मोबाइल बैंकिङ कारोबारको सीमा बढ्यो, अब ५० हजारसम्म कारोबार गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट हुने कारोबार रकमको सीमा बढाएको छ । अब मोबाइल बैंकिङबाटै एक दिनमा ५० हजारसम्मको कारोबार गर्न सकिने भएको छ। यस अघि एक दिनमा १५ हजारसम्म मात्रै कारोबार गर्न सकिने व्यवस्था थियो ।

 

राष्ट्र बैंकले मौद्रिक नीतिमा भुक्तानी प्रणालीको सुधार गर्ने घोषणा गरेको थियो । भुक्तानी प्रणालीलाई प्रविधिमैत्री बनाउने, विद्युतीय माध्यमबाट गरिने भुक्तानीलाई बढाउने र नगद कारोबारलाई क्रमशः घटाउँदै लैजाने नीति अवलम्बन गरिने राष्ट्र बैंकले घोषणा गरेको छ।

 

यस्तै, राष्ट्र बैंकले इन्टरनेट बैंकिङको माध्यमबाट बैंक खातामा पैसा ट्रान्सफर गर्दा प्रतिदिन बढीमा १० लाख तथा मासिक ५० लाखसम्मको  कारोबार गर्न सकिने व्यवस्था गरेको छ ।

 

इन्टरनेट बैंकिङमा मर्चेन्टबाट कारोबार गर्दा भने प्रतिदिन एक लाख रुपैयाँसम्म कारोबार गर्न पाइन्छ। यस्तो कारोबार महिनामा ३० लाखसम्मको गर्न सकिन्छ।

 

चालु आर्थिक वर्षभित्र वास्तविक समयको भुक्तानी प्रणाली सञ्चालनमा ल्याइने राष्ट्र बैंकले घोषणा गरेको छ। राष्ट्रिय भुक्तानी द्वार/स्वीचको विकासमार्फत् विद्युतीय भुक्तानी कारोबारको अन्तर आवद्धता सुनिश्चित गरी भुक्तानी कारोबारको राफसाफ स्वदेशमै हुने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ।

स्टार होटेलहरुमा खानाको रोजाइमा फापर Read Previous

स्टार होटेलहरुमा खानाको रोजाइमा फापर

युनाइटेड इन्सुरेन्सको २४०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन Read Next

युनाइटेड इन्सुरेन्सको २४०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन