काठमाडौं । पछिल्लो समय लगातार उकालो लागेको सेयर बजार यो साता लगातार दोहोरो अंकले घटेको छ ।
अघिल्ला दुई सातामा करिब १०० अंकले बढेको बजार यो साताको दुई दिनमै करिब २३ अंकको गिरावट आएको छ । आइतबार करिब १० अंकले घटेको बजार आज करिब १२ अंकले घटेको छ ।
सेयर बजार मापक सूचक नेप्से १२.१७ अंकले घटेर १४८७.८१ बिन्दुमा आइपुगेको छ । यसदिन १९२ कम्पनीको २ अर्ब १६ करोड ४९ लाख ३० हजार २१४ रुपैयाँ बराबरको कारोबार भएको छ । ५५ लाख ९५ हजार ५५१ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये चार समूहको परिसूचक उकालो लागेको छ भने ८ समूहको परिसूचक ओरालो लागेका छन् । आज व्यापार समूहको परिसूचक सबैभन्दा धेरै २२.९६ अंकले बढेको छ भने जीवन बीमा समूह ९२.५४ अंकले घटेको छ ।
आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै २८ करोड ४० लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।
पछिल्लो ३ हप्तादेखि पुनर्बीमा कम्पनी लगातार सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै आएको छ । कारोबारकै आधरमा आज नागरिक लगानी कोष र नेको इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज ३ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । घट्दो बजारमा पनि उन्नति सहकार्य लघुवित्त, युनिभर्सल पावर कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
आज एनआरएन इन्फ्रास्टक्चर कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।