काठमाडौं । नेपालको अधिकांश भू–भागमा हाट बजार खुबै लाग्थ्यो । गृहणीहरु हाट बजार लाग्ने दिन बिहानै देखि घरको कामधन्दा सकाएर हाट बजार जाने गर्दथे र ८–१० दिनलाई पुग्ने गरी आफूलाई आवश्यक सामाग्री ल्याउने गर्थे ।
घर छेउको किराना पसलहरुमा आफूले खोजेको सम्पूर्र्ण समान नपाउने र भएका समानहरु पनि महँगो पर्ने हुँदा खरिदकर्ताहरु हाट बजार पुग्ने गर्दथे । खाद्यान्न, लत्ताकपडा तथा अन्य औजारहरु पनि हाट बजार बाट किन्ने गर्दथे ।
सहरीकरणको विस्तारसँगै मानिसहरुको शैली र सोच परिर्वतन हुँदै गएको छ । उपभोग्य वस्तुहरुमा विविधता आएको छ । त्यसैले परम्परागत हाट बजारले समाजमा आएको यस्तो परिर्वतन सम्बोधन गर्न सक्ने अवस्था रहेन । मानिसहरु सबै सामान एउटै पसलमा खोज्न थाले । यसले किराना पसलको विस्तार गर्यो ।
मिलाएर र सजाएर राखिएका सामान, सबै सामान एकै छाना मुनि पाइने, सामानमा पनि धेरै विविधता पाइने हुनाले सहरबजारका मानिसहरु सुपरमार्केट प्रति आकर्षित हुन थालेका हुन् ।
अब भने मानिसहरु परम्परागत किराना पसलहरु बाट पनि उक्ताउन थालेका छन् । पसलेसँग भाउ गर्ने, उसँग आफूलाई चाहिने सामान माग्नुपर्ने, आफूलाई चाहिने सामान राम्रोसँग हेर्नै नपाउने जस्तो अवस्थाले मानिसहरु डिपार्टमेन्ट स्टोर र सुपरमार्केट तर्फ आकर्षित हुन थालेका छन् ।
मिलाएर र सजाएर राखिएका सामान, सबै सामान एकै छाना मुनि पाइने, सामानमा पनि धेरै विविधता पाइने हुनाले सहरबजारका मानिसहरु सुपरमार्केट प्रति आकर्षित हुन थालेका हुन् ।
सुपरमार्केट संस्कृतिलाई कतिपय समाजशास्त्री/मानवशास्त्रीहरु नेपालमा बढदो मध्यम वर्गको उत्थान सँगसँगै जोडेर हेर्नु पर्ने बताउँछन ।

पाटन संयुक्त क्याम्पसका उप–प्राध्यापक तथा मानवशास्त्री नवराज वस्नेतका अनुसार डिपार्टमेन्ट संस्कृति बढ्नुको पछाडि समाजिक संरचनामा आएको परिवर्तनको पनि भूमिका छ ।
उनी भन्छन् ‘कार्ल माक्र्सले श्रमले वस्तुको मूल्य निर्धारण गर्छ भने । अन्य अर्थशास्त्रीहरुले माग र पूर्तिले वस्तुको मूल्य निर्धारण गर्छ भन्ने अवधारणा विकास गरे । तर, अहिले मानिसको चाहानाले पनि वस्तुको मूल्य निर्धारण हुने भएकोले यस्ता संस्कृतिको विकास भएको छ ’
खुल्ला अर्थनीति, विश्वव्यापीकरण र सूचना प्रविधिको विकास तथा विस्तारले पनि सुपरमार्केट स्टोरको प्रयोगमा व्यापकता ल्याएको छ ।
शुरुवाती समयकम उच्च वर्गका सहरीया मानिसहरु मात्र सुपरमार्केटमा किनमेल गर्न जाने चलन थियो । अहिले भने मध्यम र निम्न मध्यम वर्गका मानिसहरु पनि यसप्रति आकर्षित हुन थालेका छन् ।
