नेपालमै पहिलोपटक ‘रक एण्ड टनेल’ इन्जिनीयरिङ विषयको पढाइ शुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इन्जिनीयरिङको पढाइ शुरु भएको छ ।

 

सुरुङ इन्जिनीयरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको लक्ष्यसहित स्नातकोत्तर तहमा यस वर्षबाट सो कार्यक्रमको पढाइ शुरु गरिएको हो ।

 

सिभिल इन्जिनीयरिङमा स्नातक पास भई इन्जिनीयरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा उत्तीर्ण १०० मध्यबाट ‘मेरिट लिष्ट’का आधारमा सिट क्षमताअनुसार पहिलो वर्ष तीन महिलासहित २० जना विद्यार्थी छनोट गरी अध्यापन शुरु गरिएको क्याम्पस प्रमुख इञ्जिीनियर रामप्रसाद पौडेलले बताए।

 

उनका अनुसार कोरोना जोखिमका कारण हाललाई सोमबारदेखि भर्चुअल विधिबाट अध्ययन/अध्यापन शुरु गरिएको छ । सो कार्यक्रम दुई वर्षे कोर्षको हुनेछ । यसअघि गत वैशाख १५ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी रहे पनि बन्दाबन्दीका कारण ढिलाइ भएको क्याम्पस प्रशासनले जनाएको छ । अगामी असोज, कात्तिक र मङ्सिरमा सैद्धान्तिक कक्षा सञ्चालनपछि प्रयोगात्मक कक्षा शुरु हुनेछ ।

 

पहाडी भूगोल भएको देशमा तीव्र पूर्वाधार विकासका लागि सुरुङ निर्माणको विकल्प नभएको र सोका लागि आवश्यक जनशक्ति देशभित्रै उत्पादन गरेर मात्र पूर्वाधार निर्माण अघि बढाउन सहज हुने भएकाले मागका आधारमा सुरुङ इञ्जिीनियरिको अध्यापन गरिएको क्याम्पस प्रमुख पौडेलले जानकारी दिए ।

 

उनले भने, ‘रक एण्ड टनेल हालको अवस्थामा बढी जनशक्ति माग भएको क्षेत्र हो, देशले खोजेको जनशक्ति स्वदेशमै उत्पादनका गर्ने योजनाअनुसार यस वर्षदेखि कक्षा शुरु गरेका हौँ, कोरोनाले प्रभाव पारे पनि अहिले अनलाइन विधिबाट अध्यापन थालनी गरेका छौँ ।’

 

क्याम्पसले प्रयोगात्मक कक्षाका लागि नेपाल टनेलिङ एशोसिएशन, हाइड्रो ल्याब, एनइए इन्जिनीयरिङ लगायतका विभिन्न संस्थासँग सहकार्य गर्ने र उनीहरुको स्रोत साधन उपयोग गर्ने योजना रहेको जनाएको छ । सो कार्यक्रमको कोर्ष सैद्धान्तिकभन्दा अधिकांश प्रयोगात्मक छ ।

 

सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाका लागि क्याम्पसले हाल विदेशमा रहेका नेपाली विषय विज्ञलाई नै आमन्त्रण गर्ने योजना बनाएको छ । विदेशमा रहेका नेपाली विज्ञले समेत अध्यापनका लागि आउने प्रतिबद्धता जनाएको क्याम्पसले जनाएको छ ।

 

‘नेपाली विषयविज्ञ जो हाल विदेशमा हुनुहुन्छ उहाँहरु अध्यापनका लागि आउन तयार रहनुभएको छ त्यसका साथै नेपाल टनेलिङ एशोसिएशनमा २०० जति विज्ञ आबद्ध हुनहुन्छ, उहाँहरुबाट सैद्धान्तिक र प्रयोगात्मक कक्षा लिन्छौँ, ’ उनले भने।

 

यसअघि क्याम्पसले विषयविज्ञ भेला गरी सुरुङ इन्जिनीयरिङको पाठ्यक्रम तयार गरेको थियो । सो पाठ्यक्रमलाई त्रिविले अनुमोदन गरेपछि पढाइ शुरु गरिएको क्याम्पसका चट्टान तथा सुरुङ कार्यक्रममा संयोजक कौशलचन्द्र जिसीले जानकारी दिए ।

 

उनले भने, ‘प्रोग्रामका हिसाबले रक एण्ड टनेल देशमै पहिलो हो, हाम्रोजस्तो पहाडी चट्टानी भौगोलिक अवस्था भएको मुलुकमा रेल, सडक, जलविद्युत्, सिँचाइलगायत जति पनि पूर्वाधारका काममा सुरुङ निर्माण अपरिहार्य छ । गण्डकी प्रदेश सरकारले पनि यस विषयमा चासो देखाएको छ ।’

 

यस विषयको पाठ्यक्रम भौगोलिक अवस्थिति अध्ययन, चट्टान अन्वेषण, अन्वेषण प्रविधि, कन्स्ट्रक्सन प्रविधिलगायतमा केन्द्रित रहेको संयोजक जिसीको भनाइ छ । यसबाट उत्पादित जनशक्ति पूर्वाधार आयोजनामा उच्च माग भएका हुने बताइन्छ । गण्डकी प्रदेश सरकारले सुरुङ इन्जिनीयरिङको पठनपाठनमा सहयोग गरेको छ । पाठ्यक्रम तयार गर्न १० लाख रुपैयाँ बजेट उपलब्ध गराएको सरकारले चालू वर्षमा कार्यक्रम सञ्चालनका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

पश्चिमाञ्चल क्याम्पसमा सो कोर्षको अध्यापनका लागि नर्वेजियन इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (एनटीएनयू) विश्वविद्यालयले प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । पाठ्यक्रम निर्माण, प्राध्यापक व्यवस्थापन लगायतमा सो विश्वविद्यालयले सघाएको थियो ।एनटीएनयूका प्रोफेसर डा कृष्णकान्त पन्थीले चट्टान तथा टनेल इन्जिनीयरिङमा नेपालले क्षमता विकास गर्नु आवश्यक रहेको बताए ।

गौतमबुद्ध विमानस्थल : उपकरण जडान गर्न विदेशी जनशक्ति ल्याउनै मुस्कील, जनवरीमा सञ्चालन हुनेमा अन्योल Read Previous

गौतमबुद्ध विमानस्थल : उपकरण जडान गर्न विदेशी जनशक्ति ल्याउनै मुस्कील, जनवरीमा सञ्चालन हुनेमा अन्योल

मुद्दतिमा पैसा राख्न बैंक खोज्दै पुनर्बीमा कम्पनी Read Next

मुद्दतिमा पैसा राख्न बैंक खोज्दै पुनर्बीमा कम्पनी