एक जोडी चल्लाको मूल्य ५ हजार !

बागलुङ । दुई वर्षअघि रैथाने साकिनी जातको कुखुरापालन व्यवसाय थालिएको ‘सापकोटा कृषि फार्म’मा अहिले दशथरि पन्छी छन्।

 

आठ कुखुरा र दुई चरा प्रजातिका। कुनै स्थानीय त कुनै आयातित। सबै गर्दा सङ्ख्या सात सय बढी छ। बागलुङ नगरपालिका–३ रातामाटास्थित फार्मका सञ्चालक बैकुण्ठ सापकोटाका अनुसार स्थानीय जाततर्फ साकिनी, उल्टे, घाँटीखुइले र गुजुमुजे कुखुरा छन्। आयातित प्रजातिमा कडकनाथ, बेन्टम, सिल्की र पोलिस कुखुरा छन्।

 

यस्तै चरा प्रजातिका बट्टाइ र टर्की पनि पालिएको छ। कडकनाथ भारतीय, बेन्टम जापनीज र सिल्की चिनियाँ प्रजातिको कुखुरा भएको उनी बताउँछन्।‘बेन्टम, सिल्की र पोलिस बढीजसो सौखका लागि पाल्ने चलन छ’, उनले भने।

 

सापकोटाकाले व्यवसायिक रूपमा चल्ला उत्पादन गरेर बेच्ने ध्येयले विदेशी प्रजातिका कुखुरा पालेका हुन्। फार्ममा चल्ला निकाल्ने ह्याचरी पनि छ। ‘मासुका लागि भन्दा पनि चल्ला बेच्ने उद्देश्य हो,’ उनले भने, ‘काठमाडौं, पोखरालगायतका ठाउँमा यी कुखुराको बढी माग छ।’

 

महिनादिन पुगेका पोलिस र सिल्की कुखुराको जोडीलाई ५ हजार पर्ने उनको भनाइ छ।यस्तै दुई महिनाका जापनीज बेन्टम कुखुराको जोडीलाई ४ हजार पर्छ।‘यी कुखुराको चल्ला नै एकदम महँगो छ, हेर्दा पनि आकर्षक हुने हुनाले सौखिन व्यक्तिले घरमा लगेर पाल्छन्’, उनले भने।

 

स्थानीय जातका कुखुरासँगै कडकनाथ, बट्टाइ र टर्की भने मासुका लागिसमेत फार्मबाट बिक्री भइरहेको छ।भारतीय जातको कडकनाथ प्रतिकिलो दुई हजारसम्म बेचेको सापकोटाले सुनाए। कडकनाथको अण्डासमेत महँगोमा विक्री हुन्छ।

 

यो कुखुरा स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छ।पछिल्लो समय बट्टाइ पनि मासु र अण्डाका लागि व्यवसायिक रूपमा पाल्न थालिएको छ। यसको मासु र अण्डालाई शक्तिबद्र्धक मानिन्छ।

 

यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने विश्वास गरिन्छ।‘बट्टाइ ३००, चल्ला ५० र अण्डा १० रुपैयाँमा विक्री भइरहेको छ’, सापकोटाले भने, ‘एक दिने टर्कीको चल्लालाई भने ३५० पर्न जान्छ, मासुका लागि बेच्दा पनि महँगो छ।’

 

बट्टाइ पाँच हप्तापछि मासुका लागि प्रयोग गर्न योग्य हुन्छ।दुई वर्षसम्म बाँच्ने बट्टाइले झण्डै तीन सयसम्म अण्डा दिने गर्छ। त्यसपछि भने पोथी बट्टाइलाई पनि मासुका रूपमा बेच्न सकिने उनले बताए।

 

उनले सुरूमा काठमाडौं र पोखराबाट चल्ला ल्याएर पन्छी पालन थालेका हुन्।रासस

वैदेशिक रोजगारीबाट श्रमिकहरु फर्कँदै, कसरी होला व्यवस्थापन ? Read Previous

वैदेशिक रोजगारीबाट श्रमिकहरु फर्कँदै, कसरी होला व्यवस्थापन ?

जमिनको वर्गीकरण बिना किन कित्ताकाट खोलियो : नवराज बस्नेतको अन्तर्वार्ता Read Next

जमिनको वर्गीकरण बिना किन कित्ताकाट खोलियो : नवराज बस्नेतको अन्तर्वार्ता