काठमाडौं। बीमा समितिले कोरोना बीमा मापदण्ड संशोधन गर्दै दाबी भुक्तानी रकम रकम घटाएको हो । नयाँ व्यवस्था अनुसार संक्रमण पुष्टि भएका व्यक्ति होम आइसोलेसन ठीक भएमा बीमा गर्नेले २५ प्रतिशत मात्रै भुक्तानी पाउने व्यवस्था गरेको छ ।
यससँगै अब १ लाखको कोरोना बीमा गर्नेले २५ हजार रुपैयाँ मात्रै भुक्तानी पाउने भएका छन् भने ५० हजारको बीमा गर्नेले साढे १२ हजारमौ भुक्तानी पाउनेछन् ।
त्यस्तै संक्रमित व्यक्ति अस्पताल भर्ना हुनु परेमा वा आइसोलेसनमै औषधि उपचार खर्च वापत अधिकतम बीमांकको ७५ प्रतिशत मात्रै भुक्तानी पाउनेछन् । अर्थात् १ लाखको बीमा गर्नेले ७५ हजार ५० हजारको बीमा गर्नेले साढे ३७ हजार मात्र भुक्तानी पाउने छन् । तर संक्रमित घरमा वा होटलमा बसेको वा खाना खाएको खर्चको बिल भने भुक्तानी नहुने समितिले जनाएको छ।
भदौ २८ अघि जारी गरिएका बीमा लेखमा भने पुरानै व्यवस्था लागू हुने समितिले जनाएको छ । सो मितिअघि बीमा गरेकालाई पीसीआर पोजेटिभपछि पूर्ण रकम (१ लाख वा ५० हजार) नै भुक्तानी हुनेछ।

बीमा गर्नेहरुको संख्या उच्च भएपछि समितिले आफ्नो मापदण्ड संशोधन गरेको हो।त्यस्तै कोरोना बीमामा अब निजी अस्पतालमा गरिएको पीसीआर रिपोर्टले पनि मान्यता पाएको छ । यसअघि सरकारी अस्पतालमा गरिएको पीसीआर परिक्षणका आधारमा मात्र दाबी गर्न पाइने व्यवस्था थियो ।
निजी प्रयोगशालाको पीसीआर रिपोर्टका आधारमा पनि कोरोना बिमामा दाबी भुक्तानी पाइने भएको छ ।अब स्वास्थ्य मन्त्रालयबाट अनुमति पाएका निजी प्रयोगशालाका रिपोर्टका आधारमा पनि बिमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी दिनु पर्नेछ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोशालाहरुबाट पीसीआर परीक्षण गर्दा कोभिड १९ रोग संक्रमण देखिएको सक्कल रिपोर्ट पेश गर्नु पर्नेछ ।
नयाँ मापदण्डमा व्यक्तिगत बीमालेख खारेज गरी सामूहिक बीमालेख मात्र जारी गर्नु पर्ने उल्लेख छ । यो निर्देशन पछि बीमा कम्पनील व्यक्तिगत बीमालेख विक्री गर्ने छैनन ।