खाद्यान्नमा परनिर्भरता बढ्दो, चालू आवमा दोब्बर आयात गर्नुपर्ने, कति महिनालाई पुग्ने स्टक छ ?

काठमाडौं । कृषिप्रधान मुलुक भनिए पनि खाद्यान्नमा परनिर्भरता बढ्दै गएको छ । समृद्ध नेपालको नारा घन्काउने सरकारले आधुनिक र वैज्ञानिक कृषि प्रणाली अपनाइ कषि उत्पादकत्व बढाउन नसक्दा वर्षेनि भरनिर्भरता बढ्दै गएको हो ।

 

मल, बीउ अभाव, बाढी पहिरोबाट क्षति लगायत कारण यस वर्ष पनि कृषि उत्पादनमा खासै वृद्धि हुने सम्भावना छैन । यसैलाई मध्येनजर गर्दै खाद्य व्यवस्थापन तथा खाद्य व्यापार कम्पनीले चालू आर्थिक वर्षका गत वर्षको भन्दा दोब्बर मात्रमा चामल, धान, गहुँ खरिद गर्ने भएको छ ।

 

कोरोनाका कारण विदेशबाट ठूलो संख्यामा नेपाली फर्किएकाले खपत बढ्दा ठूलो परिमाणमा खाद्यान्न आयात गर्नु भर्ने भएको कम्पनीले जनाएको छ । हाल खाद्य कम्पनीसँग ११ हजार ७०० मेट्रिकटन चामल स्टकमा रहेको छ । थप खाद्य सामग्री खरिदको तयारी कम्पनीले गरिरहेको छ ।

 

समृद्ध नेपालको नारा घन्काउने सरकारले आधुनिक र वैज्ञानिक कृषि प्रणाली अपनाइ उत्पादकत्व बढाउन नसक्दा वर्षेनि भरनिर्भरता बढ्दै गएको हो ।

 

कम्पनीकी सूचना अधिकारी सर्मीला न्यौपानेका अनुसार १० हजार मेट्रिकटन चामल खरिदको तयारी भइरहेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा ३० हजार मेट्रिकटन खरिद गर्ने लक्ष्य रहेको थियो । सो मध्ये २१ हजार मेट्रिकटन चामल खरिद भएको छ । १० हजार मेट्रिकटन चामल गत आव अन्तर्गत नै खरिद गर्न लागिएको हो । सो चामल अबको ३ महिना भित्र आइपुग्ने न्यौपानेले बताइन् ।

 

उनका अनुसार गत आर्थिक वर्षमा चैत्र महिनामा सो चामल आयात गर्न तयारी भए पनि लकडाउनका कारण फेरि रिटेन्डर गर्नुपर्ने भएको हो । चालू आर्थिक वर्षका लागि धान ६० हजार मेट्रिकटन खरिदको तयारी गरिएको छ । गहुँ ५ हजार मेट्रिकटन खरिदको तयारी गरिएको छ । चामल १५ हजार मेट्रिकटन खरिदको तयारी गरिएको उनले बताइन् ।

 

‘गत आवको १० हजार मेट्रिकटन मात्र चामल खरिद गर्न बाँकी रहेको छ, चालू आवका लागि सबै खाद्यान्न दोब्बर आयातको तयारी गरेका छौँ,’ उनले चाणक्य पोष्टसँग भनिन् ।

 

गत आर्थिक वर्षमा खाद्य सामग्री खरिदका लागि १ अर्ब रुपैयाँ हाराहारीमा बजेट विनियोज गरिएको थियो । चालू आर्थिक वर्षका लागि ४ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

चालू आवमा खाद्य कम्पनीले २०० मेट्रिकटन चिनी समेत किन्ने भएको छ । चिनी खरिदका लागि ७६ करोड रुपैयाँ विनियोज गरिएको उनले जानकारी दिइन् ।

 

चालू आवका लागि कम्पनीले ५० मेट्रिकटन मासको दाल, २० मेट्रिकटन भटमास, ५० मेट्रिकटन मासको दाल, १०० मेट्रिकटन मुसुरोको दाल १०० मेट्रिकटन रहरको दाल, तोरीको तेल र सनफल्लाव तेल १०÷१० हजार मेट्रिकटन खरिद गर्ने लक्ष्य रहेको छ ।

