गौतमबुद्ध विमानस्थल : उपकरण जडान गर्न विदेशी जनशक्ति ल्याउनै मुस्कील, जनवरीमा सञ्चालन हुनेमा अन्योल

काठमाडौं । राष्ट्रिय गौरव आयोजना अन्तर्गत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ जनवरीमा सञ्चालन गर्ने लक्ष्य भए पनि तोकिएकै मितिमा सञ्चालन हुनेमा अन्योलता रहेको छ ।

 

विमानस्थलको भौतिक संरचना निर्माण सम्पन्न भए पनि प्राविधिक काम सम्पन्न नहुँदा अंग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा आउने सुनिश्चितता नभएको हो ।

 

हाल विमानस्थल निर्माण अन्तिम चरणमा रहेको छ । हालसम्म आयोजनाको ९२.५ प्रतिशत भौतिक प्रगति भइसकेको छ । आयोजनालाई आइसीबी १ र आइसीबी २ गरेर दुई भागमा छुट्याएर काम भइरहेको छ ।

 

विमानस्थलको भौतिक संरचना निर्माण सम्पन्न भइसके पनि उपकरण जडान लगायतका प्राविधिक काम बाँकी छ । उपकरण जडानका लागि विदेशी कामदार नै ल्याउनुपर्ने भएकाले जनशक्ति ल्याउन नसक्दा काममा ढिलाइ हुने भएको हो ।

 

आयोजनाका आइसीबी १ आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार फिनिसिङका कामहरू भइरहेका छन् । उनले उपकरण जडानका लागि भने चिनियाँ जनशक्ति आवश्यक पर्ने भएकाले उनीहरूलाई ल्याउन प्रक्रिया अघि बढेको बताए ।

 

‘उपकरण जडान हाम्रो स्थानीय स्रोत साधनले नभ्याउने खालको छ । जुन देशको उपकरण हो त्यही देशको कम्पनीको जनशक्ति ल्याउनु पर्छ । उनीहरूले मात्र त्यो जडान गर्न सक्छन्,’ आयोजना प्रमुख अधिकारीले चाणक्य पोष्टसँग भने ।

 

आइसीबी १ का लागि ३५ जना चिनियाँ जनशक्ति ल्याउनु पर्ने छ । सो जनशक्ति ल्याउनका लागि पत्रचारहरू गरिएको उनले बताए । उनीहरूको तर्फबाट पनि गर्नुपर्ने प्रक्रियाहरू रहेका र त्यसमा समय लागि रहेको उनले बताए ।

 

‘उनीहरूले क्वारेन्टाइनमा राखेर पीसीआर गर्नु पर्ने प्रक्रियाहरू छन् । छिट्टै ल्याउने भनेर प्रक्रिया अघि बढेको छ, सम्भव भएसम्म छिट्टै ल्याउने गरी छलफल भइरहेको छ,’ अधिकारीले भने ।

 

उनले सक्दो यही डिसेम्बरसम्म सबै काम सम्पन्न गर्ने गरी काम गरिरहेको बताए । ‘अहिले हामीले जनशक्ति ल्याउन बढी फोकस गरेका छौँ । हामीले सेप्टेम्बर भित्र जनशक्ति पायौँ भने डिसेम्बर भित्र काम सक्ने छौँ,’ उनले भने ‘संरचना ह्याङओभर भए पनि सटिफिकेसनका लागि ३ महिना लाग्न सक्छ । त्यो हाम्रो काम हैन अर्को तहको काम हो ।’

 

विमानस्थल निर्माणका लागि आवश्यक पर्ने उपकरणका सामग्रीहरू धेरै आइसके पनि केही ल्हासामा रोकिएको उनले बताए । कोभिड १९ का कारण सबै सामग्री ल्याउने अनुमति नभएकाले केही उपकरणहरू ल्हासा रोकिएको छ । सो उपकरणहरू लासाबाट ल्याउनलाई पहल गरिरहेको उनले बताए ।

 

‘बाँकी उपकरणहरू १०/१५ दिनमा आउलान तर, जनशक्ति ल्याउने कुरा चुनौती छ । उनीहरू आउन नसके काम सम्पन्न हुन सक्दैन, यो काम हामीले गरेर हुन्न दक्ष्य जनशक्ति नै चाहिने भएकाले कुरिरहनु परेको हो,’ अधिकारिले भने ।

