काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि जारी निषेधाज्ञा बिहीबारदेखि खुकुलो हुने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको संयुक्त बैठकले हाल जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै शर्तसहित खुकुलो बनाउने निर्णय गरेका हुन् ।
तेस्रो पटक भदौ १७ गते थपिएको निषेधाज्ञाको समयवधि बुधबार राति १२ बजेदेखि समाप्त हुँदैछ ।
निषेधाज्ञा खुकुलो बनाइएसँगै सार्वजनिक र निजी सवरीसाधन जोर विजोर प्रणालीमा चलाउन पाइने, समय तोकेर दैनिक उपभोग्य वस्तुको पसल खोल्न, शर्त सहित उद्योग, कलकारखाना, निजी कार्यालय खोल्न पाइने भएको छ ।
निषेधाज्ञा खुकुलो भए पनि उपत्यका प्रवेशमा भने कडाइ गरिने भएको छ । होटल रेष्टुरेन्ट, सिनेमा हल, क्लब तथा अन्य मनोरञ्जन स्थल भने बन्दै रहने छन्।
त्यस्तै, भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने काम गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन।
पछिल्लो समय सरकारले निषेधाज्ञा मात्र लगाएको तर, आर्थिक गतिविधि सञ्चालनको कुनै विकल्प नअपनाएको भन्दै चौतर्फी आलोचना हुँदै आएको थियो । यसलाई मध्ये नजर गर्दै जिल्ला प्रशासनहरुले निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेको जनाइएको छ ।