थप ४ उद्योगको स्यानिटाइजर विक्रीमा प्रतिबन्ध, स्वास्थ्यमा गम्भीर असर पार्ने रसायन भेटियो

औषधि व्यवस्था विभागले दुई नेपाली र दुई विदेशी कम्पनी गरी चार कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर विक्रीमा रोक लगाएको छ ।

 

चीन, भारत, काठमाडौँ र ललितपुरमा रहेका उद्योगका स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेको पाइएको भन्दै विभागले विक्रीमा रोक लगाएको हो ।

 

विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार चिनियाँ कम्पनी ओपेकल नन्वासिङ एन्टिब्याक्टेरियल सोलुसनको १२० एमएलको स्यानिटाइजरमा ६० प्रतिशत इथानोल रहेको भेटिएको हो । उक्त स्यानिटाइजर गोन्जाउ ओबोपेकल फाइन केमिकल कम्पनी चीनले उत्पादन गरेको हो ।

 

यसैगरी भारतीय कम्पनी आरएल क्रपले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ६० एमएलको ह्यान्ड स्यानिटाइजरमा ६६ प्रतिशत इथानोल रहेको भेटिएको छ ।

 

ललितपुरमा रहेको सम्पदा हेल्थकेयरले उत्पादन गरेको सासा इस्ट्यान्टको ५० एमएलको ह्यान्ड स्यानिटाइजरमा ३९.३४ प्रतिशत मिथानोल र १३.३८ प्रतिशत इथानोल रहेको पाइएको छ । श्रीनाथ हर्बल कस्मेटिक इण्डष्ट्रीले काठमाडौँले उत्पादन गरेको ६५ एमएलको स्यानिटाइजरमा मिथानोल ५५ प्रतिशतसम्म भेटिएको हो ।

 

बजारमा विक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्डविपरीत विषाक्त रसायन समावेश रहेको पाइएको विभागले जनाएको छ ।

 

चार कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा विक्री वितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिइएको छ । यसअघि विभागले काठमाडौँ र भक्तपुरमा सञ्चालित ५ स्यानिटाइजर कम्पनीको उत्पादन बन्द गर्न निर्देशन दिएको थियो ।

सामाजिक सञ्जालमा 'डिफ्याक्टो' अर्थमन्त्री खतिवडाको आगमन र कुलमानको वर्हिगमनको चर्चा, कसले के भने ? Read Previous

सामाजिक सञ्जालमा 'डिफ्याक्टो' अर्थमन्त्री खतिवडाको आगमन र कुलमानको वर्हिगमनको चर्चा, कसले के भने ?

वैदेशिक सहयोगका अधिकांश सडक आयोजना ठप्प, काम भएका पनि कछुवाको गतिमा Read Next

वैदेशिक सहयोगका अधिकांश सडक आयोजना ठप्प, काम भएका पनि कछुवाको गतिमा