पछिल्लो समय नेपालीहरु विदेश जाने प्रवृत्ति ह्वात्तै बढेका कारण पनि मानिसहरुको किनमेलको संस्कृतिमा परिर्वतन आएको हुनसक्छ । लामो समय विदेशमा बसेर आएपनि त्यहाँ बस्दाको रहनसहनका केही पक्षहरु मानिससँगै स्वदेश आउने कुरा अस्वाभाविक होइन ।
त्यसको प्रत्यक्ष प्रभाव पनि हुन सक्छ नेपालमा डिपार्टमेन्ट स्टोरको विस्तार । सहर र सहर उन्मुख गाँउहरुमा डिपार्टमेन्ट स्टोरको विस्तार बढ्दै गएको देखिन्छ । आम्दानी वृद्धि र रेमिट्यान्सले पनि डिपार्टमेन्ट स्टोर संस्कृति बढेको विज्ञहरु बताउँछन ।
नेपालमा ठ्याक्कै कुन समयबाट सुपरमार्केट स्टोरको विकास भयो भन्ने तथ्याङक छैन । तर, २०४६ सालपछि यसको विस्तार र विकास हुँदै आयो । यसको मतलब, खुल्ला अर्थतन्त्रसँग यसको गहिरो साइनो भेटिन्छ ।
शुरुवाती समयकम उच्च वर्गका सहरीया मानिसहरु मात्र सुपरमार्केटमा किनमेल गर्न जाने चलन थियो । अहिले भने मध्यम र निम्न मध्यम वर्गका मानिसहरु पनि यता आकर्षित हुन थालेका छन् ।
स्टोरमा गएर सामान किन्नुको केही फाइदा छन् । आफूले खोजेका अधिकाश सामान एकै स्थानमा पाइने, मूल्य सोधिरहनु नपर्ने, आफ्नो बजेट अनुसारको खरिद गर्न सकिने तथा ब्राण्ड तथा रुची अनुसारको सामान छनोटमा सुविधा भएको हुँदा पनि उपभोक्ताहरु आकर्षित भएका हुन् ।
डिपार्टमेन्ट स्टोरहरुले पूँजीलाई केन्द्रिकृत गर्ने काम गर्छन् । मानिस लोभ्याउने, मोहित बनाउने र क्रेताको ‘वार्गेनिङ्ग पावर’ घटाउने काम गर्छन् ।
यस्ता स्टोरहरुमा मूल्यमा एकरुपता हुन्छ । पसलेले व्यक्ति हेरिहेरी मूल्य लगाउने अवस्था खासै हुँदैन । यस्ता स्टोरहरुको विस्तारले अनौपचारिक अर्थतन्त्रको रुपमा रहेको घरायसी किनमेलको क्षेत्रलाई पनि करको दायरामा ल्याएर औपचारिक अर्थतन्त्रको हिस्सा बनाउन मद्दत पुर्याएको छ ।
त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक तथा मानवशास्त्री डा. गोकर्ण ज्ञवालीका अनुसार ‘ डिपार्टमेन्ट स्टोरहरुले पूँजीलाई केन्द्रिकृत गर्ने काम गर्छन् । मानिस लोभ्याउने, मोहित बनाउने र क्रेताको ‘वार्गेनिङ्ग पावर’ घटाउने काम गर्छन्, यस्ता स्टोरहरुले’ ज्ञवालीको भनाइको पुष्टि संसारका ठूला डिपार्टमेन्ट स्टोरहरुले गरेका छन् ।
यी हुन् विश्वका सबैभन्दा ठूला डिपार्टमेन्ट स्टोर
संसारमा नाम चलेका डिपार्टमेन्ट स्टोरले आफ्ना शाखा विस्तार र आम्दानी मनग्य कमाएका छन् । अमेरिका र जापानमा केन्द्रिय कार्यालय रहेको ‘सेभेन इलेभन’ डिपार्टमेन्ट स्टोरको ४६ हजार शाखा रहेको छन् । यो कम्पनीले विश्वभर ४५ हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