 

यस्तै, आइसीबी २ अन्तर्गत सबै उपकरणहरू आइसकेका छन् । उक्त उपकरणहरू जडान गर्नका लागि थाइल्याण्ड, अमेरिका, अष्ट्रेलियाबाट जनशक्ति ल्याउनु पर्ने छ ।

 

आइसीबी २ का आयोजना प्रमुख प्रविन न्यौपानेका अनुसार पहिलो चरणमा थाइल्याण्डबाट ३० जना जनशक्ति ल्याउनु पर्ने छ । उनीहरू नआएसम्म उपकरण जडानको कामले गति लिन नसक्ने उनले बताए ।

 

‘जति सक्दो छिटो जनशक्ति ल्याउन सक्यो त्यति छिटो काम सकिन्छ । धेरै जसो फिनिसिङका कामहरू सम्पन्न भइसकेको छ । कतिपय कामहरू उपकरण जडान नभएसम्म फिनिसिङ पनि नहुने भएकाले त्यस्ता कामहरू बाँकी छन् । हाम्रो तर्फबाट हुने सबै फिनिसिङको कामहरू सम्पन्न गरेका छौँ,’उनले चाणक्य पोष्टसँग भने ।

 

विभिन्न अवरोध बाबजूद विमानस्थल २०१९ सम्ममा सञ्चालनमा ल्याउने भनिएको थियो । फेरि पछि २०२० मार्चसम्मका लागि म्याद थप गरिएको थियो । जेठ ११ गतेदेखि लकडाउन घोषणा हुँदा विमानस्थलको कामले गति लिन नसकेको हो ।

 

उनले डिसेम्बर अन्तिमसम्म निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको बताए । फिनिसिङको ५ प्रतिशत मात्र काम बाँकी भएको उनले दाबी गरे ।

 

‘कामै नगरेको हैन, गर्न मिल्ने गरेका छौँ, स्पेसल कामका लागि उपकरण जडान गर्ने जनशक्ति चाहिने हो । उनीहरू जहिले आउछन् हाम्रो काम अघि बढ्छ । उनीहरू आएको ३ महिनामा काम सम्पन्न हुन्छ,’ न्यौपानेले भने ।

 

अहिले त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन भए पनि उनीहरूको राष्ट्रबाट पठाउन नमानेको उनको भनाइ छ । ‘यहाँ कोभिड बढिरहेकाले अलि सहज भएको छैन । झन भैरहवामा कोभिड काठमाडौंमा भन्दा धेरै छ, उनीहरूले हेर्नुपर्छ भनेर भनेका छन् । प्रक्रिया भइरहेको छ । परराष्ट्रबाट पनि कुरा भइरहेको छ,’ उनले भने ।

 

उनले सामग्री भएर मात्र नहुने उपकरण जोड्न विशेषज्ञ प्राविधिक चाहिने भएकाले एक्सपर्ट नभएर कामले भनेजति गति लिन नसकेको बताए ।‘हामीले पत्रचार गरेका छौँ । २ महिनामा उहाँहरू आउनु भयो भने हामीले काम सक्न सक्छौँ,’ न्यौपानेले चाणक्य पोष्टसँग भने ‘उनीहरूले सुरक्षाका लागि सम्झौता पठाएका छन्, त्यो भयो भने उनीहरू अक्टुबरमै आउछन् तर, उनीहरूको सम्झौता अनुसार यहाँको वातावरण छैन, उनीहरूको सुरक्षाको ग्यारेन्टी लिनु पर्यो, हामीले आउ भनिरहेका छौँ ।’

 

उनले उनीहरू नेपाल आए हरेक सुविधाहरू उपलब्ध गराएर भए पनि काम गराउने बताए । उनीहरू आए भैरहवा होटलहरूमा राख्नका लागि व्यवस्था भएको उनले बताए । ‘उनीहरूले गर्ने टेक्नीकल काम मात्र हो, हामीले जनशक्ति ल्याउनका लागि पहल गरिरहेका छौँ । उनीहरू आए हरेक सुविधा पुर्याउने भनिरहेका छौँ ,’ आयोजना प्रमुख न्यौपानेले भने ।