 

कम्पनीकी सूचना अधिकारी न्यौपानेले निषेधाज्ञा लम्बियो भने पनि किसानले बजारमा चामल तथा खाद्य वस्तु अभाव महसुस नहोस् भनेर तयारी गरिएको बताइन् । नयाँ आउने धान कात्तिकबाट खरिद सुरु गरिने छ । गहुँ चैत्र महिनाबाट खरिद सुरु गरिने छ ।

 

३ महिनालाई पुग्ने खाद्यान्न मौज्दात

 

नेपाल चामल, तेल तथा दाल उद्योग महासंघका अध्यक्ष सुवनेध कुमार गुप्ताका अनुसार उद्योगहरूसँग पर्याप्त चाम, तेल तथा दालहरू रहेका छन् । उनले मौजदातमा खाद्य वस्तुहरू भरिपूर्ण भए पनि बजारबाट विक्री हुन नसकेको बताए ।

 

उनले किसान, उद्योग, ट्रेडसँग र विक्रेताहरूसँग समेत गोदाममा चामल, तेल तथा दाल आवश्यक मात्रामा रहेको बताए । यसरी सबै मौज्दात ३ महिनासम्म उपभोक्तालाई खान पुग्ने उनको भनाइ छ । ‘हामीसँग मौजदात भनेजति छ तर, पसलमा लगेको विक्री भएको छैन, विक्री नभएसम्म पसलबाट पैसा आउँदैन,’ अध्यक्ष गुप्ताले चाणक्य पोष्टसँग भने ।

 

उनले श्रमिकहरू उपत्यका भित्र आउन नसकेकोले उद्योगहरू भने बन्द भएकै हालमा रहेको बताए । १० करोड रुपैयाँ हाराहारीमा चामल, दाल तथा तेलहरू पसलहरूमा रहेको र त्यसको ५० प्रतिशत रकम समेत उठ्न नसकेको उनले गुनासो गरे ।उनले अब आगामी समयमा विस्तारै खाद्य पसल तथा उद्योगहरू सञ्चालनको अवधि बढाउँदै लैजानु पर्ने बताए ।

 

‘सधैं बन्द गरेर मात्र हुँदैन, ६ महिना भइसक्यो, उद्योग शिथिल छ, यसलाई अघि बढाउन सरकारले पसल तथा उद्योगहरू सञ्चालन अवधि बढाउँदै लैजानुपर्छ,’ अध्यक्ष गुप्ताले भने ।

 

चालू आर्थिक वर्षको पहिलो एक महिनामा ३ अर्ब ४७ करोड ९७ लाख रुपैयाँ बराबरको धान तथा चामल आयात भएको छ । गत आवको सोही महिनामा १ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो ।

 

गत आर्थिक वर्ष २०७६/७७ मा ३० अर्ब ८२ करोड ५८ लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो ।आर्थिक वर्ष २०७५÷७६ मा कुल ३२ अर्ब ५९ करोड ५० लाख रुपैयाँ बराबरको चमल आयात भएको थियो ।

 

यस्तै चालू आर्थिक वर्षमा ४ अर्ब १७ करोड ९८ लाख रुपैयाँ बराबरको तेल आयात भएको छ । गत आर्थिक वर्षको सोही समयमा ३ अर्ब ५१ करोड ४९ लाख रुपैयाँ बराबरको तेल आयात गरिएको थियो ।

 

गत आर्थिक वर्ष २०७६/७७ मा कुल ४९ अर्ब ४६ करोड ८८ लाख रुपैयाँ बराबरको खाने तेल आयात भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा कुल ३४ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ बराबरको तेल आयात भएको थियो ।

विश्व बैंकले दियो १ अर्ब २७ करोड अनुदान सहयोग Read Previous

विश्व बैंकले दियो १ अर्ब २७ करोड अनुदान सहयोग

फर्स्ट माइक्रोफाइनान्सद्वारा ५ अर्ब ५९ करोड लघुकर्जा प्रवाह Read Next

फर्स्ट माइक्रोफाइनान्सद्वारा ५ अर्ब ५९ करोड लघुकर्जा प्रवाह