शाखाको हिसाबमा दोस्रो स्थानमा रहेको नेदरल्याण्डमा केन्द्रीय कार्यालय रहेको ‘स्पर’ डिपार्टमेन्ट स्टोरको १३ हजार ५ सय शाखा रहेका छन् ।

शाखा संख्याको हिसाबले तेस्रोमा चर्चित ‘वालमार्ट’ डिपार्टमेन्ट स्टोर रहेको छ । यो स्टोरकोे ११ हजार ८८ वटा शाखा रहेका छन् भने २३ लाखलाई रोजगारी प्रदान गरेको छ ।
यसैगरी जर्मनीको अल्डीको १० हजार ३ सय ६६ शाखा रहेका छन् भने फ्रान्सको क्यारिफोरको १० हजार १ सय ३ वटा शाखा छन् ।
हिजो धनी र गरिब सबै तरकारी बजार पसेर सँगसँगै आलु, प्याज र साग किन्थे भने डिपार्टमेन्ट स्टोरको संस्कृतिले धनी र गरिबको बजार छुट्याएको छ ।
समयको बचत, बिचौलियाहरुको अन्त्य
यस्ता स्टोरहरुले मानिसको समय बचत गर्नुका साथै रोजगारी पनि सृजना गरको अनुभव छ । स्टोरका सञ्चालहरुले उत्पादक र उपभोक्ताबीच रहेका बिचौलियाहरुको अन्त्य गरेको दावी गर्छन् ।
एक सञ्चालक भन्छन् ‘हामी सामानहरु सिधै कम्पनीबाट नै मगाउछौँ जसको कारण हामीका भएका सामानहरु अरुले हल्ला गरेको जस्तो महँगो छैन’ यस्ता स्टोरहरुमा दैनिक उपभोग्यहरु सामानहरु सस्तो भएको उपभोक्ता पनि स्वीकार गर्छन् । ‘क्रेडिट कार्ड’, ‘मोबाइल पे’ जस्ता सुविधाले पैसा बोक्नु पर्ने झन्झट नहुने भएका कारण पनि उपभोक्ताहरु यस्ता स्टोर तर्फ आर्कषित भएका छन् ।
नेपालमा भाटभटेनी सुपरमार्केट, सोपिया मेघा मार्ट, सेल्वयज डिपार्टमेन्ट, टिमार्ट, सेन्ट्रल डिपार्टमेन्ट, डिल्लीबजार सुपार्टमेन्ट, काष्ठमण्डप बजार, गोर्खा डिपार्टमेन्ट, के एण्ड के मार्ट जस्ताब्राण्डका डिपार्टमेन्ट स्टोर सञ्चालनमा छन् ।
बढ्दै गएको यस्तो संस्कृतिले सामाजमा धनी र गरिबबीचको खाडल देखाउने सामाजशास्त्री मिनेष घिमिरे बताउँछन्।
‘हिजो धनी र गरिब सबै तरकारी बजार पसेर सँगसँगै आलु, प्याज र साग किन्थे भने डिपार्टमेन्ट स्टोरको संस्कृतिले धनी र गरिबको बजार छुट्याएको छ,’ उनी भन्छन्, ‘समाजमा सामाजिक विभाजनको कारक तत्वको रुपमा डिपार्टमेन्ट स्टोरहरु देखा पर्ने खतरा देखापरेको छ’ क्रेताको खर्च बढाउने, सामान खरिद गर्न समोहित पार्ने जस्ता कुराले देशको आयात बढाउनुका साथै मानिसहरुलाई अत्याधिक उपभोग्य बनाएको तथ्य पनि नर्कान सकिदैंन ।
समाजमा अरु भन्दा आफू भिन्न वर्गको हुँ भनेर देखाउने र विभाजनको रेखा कोर्ने सन्दर्भमा पनि यस्ता स्टोरहरुको भूमिका भएको समाजशास्त्रीहरु बताउँछन् ।