तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बीमा गर्दिने

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने भएको छ ।

 

मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने निर्णय भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए।

 

व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीका आधारमा कोरोना बीमा गर्ने जनाएको छ । चालू आर्थिक वर्षमा पहिलो चरणमा कुल जनसङ्ख्याको ४८ प्रतिशत नागरिकको कोरोना बीमा गर्ने योजना छ ।

 

कुल २५ हजार जनसङ्ख्या रहेको सो गाउँपालिकाले पहिलो चरणमा १२ हजारको कोरोना बीमा गर्ने योजना ल्याएको सो गाउँपालिकाले जनाएको छ ।

 

सहकारीको संस्थागत सहयोग तथा साझेदारी कार्यक्रम अन्तर्गत रहेको ९ लाख खर्च गरेर उनीहरुको कोरोना बीमा गरिदिने निर्णय भएको अध्यक्ष पोखरेलले जानकारी दिए । उनले भने, ‘सो बजेटले नपुगे आकस्मिक कोषबाट रकमान्तर गरेर भए पनि सबै नागरिकको बीमा गरिदिने छौँ ।’

 

सहकारीको सदस्य भएमा सहकारीले १००, व्यक्तिले १०० र गाउँपालिकाले १०० रुपैयाँ तिर्ने गरी बीमा गरिदिने व्यवस्था गरिएको तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिए । सहकारीको सदस्य नभएमा बीमा गर्ने व्यक्तिले २०० तिर्नुपर्ने र त्यसमा गाउँपालिकाले १०० थप गरी बीमा गरिदिने मिश्रले जानकारी दिए ।

 

तामाकोशी गाउँपालिकामा हालसम्म एक जनामा पनि कोरोना सङ्क्रमण नदेखिएको भए पनि बीमा कार्यक्रमबाट नागरिकले भरपुर लाभ लिनसक्ने गाउँपालिकाको अपेक्षा छ ।

बैंक अफ काठमाण्डूका ग्राहकले शून्य प्रतिशत ब्याजमा इलेक्ट्रोनिक सामान किन्न पाउने Read Previous

बैंक अफ काठमाण्डूका ग्राहकले शून्य प्रतिशत ब्याजमा इलेक्ट्रोनिक सामान किन्न पाउने

विगतमा ‘नेटवर्किङ’ धन्दा चलाएकाले वस्तुको प्रत्यक्ष विक्री गर्ने लाइसेन्स नपाउने Read Next

विगतमा ‘नेटवर्किङ’ धन्दा चलाएकाले वस्तुको प्रत्यक्ष विक्री गर्ने लाइसेन्स नपाउने