रवालका अनुसार केरुङका नाकामा १२ वटा भन्दा बढी कपडाका कन्टेनरहरू थन्किएका छन् । तातोपानी नाकामा २०० बढी कन्टेनर रोकिएका छन् ।

 

समयमै सामान नआउँदा एकातिर बजारमा ग्राहकको रोजाइ अनुसारको कपडा पाइन छाडेको छ भने अर्कोतर्फ व्यपारीको करोडौं लगानी नोक्सान हुने अवस्थामा पुगेको छ । दशैं लगत्तै जाडो सिजन शुरु हुने भएकाले अहिले ल्याइएको कपडा दशैंअधि नै नबेचे फेरि अर्को सिजन कुर्दा ठूलो नोक्सानी हुने व्यापारीहरूको भनाइ छ ।

 

चीनका नाकाबाट आउने एउटा कन्टेनर नेपालको २ वटा ट्रक बराबर हुन्छ । सो ट्रकमा ल्याउन तयारी अवस्थामा रहेका कपडाहरू यो दशैँमा आउने कि नआउने अझै टुंगो नलागेको अग्रवाल बताउँछन् । दशैँ नजिकिँदै गरेको र लगाउनका लागि राखिने नयाँ कपडाहरू नाकामै रहँदा आफ्नो लगानी उतै अड्केको उनले बताए ।

 

‘हाम्रो लगानी भनेकै अडर गरेको सामान हो, उताबाट गाडीमा भरेर पठायो नाकामा चिनियाँया सरकारले रोकेर राखेको छ,’ उनले चाणक्य पोष्टसँग भने ‘हामी हरेक दिन त्यो सामान ल्याउन कोशिस गरिरहेका छौँ, तर कतैबाट सुनुवाइ भएको छैन ।’

 

समयमै सामान नआउँदा एकातिर बजारमा ग्राहकको रोजाइ अनुसारको कपडाको अभाव भएको छ भने अर्कोतर्फ व्यपारीको करोडौं लगानी नोक्सान हुने अवस्थामा पुगेको छ । दशैं लगत्तै जाडो सिजन शुरु हुने भएकाले अहिले ल्याइएको कपडा दशैंअधि नै नबेचे फेरि अर्को सिजन कुर्दा ठूलो नोक्सानी हुने व्यापारीहरूको भनाइ छ ।

 

बोर्डरमा अड्केका सामानहरू ल्याउन सरकारले केही पहल नगरेको अग्रवालले बताए । ६ महिना बन्द अवस्थामा रहेको आफ्नो व्यापार दशैँमा गत वर्षको भन्दा आदि होला भन्ने आशामा रहेको अग्रवाल कपडा नआएपछि व्यापारै नहुने भन्ने चिन्तामा रहेका छन् ।

 

उनले उनी जस्तै थुपै व्यापारीहरू अहिले अलपत्र अवस्थामा रहेको बताए । उनका अनुसार करिब १० अर्ब रुपैयाँ बराबरका सामग्रीहरू चीनको नाकामा अड्कीएर बसेको छ । मगाएका सामान नाकामै रोकिएको भने पनि त्यो कुन अवस्थामा छ आफूलाई समेत केही जानकारी नदिइएको बताए ।

 

नयाँ सामान नआएसम्म पुरानै सामानले व्यापार टिकाउन मुस्कील रहेको उनी बताउँछन् । ‘दशैँमा पहिले जस्तो नभएपनि आदिउदी व्यापार होला भन्ने सोचेको थिए, लगानी गरेको कपडा नाकामै अड्केको छ, यसरी यो दशैँ बिजोग हुने भयो, नयाँ कपडा नभई पुरानोले माग्र ग्राहक तान्न सकिँदैन,’ अग्रवालले भने ।

 

९० प्रतिशत व्यापारको लगानी बोर्डरमा अड्किएको भन्दै उनले यो पटक सो लगानी नउठ्ने चिन्ता व्यक्त गरे । ‘सरकारको पहुँच नपुगेर हो कि के हो, हामीले जति भने पनि कतैबाट केही हुन सकेको छैन, अब तपाईंहरूले केही गर्नु पर्यो,’ उनले भने ।

 

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याललका अनुसार मन्त्रालयले नाकामा अड्केका सामग्रीहरू ल्याउन विभिन्न प्रक्रियाबाट पहल गरिरहेको छ । उनले परराष्ट्र मन्त्रालयको माध्यमबाट नाकामा रहेका सामान खुलाउन पहल भइरहेको बताए ।

 