 

उनले यो पटक चाडपर्वका बेलामा समेत काम गर्ने भन्दै जनशक्तिलाई ल्याउने प्रयास भइरकेको बताए । शुरूमा थाइल्याण्डको मात्र जनशक्ति ल्याए पुग्ने भएकाले अन्य देशबाट आउने जनशक्ति ३ महिना पछि आएपनि हुने उनले बताए ।‘हामी पोजेटिभ छौँ, शत प्रतिशत समयमै सकिन्छ भन्न सक्दिनौँ तर, कोभिडको कारणले जे पनि हुन सक्छ ,’ प्रमुख न्यौपानेले भने ।

 

उनले सक्दो छिटो विमानस्थल निर्माण सम्पन्न गर्ने तयारीमा रहेको र डिसेम्बरसम्ममा जनशक्ति आए समयमै काम पूरा हुने दाबी गरे । पछिल्लो समय आयोजना अन्तर्गत २७५ बढी कर्मचारीहरू काम गरिरहेका छन् ।

 

भ्याटसहित ६ अर्ब ८२ करोडको रुपैयाँ आइसीबी १ को बजेट रहेको छ । आइसीबी २ को बजेट ५० करोड रुपैयाँ रहेको छ । शुरूमा आइसीबी १ का लागि ६ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । कुल सवा ७ अर्बमा निर्माणधीन अवस्थामा रहेको छ । कुल बजेटको ६३ प्रतिशत खर्च भएको छ ।

 

मुआब्जाका लागि २३ अर्ब ५९ करोड रुपैयाँ बजेट रहेकोमा २१ अर्ब ७५ करोड रुपैयाँ मुआब्जा रकम भुक्तानी गरिसकिएको छ । आयोजना प्रमुख अधिकारीले ९७ प्रतिशत अधिग्रहणको काम सकिसकेको बताए । उनले अंश मुद्दा चलेको, सरकारी रोक्का, मुआब्जा बढी दाबी गरेकाहरूको मुआब्जा वितरण बाँकी रहेको बताए ।

 

‘मुआब्जा सय प्रतिशत सकिने हुँदैन रहेछ । मुआब्जा ह्याण्डओभर गर्ने बेलामा जब अन्तिम सेवाग्राहीले भुक्तानी लिन्छ तब शत प्रतिशत भुक्तानी हुन्छ । टुंगिने क्रममा छ । अब बाँकी रहेका मुआब्जामा धेरै अफ्ठेरो समस्या छैन त्यो पनि छिट्टै वितरण हुने छ,’ अधिकारीले चाणक्यपोष्टसँग भने ।

 

यस विमानस्थलमा ३ हजार मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग बनेको छ । यो आयोजना २०१५ मा निर्माण शुरू भएको थियो । सन् २०१८ डिसेम्बरमा सक्ने लक्ष्य राखिएको आयोजनाले विविध समस्या भोग्नु परेको थियो ।

 

विभिन्न अवरोध बाबजूद विमानस्थल २०१९ सम्ममा सञ्चालनमा ल्याउने भनिएको थियो । फेरी पछि २०२० मार्चसम्मका लागि म्याद थप गरिएको थियो । जेठ ११ गतेदेखि लकडाउन घोषणा हुँदा विमानस्थलको कामले गति लिन नसकेको हो ।

 

हाल २०२१ जनवरीसम्ममा विमानस्थल सञ्चालनमा ल्याउने भनिएता पनि दक्ष जनशक्ति नहुँदा अन्तिम चरणमा रहेको काम पूरा हुन सकेको छैन ।

कामदार अभावमा हुवासिन सिमेन्ट उद्योग निर्माण ठप्प Read Previous

कामदार अभावमा हुवासिन सिमेन्ट उद्योग निर्माण ठप्प

नेपालमै पहिलोपटक 'रक एण्ड टनेल' इन्जिनीयरिङ विषयको पढाइ शुरु Read Next

नेपालमै पहिलोपटक 'रक एण्ड टनेल' इन्जिनीयरिङ विषयको पढाइ शुरु