दशैँका लागि ३ हजार खसी र च्याङ्ग्रा ल्याउँदै खाद्य कम्पनी, उपत्यकाको माग धान्न ५० हजार चाहिने

काठमाडौं । यो दशैँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ हजार खसी च्याङग्रा खरिद गर्ने भएको छ । खाद्य कम्पनीले १४ सय च्याङ्ग्रा र १६ सय खसी खरिद गर्ने तयारी गरेको हो ।

 

कम्पनीले प्रत्येक वर्ष बजारमा खसीच्याङग्रा अभाव नहोस् भनेर केही मात्रामा खसी च्याङग्रा आफैले किसानबाट किनेर बजार मूल्यभन्दा केही सहुलियतमा बेच्ने गरेको छ ।

 

खसी च्याङग्रा खरिदको संख्या तोकिए पनि यसको लागत मूल्य अझै नतोकिएको खाद्य कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपानेले जानकारी दिइन् । सधैं च्याङग्रा मुस्ताङबाट ल्याइने गरेको छ । खसी च्याङग्रा कहाँबाट ल्याउने भन्ने कुरा अझै निश्चित भएको छैन । कोभिडका कारण यो पटक खसीको मूल्यमा केही फरक आउने सक्ने उनी बताउँछिन् ।

 

यो वर्ष कोभिड १९ का कारण गाउँगाउँबाट खसी च्याङग्रा ल्याउन चुनौती रहेको छ । सहरमा बस्ने धेरै जसोमान्छे गाउँमै फर्किएकाले उतै खपत हुने र ढुवानीमा समेत असहता हुने हुँदा मूल्य समेत बढ्ने सम्भावना रहेको छ ।

 

उनका अनुसार यो पटक कोभिडका कारण किसानहरूले खसीको मूल्यमा केही वृद्धि गर्न सक्ने अनुमान गरिएको छ । ‘यो वर्ष कोभिड १९ का कारण धेरै समस्या रहेको छ, गाउँ गाउँबाट खसी च्याङग्रा ल्याउनु चुनौती पनि रहेको छ, तर हामी सधैं जस्तो खसीच्याङग्रा किनेर विक्री गर्ने छौँ,’ सूचना अधिकारी न्यौपानेले चाणक्य पोष्टसँग भनिन् ‘खसी च्याङग्राको मूल्यमा पहिले भन्दा ठूलो अन्तर त आउँदैन तर, ढुवानी र किसानले तोक्ने मूल्यका कारण केही फरक हुन सक्छ ।’

 

उनले यो पटक खसीच्याङग्रा घटस्थापनासम्म आइपुग्ने बताइन् । खाद्य कम्पनीले सधै नेपालगञ्ज, हेटौंडा, दाङ लगायतका ठाउँहरूबाट खसी खरिद गर्ने गरेको छ ।यो पटक खसी कुन ठाउँबाट किन्ने निश्चित भइसकेको छैन । कुन ठाउँमा खसीको मूल्य कति छ त्यस अनुसार खरिद गर्ने स्थान निश्चित हुने उनले बताइन् ।

 

खसीबोकामा आत्म निर्भर बन्दै

 

पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार नेपालमा आन्तरिक उत्पादन बढ्दै गएसँगै खसी बोका आयात घट्न थालेको छ ।

 

उपत्यकामा वार्षिक ६ लाख खसी–बोका चाहिन्छ । मुलुकभर १ करोड १८ लाख खसी बोका उत्पादन हुन्छ । वार्षिक ३० प्रतिशत अर्थात् ३३ लाख कटनीमा जान्छ । सहकारी संस्थाले पनि पर्याप्त उत्पादन गरेकाले व्यवसायीले जिल्लामा संकलन गर्नुपर्ने उनले बताए । मुलुकभित्र हेटौंडा, कोहलपुर, कटारी, सुर्खेत, नुवाकोट, सिन्धुपाल्चोकबाट पनि खरिद हुन्छ ।

 

ढकालले यो पटक कोभिड १९ का कारणले पनि खसी बोका आयातमा धेरै कमि आउने बताए । ‘खसी बोका आयात विगतको तुलनामा धेरै घटेको छ, यो पटक झन कोभिडका कारण भारतीय खसी बोका आयात गर्ने सम्भावना छैन,’ ढकालले चाणक्य पोष्टसँग भने ‘हाम्रो आन्तरिक उत्पादनले यसको माग धान्न सक्छ, आयात गर्नै पर्छ भन्ने छैन, लुकिछिपी केही आए भने त्यो छुट्टै हो ।’

 

भन्सारमा खसी बोका आयातको कर समेत बढाए पछि नेपाली ग्रामिण भेगबाट ल्याउने खसी र भारतबाट ल्याउनेको मूल्य उस्तै पर्न जाने भएकाले भारतीय खसीबोकाले नेपालमा बजार पाउन नसक्ने बताए ।

 