चिनियाँ निकायलाई पत्रचार समेत गरिएको अवस्थामा उनीहरूले सामान पठाउन ढिलाइ गरिरहेको उनको भनाइ छ । ‘हामीले पहल गरिरहेका छौँ परराष्ट्र मन्त्रालयबाट चिठ्ठी समेत पठाएका छौँ, छिटै नाका खुलाएर सामान ल्याउने छौँ,’ सचिव अर्यालले चाणक्य पोष्टसँग भने ।
यस्तै, नाका निरीक्षक पार्वती अर्यालले ल्हासाको काउन्सिलर अफिस मार्फत कस्टम अफिससँग नाका खुलाउन अनुरोध समेत गरिएको बताइन् ।

 

उनले केरुङ र तातोपानीका स्थानीय सीडीओे कार्यालयहरूबाट समेत चिनियाँ पक्षसँग समन्वयनको भइरहेको बताइन् ।‘कोरोनाकै कारणले रोकिएको भनेर भनिएको छैन ड्राइभरहरूलाई क्वारेन्टाइनमा राखिएको छ, सक्दो चाँडो नाका खुलाएर सामान ल्याउन हामी पहल गरिरहेका छौँ, उताबाट हुन्छ भन्ने नी जवाफ आएको छैन हुन्न भन्ने नी जवाफ आएको छैन,’ अर्यालले चाणक्य पोष्टसँग भनिन् ।

 

लामो समयदेखि बन्द अवस्थामा रहे पनि एक साता अघि नाका खुलाएर केही कन्टेनर भित्राएको तर, फेरि नाका बन्द भएको उनले जानकारी दिइन् । नाकाबाट दैनिक ३० देखि ३५ कन्टेनर नेपाल भित्रिने गरेका छन् ।

 

यस्तै कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधान कोभिडका कारणले उद्योग चलाउन धौधौ भएको बताउँछन् । उद्योगमा कर्मचारीहरू सबै आउने अवस्था नभएको र थोरै कर्मचारीमै काम भइरहेकाले पहिलेको अवस्थामा काम हुन नसकेको उनले बताए । कोभिडका कारण पर्यटन क्षेत्रपछि कपडा उद्योग क्षेत्र ठूलो मारमा परेको उनको बुझाइ छ ।

 

उनले विदेशबाट आउने कपडाहरू सजिलै आयात हुने तर, नेपालकै उत्पादनले प्राथमिक्ता नपाएका कारण नेपालको उत्पादन महंगिएको बताए । ‘पोलीसी लेभलबाट हामीलाई पछाडि पारिएको छ, विदेशबाट सस्ता लुगा छुटमा नेपाल आयात हुन्छन्, नेपालमै कपडा उत्पादनका लागि केही पहल हुँदैन कर मात्र बढेको छ, प्रधानले भने ‘हामीले विदेशबाट सस्तोमा आयात हुने कपाडासँग प्रतिशपर्दा गर्न सक्ने अवस्था छैन ।’

 

४० देखि ५० वटाका हाराहारीमा रहेका कपडा उत्पादन उद्योगहरूमा हाल ३० प्रतिशत मात्र उत्पादनको काम भइरहेको उनले जानकारी दिए । ६ महिना उत्पादन उद्योग बन्द हुँदा बाँकी रहेका कपडा उद्योगहरू बन्द हुने अवस्थामा रहेको उनको भनाइ छ । विगतमा असोज महिनामा ७ करोड मिटर कपडा उत्पादन हुने गरेका थिए । यो पटक दशैँ नजिकिदा समेत उत्पादनले गति लिन नसकेको उनले बताए ।

 

उनले कपडा उत्पादनमा उद्योगीहरूको लागत बढी रहेको र कपडा लागत बढ्दा विदेशी कपडाहरूसँग प्रतिशपर्दा गर्न सक्ने अवस्था नरहेको उनले बताए । उनले सरकारसँग पटक पटक भेटेर वार्ता गर्दा समेत कुनै पनि उद्योगको हितमा सरकारले कुनै निती निर्माण गर्न नसकेको बताए । उनले सरकारले कपडा उद्योग क्षेत्रहरूको निम्ति केही सहि कदम नउठाए सबै उद्योग बन्द हुने अवस्थामा पुग्ने चिन्ता व्यक्त गरे ।

अब एनआइसी एशिया बैंकको चेक जम्मा गर्न अनलाइनबाटै भौचर भर्न सकिने Read Previous

अब एनआइसी एशिया बैंकको चेक जम्मा गर्न अनलाइनबाटै भौचर भर्न सकिने

सेयर बजारमा पहिरो, १५५ कम्पनीको मूल्य घट्यो, पौने ३ अर्बको कारोबार Read Next

सेयर बजारमा पहिरो, १५५ कम्पनीको मूल्य घट्यो, पौने ३ अर्बको कारोबार