काठमाडौं । नेपालमा प्राविधिक रूपमा गणतन्त्र आइसकेको छ । यो प्राविधिक गणतन्त्र ल्याउनका लागि धेरै जनताका छोराछोरीले आफ्नो ज्यानको आहुति दिएका छन् । तर, यही प्राविधिक गणतन्त्र ल्याउनका लागि लडेका भनिएका नेताहरू भने जनताको सहादतको जगमा उभिएको यो गणतन्त्रको मर्मप्रति उदासिन मात्र होइन कि त्यस माथि खड्ग नै प्रहार गर्न तल्लिन देखिएका छन् ।
र, गणतन्त्र माथिको यो प्रहारको नेतृत्व अहिले सत्ताको नेतृत्व गरिरहेको पार्टी नेकपा र मूल रूपमा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरिरहेका छन् ।
वास्तवमा गणतन्त्र अघि रहेको संस्था राजतन्त्र मूल समस्या थिएन । सारमा समस्या के थियो भने कुनै जात, धर्म, लिङ्ग वा जन्मको भरमै कसैले असीमित अवसर पाउने र कसैले त्यसैका आधारमा केही पनि नपाउने व्यवस्थाको बाहिरी अभिव्यक्ति भएका कारण त्यो संस्थाको अन्त्य जरुरी देखिएको थियो ।
यसको मतलब राजसंस्थाको अन्त्य रूपमा मुख्य देखिए पनि सारमा सबैभन्दा महत्वपूर्ण विषय ‘मेरिट बेस्ड’ समाजको निर्माण थियो ।
तर, दूर्भाग्यवश वामदेव गौतम र युवराज खतिवडाको राज्यका विभिन्न निकायहरूमा आगमन र कुलमान घिसिङको बर्हिगमनले नेपाल अझै गणतन्त्रको मूल्य अनुसारको समाज नबनिसकेको, बरू राजसंस्थाकै समय भन्दा आधारभूत रूपमा भिन्न नभएको देखिएको छ ।
चुनाव हारेका वामदेव राष्ट्रिय सभामा आउनु, पदमा रहँदा खासै काम गर्न नसकेका युवराज खतिवडा फेरि बलियो भूमिकामा आउनु तर, आफ्नो जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गरेका र आम जनताले समेत रुचाएका कुलमान घिसिङको वर्हिगमन गणतन्त्रको मर्म अनुरूप नभएको विषयलाई समाजका विभिन्न क्षेत्रका मानिसहरुले सामाजिक सञ्जालमा विभिन्न ढंगले अभिव्यक्त गरेका छन् ।
यसै सन्दर्भमा पत्रकार यज्ञश ट्वीटरमा लेख्छन्, ‘कुलमान प्रतिस्पर्धाबाट आउनुपर्छ भन्ने कुरो आएछ । ठीक हो, मानियो । तर, सरकारका काँधमा विराजमान वामदेव र युवराज कुन प्रतिस्पर्धाका विजयी हुन् ? पार्टीका नेताचाहिँ चुनाव हार्नु प्राविधिक कुरा हो भन्छन् । अब नेतालाई नैतिकताको प्रश्न उठाउने देशका दुश्मन हुन् भन्ने पनि घोषणा गरौं सरहरू !’
कुलमान प्रतिस्पर्धाबाट आउनुपर्छ भन्ने कुरो आएछ। ठीक हो, मानियो। तर, सरकारका काँधमा विराजमान वामदेव र युवराज कुन प्रतिस्पर्धाका विजयी हुन्?
पार्टीका नेताचाहिँ चुनाव हार्नु प्राविधिक कुरा हो भन्छन्। अब नेतालाई नैतिकताको प्रश्न उठाउने देशका दुश्मन हुन् भन्ने पनि घोषणा गरौं सरहरू!— yangesh (@yangesh30) September 16, 2020
यसैगरी, लेखक केदार शर्मा लेख्छन्, ‘ गरिमामय निर्गम । सक्नेजति गरे, पाउनेजति पाए ! ‘फलानु मान्छे यो पदमा रहिदिए हुने’ भनेर आम, खास दुवैथरी जनताले भनेको यस अघि देखिएको थिएन, अनुपम विश्वास कमाएर गए ! कुलमान घिसिङले भने एउटा गरिमामय निर्गम पाए । भूलमान र मूलमानहरूले चाहिँ ‘केही नगरी केही गर्ने’ एउटा दामी मौका गुमाए ।’
यसैगरी चर्चित लेखक खगेन्द्र संग्रौला लेख्छन्, ‘जो खुबी, यत्न र इमानले गरिखान्छ, उ ख्वामितलाई कोसेली टक्र्याउँदैन । जो कोसेली टक्र्याउँदैन, उ प्रकारान्तरले दण्डित हुन्छ । लखेटे त प्रभुले कर्मशील कुलमान घिसिङलाई । हरूवा काजी वामदेव वादिलाई लाभका पद पुरस्कार, कर्मशील कुलमानहरूलाई दण्ड । यी हुन् नेकपा डबलको न्यायविधानको काइदा !’
जाे खुबी,यत्न र इमानले गरिखान्छ,ऊ ख्वामितलाई काेसेली टक्र्याउँदैन।जाे काेसेली टक्र्याउँदैन,ऊ प्रकारान्तरले दण्डित हुन्छ।लखेटे त प्रभुले कर्मशील कुलमान घिसिङलाई।हरूवा काजी-वामदेवादिलाई लाभका पद पुरस्कार,कर्मशील कुलमानहरूलाई दण्ड।यी हुाे नेकपा डबलकाे न्यायविधानकाे काइदा!
— Khagendra Sangroula (@belakoboli) September 16, 2020
राजनीतिकर्मी एवं विश्लेषक मुमारम खनाल लेख्छन्, ‘नेकपाका प्रिय शिर्ष कमरेडहरू, गत निर्वाचनमा पराजित भएका कमरेडहरुको मनोवल उच्च राख्नका लागि भए पनि विजय भएका सबैलाई राजीनामा गराएर पराजितहरूलाई प्रतिनिधि सभामा पनि लगौं । किनकि ‘राजनीतिमा लाग्नेहरू कहिल्यै पराजित हुँदैन’ भन्ने सिद्धान्तलाई स्थापित गर्ने ऐतिहासिक मौका नेकपालाई छ ।’
यसैगरी पूर्व प्रशासक कृष्ण ज्ञवाली लेख्छन्, ‘कसैको पुनर्नियुक्ति नहुनुले रोष र क्षोभ जन्माएको छ । कसैको पुनर्नियुक्ति हुनुले उपेक्षा र परिहास पैदा गरेको छ । कसैको विदाइ असफलताको मूल्यांकनले तिरोहित छ, कसैको विदाइ सफलताको गौरवले प्रज्जवलित छ । आखिर पद हैन,पदीय जिम्मेवारीको सफल निर्वहन नै रहेछ गर्वयोग्य कुरो !’
कसैको पुनर्नियुक्ति नहुनुले रोष र क्षोभ जन्माएको छ।कसैको पुनर्नियुक्ति हुनुले उपेक्षा र परिहास पैदा गरेको छ।कसैको विदाइ असफलताको मूल्यांकनले तिरोहित छ,कसैको विदाइ सफलताको गौरवले प्रोज्वलित छ।
आखिर पद हैन,पदीय जिम्मेवारीको सफल निर्वहन नै रहेछ गर्वयोग्य कुरो!
— Krishna Gyawali (@ruru_krishna) September 15, 2020