काठमाडौं । सेयर ब्रोकरहरुले अब आफ्नै टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) सफ्टवेयर किन्ने प्रक्रिया अघि बढाएका छन् ।
पछिल्लो समय नेप्से निःशुल्क उपलब्ध गराएको टीएमएसले सधैं ब्रोकर र लगानीकर्तालाई सास्ती दिएपछि आफ्नै सफ्टवेयर खरिद गरेर चलाउने प्रक्रिया अघि बढाएको सेयर ब्रोकर संघका अध्यक्ष भरत रानाभाटले बताए ।
अहिले सफ्टवेयर खरिद गर्नका लागि कम्पनी दर्ताको प्रक्रियामा रहेको छ । यो ब्रोकरहरुले संयुक्त रूपमा खोल्न लागेको कम्पनी हो । ‘अहिले कम्पनी दर्ताको प्रक्रियामा रहेको छ । हामीले अहिले कम्तीमा १० करोड रुपैयाँको चुक्ता पूँजी राखेर कम्पनी दर्ता गर्ने सोच बनाएका छौं,’ अध्यक्ष रानाभाटले चाणक्य पोष्टसँग भने ।
‘यही सफ्टवेयरले राम्रोसँग काम गरेको भए अर्को किन्नु पर्ने अवस्था थिएन । तर, सधैंको समस्या भएपछि हामी सबै ब्रोकरहरू मिलेर आफ्नै सफ्टवेयर किन्ने सोच बनाएका हौं,’ रानाभाटले भने ।
पछिल्लो समय टीएमएसले लगानीकर्तालाई धेरै सास्ती दिइरहेको छ । यो सफ्टवेयर नेप्सेले किनेर ब्रोकरहरुलाई निःशुल्क उपलब्ध गराएको हो । सामान्यतः यस्तो सफ्टवेयर ब्रोकरहरूले आफैं खरिद गर्ने अन्तर्राष्ट्रिय चलन छ । त्यसकारण अहिले ब्रोकरहरूले आफ्नै सफ्टवेयर खरिद गर्न लागेको प्रक्रियालाई नेप्से र धितोपत्र बोर्डले पनि सहज रूपमा लिएको रानाभाटले बताए ।

‘यही सफ्टवेयरले राम्रोसँग काम गरेको भए अर्को किन्नु पर्ने अवस्था थिएन । तर, सधैंको समस्या भएपछि हामी सबै ब्रोकरहरू मिलेर आफ्नै सफ्टवेयर किन्ने सोच बनाएका हौं,’ उनले भने ।
यस्तोे सफ्टवेयर ब्रोकरहरूको आफ्नै हुँदा ब्रोकरले आफ्ना ग्राहकहरूलाई अतिरिक्त सेवा दिन पनि सहयोग पुग्छ । प्रत्येक ब्रोकरहरुले आ–आफ्नै ढंगले ग्राहकहरुलाई सेवा दिन सक्छन् । टीएमएसमै विभिन्न चार्टहरु, ग्राफहरु, प्राविधिक विश्लेषण, आधारभूत विश्लेषण इत्यादि हेर्न सक्ने व्यवस्था गर्न सकिन्छ । त्यसो हुँदा नेप्सेसँग ‘म्याचिङ इन्जिन’ मात्र हुन्छ ।
ब्रोकरहरुले विदेशका ठूला सेयर बजारहरुमा चलिरहेका र प्रमाणित भइसकेका सफ्टवेयर नै किन्ने विचार गरेका छन् । यद्यपि कुन किन्ने भन्ने चाहिँ अझै टुङ्गो नलागिसकेको रानाभाटले बताए ।
यस्तो सफ्टवेयर र हार्डवेयर खरिद गर्न २५ करोड हाराहारी लगानी लाग्ने जानकारहरू बताउँछन् ।
केही दिनयता नेप्सेको टीएमएस लगातार बिग्रन थालेपछि ब्रोकर र लगानीकर्ताहरू दुवै निराश छन् । कतिपय लगानीकर्ताले यसमा नेप्से र केही सीमित ब्रोकरको खराब नियतसँग पनि जोडेर हेरेका छन् ।
हाल दोस्रो बजारमा करिब २ लाख ८० हजारभन्दा बढी सक्रिय लगानीकर्ता छन् । ती मध्ये करिब ७० हजार भन्दा बढीले टीएमएसमार्फत नै सेयर कारोबार गर्दै आएका छन् ।