काठमाडौं । मुग्लिन–पोखरा सडक खण्ड विस्तारको काममा ढिलाई भएको छ । गत आर्थिक वर्षको कात्तिकै शुरू हुनु पर्ने भए पनि कोरोना, डीपीआर निर्माण लगायत कारणले आयोजनाको काम अघि बढ्न नसकेको हो ।
यसरी २०२० भित्र शुरू गर्ने भनिएको सो खण्डको काम चालू आवभित्र शुरू हुने बताइएको छ । एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बन्न लागेको सो सडक खण्डमा पहिलो चरणमा तनहुको आँबुखैरेनीदेखि पोखरासम्म काम शुरू हुने भएको छ । एडीबीका उप आयोजना निर्देशक सुरेश पौडेलका अनुसार हाल मुग्लिन-पोखर सडक खण्ड विस्तारको काम ठेक्का मूल्यांकनको चरणमा रहेको छ ।
एडीबीले २०१९ नोभेम्बर ७ (२०७६ कात्तिक २१) गते मुग्लिन-पोखरा सडक विस्तारका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो । २०२० जनवरी ३० (माघ १६) गतेसम्मका लागि बोलपत्र आह्वान गरिएको हो ।
एडीबीको झण्डै २२ अर्ब ऋण सहयोगमा सो सडक खण्डलाई ४ लेनमा विस्तार गर्न लागिएको हो । मुग्लिनदेखि पोखरासम्मको सडक खण्डमा बजार क्षेत्रमा ६ लेन र अन्य स्थानमा ४ लेनमा सडक विस्तार गरिनेछ ।
ठेक्का आह्वान मिति सकिएको ८ महिना बित्दा समेत ठेक्काको अन्य प्रक्रियाहरू पूरा हुन सकेको छैन । बोलपत्र आह्वान पछि ठेक्का प्रस्ताव गरेका मध्येबाट मूल्यांकन गरी सबैभन्दा न्यून मूल्य प्रस्ताव गर्नेलाई ठेक्का दिइने छ । जनवरी यता कोभिड १९ शुरू भएकाले ठेक्का मूल्यांकनको काम हुन सकेको छैन । मुग्लिन पोखर सडक विस्तारका लागि १८ प्रस्ताव आएको एडीबीका उपआयोजना निर्देशक पौडेलले बताए ।
उनले कोभिडका कारण धेरै असर परेको र मूल्यांकनको काम अघि नबढेको बताए । ‘कोभिडका कारण मूल्यांकनको काम हुन सकेको छैन, हामी आजबाट अफिस आउन थालेका छौं , २/३ महिनामा मूल्यांकन गरी ठेक्का छनोट हुन्छ,’ उप आयोजना निर्देशक पौडेलले चाणक्य पोष्टसँग भने ।
उनले चालू आर्थिक वर्षभित्र ठेक्का दिई सडक विस्तारको काम शुरू गर्ने बताए । ठेक्का प्रक्रिया सकिएपछि प्राविधिक तथा आर्थिक सम्भाव्यक्ता अध्ययनका लागि ६ महिना थप समय लाग्ने भएकाले अझै फिल्डमा काम शुरू नहुने बताए ।
मुग्लिन–पोखरा सडक विस्तारको काम दुई चरणमा गर्न लागिएको छ । पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरा र दोस्रो चरणमा मुग्लिनदेखि आँबुखैरेनीसम्म सडक विस्तार गरिने छ । हाल पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरा खण्ड निर्माणका लागि प्रस्तावपित ठेक्काको मूल्यांकन भइरहेको छ ।
आगामी सन् २०२५ सम्ममा निर्माण पूरा गर्ने लक्ष्य सहित पहिलो चरणमा आँबुदेखि पोखरासम्मको ८०.३३ किलोमिटर सडक खण्डमा काम शुरू गरिने भएको छ । पहिलो चरणको डीपीआर क्यानेडी कम्पनीले बनाएको थियो ।
यस्तै दोस्रो चरणमा मुग्लिनदेखि आँबुखैरेनीसम्मको सडक खण्डको डीपीआर पूरा भएको छ । उक्त खण्डको डीपीआर परामर्शदातालाई बुझाइएको छ । उक्त डीपीआर स्वीकृत भएपछि ईआइए तथा अन्य अध्ययनका कामहरू बाँकी रहेकाले त्यसको विस्तारमा अझै समय लाग्ने उपआयोजना निर्देशक पौडेलले बताए ।
सो डीपीआर स्वीकृत हुन डेढ महिना लाग्ने र त्यसपछि मन्त्रिस्तरमा पनि पेस गर्नुपर्ने हुँदा त्यसमा अझै थप समय लाग्न सक्ने उनले बताए । आँबुखैरेनीदेखि मुग्लिनसम्म ८०.२५ किलोमिटर लम्बाइ रहेको छ । दोस्रो चरणको डीपीआर कोरियन कम्पनीले बनाएको हो ।
एडीबीको झण्डै २२ अर्ब ऋण सहयोगमा सो सडक खण्डलाई ४ लेनमा विस्तार गर्न लागिएको हो । मुग्लिनदेखि पोखरासम्मको सडक खण्डमा बजार क्षेत्रमा ६ लेन र अन्य स्थानमा ४ लेनमा सडक विस्तार गरिनेछ ।
साथै दमौलीस्थित मादी नदीमा ४ लेनको पुल र पोखरास्थित सेतीनदीमा २ लेनका नयाँ पुल बनाइने छ । यी ठूला पुलहरू पर्यटकीय गन्तव्य स्थल हुने गरी निर्माण गरिने बताइएको छ । यसैगरी अन्य ८ पुल पनि बनाइने छ । सो खण्डमा ६२ पाइप कल्भर्ट, २३० स्ल्याब कल्भर्ट, ८ मुख्य पुल (नयाँ) र ३१ साना पुलबाट वारपार नाला बनाइने छ ।
हाल करिब २ देखि ३ घन्टा लाग्ने उक्त सडक खण्डको यात्रा बिस्तारपछि एकदेखि डेढ घण्टा मात्र लाग्ने अनुमान गरिएको छ ।