उनले ग्रामीण भेगबाटै खसी बोका खरिद गर्न सहजीकरणका लागि सहकारीको माध्यमबाट विक्री गर्न थालिएको जानकारी दिए । उनले देशभर ४५ लाखका हाराहारीमा खसी बोका उत्पादन हुने गरेको बताए । उत्पादन भएका मध्य ४५ प्रतिशत मात्र खसी बोका बजारसम्म पुग्ने गरेको छ ।

 

उपत्यका र पोखरा लगायतका बजारहरूमा दशैँमा खसी बोकाको माग बढी हुने गरेको छ । उपत्यकामा मात्र ५० हजार खसी बोका माग हुने गरेका छन् । सो मागलाई आन्तरिक उत्पादनले पूरा गर्न सक्ने उनको दाबी छ ।

 

उनले स्थानीय सहकारीहरूको माध्यबाट किसानका खसी बोकाहरू बजारसम्म पुर्याउने भएकाले बजारीकरणमा समेत सहजता भएको बताए । उनले २०० हाराहारीमा ग्रामीण सहकारीहरूले किसानका खसीबोका विक्री गर्ने गरेको बताए ।

 

भारतबाट आयात हुने सम्भावना कम

 

यसैगरी चौपाया खरिद विक्री संघका सदस्य दीपक थापा यो पटक खसीबोका भारतबाट आयातको अवस्था नभएको बताउँछन् । उनका अनुसार कोभिड १९ का कारणले ढुवानीमा असहज भएकाले खसी बोका आयातमा निकै समस्या रहेको बताए ।

 

उनले आयात गर्दा ढाकछोप गर्दै र बाटोमा ढुवानी असहज नहुँदा पैसा खुवाएर समेत ल्याउने पर्ने भएकाले यसले मूल्यमा निकै असर गर्ने बताए । उनले यो पटक कति खसी बोका आयात गर्ने भन्ने अझै निर्णय नभएको भन्दै ढुवानी शूल्क बढेको र त्यसमा पनि कोभिडका कारण धेरै समस्या भएकाले आयातमा समस्या भएको बताए ।

 

‘हामीले सक्दो आयात गर्ने प्रयास गरिरहेका छौँ तर, बोर्डरबाट बजारसम्म खसी बोकाको मूल्य कति पर्छ अझै भन्न सकिदैन, विगतको तुलनामा केही बढि हुन सक्छ,’ थापाले चाणक्य पोष्टसँग भने ‘बाटोमा सहजै ढुवानी गर्न सक्ने अवस्था छैन, अलिकति पैसा नखुवाए उतै फर्काइ दिन्छ ।’

खसी मुख्यतः तराई र पहाडबाट खरिद गरिन्छ । च्यांग्रा भने हिमाली जिल्लाबाट खरिद हुन्छ । अपुग खसी–बोका भारतबाट समेत आयात हुन्छ । पशु सेवा विभागले क्वारेन्टाइन ऐन २०७५ फागुन ३ देखि कार्यान्वयन गरेको छ ।

 

यो व्यवस्थासँगै सम्बन्धित मुलुकबाट पशु चौपाया स्वस्थ भएको प्रमाणित कागजपत्र बनाउनुपर्छ । कागजपत्रमा निर्यातयोग्य, रोगमुक्त र रोगको खोप लगाएको प्रमाणित हुनुपर्छ । यो व्यवस्थामा कडाइ गरेसँगै खसी-बोका आयात घटेको छ । खसी-बोका आयात घट्दै गएको हो । तर तस्करीको बाटो हुँदै आयात भने भइरहेका छन् ।

 

विगतका समयमा जिउँदो खसीको मूल्य प्रतिकेजी ७१५ रुपैयाँ थियो । दशैँमा सधैं खसी बोकाको मूल्य सामान्यभन्दा केही वृद्धि हुने गरेको छ ।

 

चौपाया खरिद संघका सदस्य अधिकृत विक्रेता मोहोमत अहमदका अनुसार मागको करिब ५० प्रतिशतभन्दा बढी खसी–बोकाका लागि भारतमै निर्भर हुनुपरेको छ । भारतको लखनउ, कर्नाटकलगायत १० स्थानबाट खसी–बोका आयात हुँदै आएका छन् । तर, पशु सेवा विभागले भने नेपालमै उत्पादन पर्याप्त भएको जनाएको छ ।

 

दशैं र अन्य चाडवाडका समयमा खसी बोकाको औसत माग प्रतिदिन २ हजार ५०० गोटा रहेको छ । त्यसमध्ये उपत्यकामा मात्रै १ हजार ८०० गोटा माग हुन्छ ।

नबिल बैंकले ल्यायो नेपालमै पहिलो पटक फोनबाटै ऋण दिने सुविधा, यसरी पाइन्छ ऋण Read Previous

नबिल बैंकले ल्यायो नेपालमै पहिलो पटक फोनबाटै ऋण दिने सुविधा, यसरी पाइन्छ ऋण

सेयर बजारमा गिरावट, चार कम्पनीको मूल्यमा सर्किट, पौने ३ अर्बको कारोबार Read Next

सेयर बजारमा गिरावट, चार कम्पनीको मूल्यमा सर्किट, पौने ३ अर्बको कारोबार