कोरोनाका बाबजूद नेपालगञ्ज भन्सारमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको दुई महिनामा उत्साहजनक राजश्व सङ्कलन गर्न सफल भएको छ ।

 

कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा राजश्व घाटा व्यहोरेको नेपालगञ्ज भन्सार कार्यालयलले चालू आवको साउन र भदौ महिनामा भने लक्ष्यभन्दा अधिक राजश्व सङ्कलन गरेको छ । चालू आवको पहिलो महिनामा नेपालगञ्ज भन्सार कार्यालयले १ अर्ब ६८ करोड राजश्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिए ।

 

उनका अनुसार साउन महिनामा ९४ करोड ७५ लाख ६ हजार राजश्व उठाउने लक्ष्य राखिएकामा लक्ष्यभन्दा ७३ करोड २५ लाख अर्थात् ५६ प्रतिशतभन्दा बढी राजश्व सङ्कलन भएको छ । भदौ महिनामा राजश्व सङ्कलन लक्ष्य १ अर्ब ६ करोड रहेकामा लक्ष्यभन्दा अधिक १ अर्ब ४६ करोड राजश्व सङ्कलन भएको छ ।

 

बन्दाबन्दीका कारण अवैधरूपमा सामान भित्रिने कार्य बन्द भई सबैजसो सामग्री भन्सार हुँदै आएकोले राजश्व सङ्कलनमा वृद्धि भएको प्रमुख भन्सार अधिकृत निरौलाको भनाइ छ ।

 

नेपालगञ्ज भन्सार हुँदै औद्योगिक कच्चा पदार्थका साथै खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्री भित्रिने गरेका छन् । अहिले नेपालगञ्ज नाकाबाट फलफूल तथा तरकारीजन्य पदार्थ र मानिसको आवागमनमा भने पूर्णरूपमा रोक लगाइएको निरौलाले जानकारी दिए ।

 

नेपालगञ्ज भन्सार कार्यालयबाट गत आव २०७६/७७ मा साढे ३ अर्ब राजश्व घाटा भएको थियो । १५ अर्ब ४३ करोड ७५ लाख लक्ष्य रहेकामा ११ अर्ब ७७ करोड ८ लाख मात्र राजश्व सङ्कलन हुँदा ३ अर्ब ६६ लाख राजश्व घाटा भएको हो ।

शिखर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने Read Previous

शिखर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने

भायानेट बन्यो 'डान्सिङ विथ द स्टार्स' रियालिटी शोको सहप्रायोजक Read Next

भायानेट बन्यो 'डान्सिङ विथ द स्टार्स' रियालिटी शोको सहप्रायोजक