काठमाडौं । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले २५ वर्ष पूरा भएको अवसरमा मंगलबार भर्चुअल पत्रकार सम्मेलन गर्दै कम्पनीले आगामी ३ वर्षभित्र सर्वसाधारणका लागि सेयर जारी गर्ने जानकारी दिएको हो ।
कम्पनीका अध्यक्ष दिलीप अग्रवालले वर्ल्डलिंक पब्लिक कम्पनीका रूपमा दर्ता भइसकेको र सेयर जारी गर्न तयारी शुरू गरिसकेको बताए । अब आवश्यक प्रक्रिया पूरा गरी सर्वसाधरणमा आइपीओ जारी गर्ने उनको भनाइ छ ।कम्पनीले आफ्नो चुक्ता पूँजीको कति प्रतिशत सेयर सर्वसाधरणलाई दिने भन्ने बारे भने केही बताएको छैन ।
नेपालमा खपत हुने कुल ब्यान्डविथको ४३ प्रतिशत हिस्सा वर्ल्डलिंकको भएको कम्पनीको दाबी छ । आगामी दिनमा ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्ने रणनीति बनाएको कम्पनीले जनाएको छ ।
देशभरका १० हजार सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।
हाल ४ लाखभन्दा बढी घरायसी ग्राहक बनाएको वर्ल्डलिंकको इन्टरनेट २१ लाख मानिसले प्रयोग गर्ने कम्पनीको दाबी छ । वर्ल्डलिंक गत वर्ष नेपालको १० औं ठूलो भ्याट योगदानकर्ता बनेको थियो ।
कम्पनीले नेपालमा इन्टरनेट सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट २०५५ साल चैत १६ गते अनुमति पाएको थियो ।