विद्युतीय तार भूमिगतको काम ठप्प, अहिलेसम्म कति बिछ्याइयो तार

काठमाडौं । लकडाउनको समयमा समेत निरन्तरता पाएको बिजुलीका तार भूमिगतको कामले निषेधाज्ञामा भने गति पाउन सकेन ।

 

भदौ ३ गतेदेखि लगाइएको निषेधाज्ञामा कामदारलाई आवतजावत गर्ने पास नपाएपछि कामले गति लिन नसकेको आयोजनाका उपनिर्देशक मोहन सिलवालले बताए ।

 

उनले निषेधाज्ञाको अवधिभर खासै काम हुन नसके पनि अब केही दिनमै कामले निरन्तरता दिने बताए । ‘लकडाउनमा पासको व्यवस्था थियो, पास लिएर भए पनि हामीले निरन्तर काम गरिरहेका थियौँ तर, निषेधाज्ञामा पासको व्यवस्था नहुँदै काम हुन सकेको छैन,’ सिलवाले चाणाक्य पोष्टसँग भने ।

 

प्राधिकरणले ३० महिनाभित्र उपत्यकाको ४०० किलोमिटर क्षेत्रका एक लाख घरधुरीमा विद्युतीय तार भूमिगत गरिसक्ने योजना सहित भारतीय कम्पनी केइआई इण्डष्ट्रिजसँग ठेक्का सम्झौता गरेको छ ।

 

लकडाउनको समयमा २ वटा सेक्सनमा तार भूमिगतको काम भएको थियो । चाबहिल सेक्सनमा तार भूमिगत गर्ने काम सम्पन्न भइसकेको उनले जानकारी दिए । चाबहिल–मैजुबाल खण्डको ८०० मिटर सडकमा तार भूमिगत गरिएको हो ।

 

यसअघि पुरानो बानेश्वर, गौशला, चाबहिल खण्डको २ किलोमिटर सडकमा तार राख्ने काम पूरा भइसकेको उनले जानकारी दिए । चाबहिलदेखि जोरपाटी खण्डमा पनि पाइप विछ्याउने काम भए पनि तार राख्न भने बाँकी रहेको उनले बताए ।

 

महाराजगञ्ज–बुढानीलकण्ठ सेक्सनमा जापानीज दूतावाससम्म खनेर पाइप हालने काम भइसके पनि तार हाल्ने काम भने बाँकी रहेको छ । महाराजगञ्ज–बुढानिकलकण्ठ झण्डै साढे ७ किलोमिटर लम्बाइ रहेको छ ।

 

तार भूमिगत गर्ने यो परियोजना गत वर्ष फागुन ५ गते प्रधानमन्त्री केपीशर्मा ओलीले औपचारिक रूपमा उद्घाटन गरी सुरुवात गरिएको थियो ।

 

पहिलो चरणमा रत्नपार्क र महाराजगञ्जका वितरण केन्द्रका विद्युतीय तारहरु भूमिगत गर्न लागिएको हो । नमूना परियोजनाका रूपमा अघि बढाइएको उपत्यकाको अण्डरग्राउण्ड केबलीङको काम पहिलो चरणमा रत्नपार्क, न्युरोड, असन, ठमेल, लाजिम्पाट, महाराजगञ्ज, बानेश्वर, एयरपोर्ट, चाबहिल र बौद्ध सम्मका विद्युतीय तार भूमिगत गरिँदैछ ।

 

प्राधिकरणले ‘होराइजनल ड्रिलिङ’ प्रविधिबाट ठाउँ–ठाउँमा प्वाल पारेर तार भूमिगत गरिरहेको छ । जसका कारण सबै सडक खन्नु परेको छैन । रत्नपार्क र महाराजगञ्जका केन्द्र आसपासको ठाउँमा तार भूमिगत गर्ने काम भारतको केइआइकके कम्पनीलाई ठेक्का दिइएको छ ।

 

प्राधिकरणले ३० महिनाभित्र उपत्यकाको ४०० किलोमिटर क्षेत्रका एक लाख घरधुरीमा विद्युतीय तार भूमिगत गरिसक्ने योजना सहित भारतीय कम्पनी केइआई इण्डष्ट्रिजसँग ठेक्का सम्झौता गरेको छ ।

 

विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न एशियाली विकास बैंक (एडीबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ । विद्युत वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देखिने छैन ।बिजुलीका तार भूमिगतको काम २०७८ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

यी ठाउँमा तार भूमिगत गरिँदै

 

बालुवाटार, गोंगबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत पर्ने क्षेत्रमा २०० किलोमिटर र बागबजार, पुतलीसडक, असन, ठमेल, लगायतका रत्नपार्क बिजुली वितरण क्षेत्रमा भूमिगण गर्ने काम हुने छ ।

 

सिल्वालले साना सडकहरुमा तारलाई व्यवस्थित बनाउने काम गरिने र नाङ्गा तारहरुलाई सुरक्षित बनाउने तरिका अपनाउँदै जाने बताए । तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्र अन्तर्गतका करिब ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान गरिने छ ।

 

दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना प्राधिकरणको छ ।

 

तार अन्डरग्राउण्ड गर्दा कति लाग्छ खर्च ?

 

महाराजगञ्ज र रत्नपार्कमा तार भूमिगत गर्न छुट्टाछुट्टै ठेक्का गरिएको छ । दुवै ठेक्काका लागि कुल पौने ७ अर्ब रुपैयाँ लगानी रहेको छ । महाराजगञ्जमा सबा ३ अर्ब र रत्नपार्कमा साढे ३ अर्ब खर्च लाग्ने भएको छ ।

 

बिजुलीका तार अन्डरग्राउण्ड प्रणाली महँगो भएकाले त्यसलाई सबै ठाउँमा प्रयोग गर्न सम्भव नहुने उनले बताए ।

 

‘यो महंगो प्रणाली हो, विकसित देशमा पनि मुख्य सहरमा मात्र यस्तो प्रणाली जडान गरिएको छ, हामीले पनि उपत्यकाका मुख्य चोकहरुमा मात्र यस्तो प्रणाली जडान गर्ने छाँै, गल्लीहरुमा साना सडकमा यसलाई कार्यन्वयन गर्न गारो हुन्छ, सकिँदैन पनि,’ सिल्वालले भने ।

उपत्यकामा जारी निषेधाज्ञा खुकुलो हुने, अब के गर्न पाइन्छ, के गर्न पाइँदैन ? Read Previous

उपत्यकामा जारी निषेधाज्ञा खुकुलो हुने, अब के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

पसल सञ्चालनमा नयाँ व्यवस्था, कुन बार कुन पसल खोल्न पाइन्छ ? (सूचीसहित) Read Next

पसल सञ्चालनमा नयाँ व्यवस्था, कुन बार कुन पसल खोल्न पाइन्छ ? (सूचीसहित)